इनरुवा । सुनसरीको देवानगञ्ज क्षेत्रमा जारी गरिएको अनिश्चितकालीन कर्फ्यु आदेश हटाइएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार सूचना जारी गर्दै साउन ११ गते राति ९ बजेदेखि लागू गरिएको कर्फ्यु आदेश मङ्गलबार बिहान ६ः१५ बजेदेखि हटाइएको जनाएको हो।
दुई समूहबीचको विवादपछि उत्पन्न तनावलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले देवानगञ्ज गाउँपालिकाका संवेदनशील क्षेत्रमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम अनिश्चितकालीन कर्फ्यु जारी गरेको थियो। कर्फ्यु अवधिमा आवतजावतका साथै कुनै पनि प्रकारका भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा धर्ना गर्न निषेध गरिएको थियो।
जिल्ला प्रशासन कार्यालयका अनुसार हालको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै कर्फ्यु आदेश हटाइएको भए पनि परिस्थितिको निरन्तर अनुगमन भइरहेको छ। कुनै पनि अप्रिय घटना हुन नदिन सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको प्रशासनले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालद्वारा जारी सूचनाअनुसार कर्फ्यु हटाउने निर्णय साउन १२ गते बिहान ६ः१५ बजेदेखि कार्यान्वयनमा आएको हो।
प्रशासनले स्थानीय बासिन्दा, राजनीतिक दल, सामाजिक संघसंस्था तथा सरोकारवालालाई शान्ति–सुरक्षा कायम राख्न संयमित र जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेको छ।