काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले अब साउन १ गतेदेखि भएको विद्युत् खपतमा मात्रै मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने स्पष्ट भएको छ। असार वा सोअघि भएको विद्युत् खपतको बिल साउनमा जारी हुँदा पनि भ्याट जोडिएको भन्दै उपभोक्ताबाट व्यापक गुनासो आएपछि आन्तरिक राजस्व विभागले कानुनी व्याख्यासहित स्पष्ट निर्णय सार्वजनिक गरेको हो।
आर्थिक ऐन, २०८३ ले साउन १ गतेदेखि विद्युत् शक्तिमा भ्याट लागू हुने व्यवस्था गरेपछि प्राधिकरणले बिलिङ मितिका आधारमा कर असुल गर्न थालेको थियो। यसप्रति व्यापक असन्तुष्टि जनिएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री तथा प्राधिकरण सञ्चालक समितिका अध्यक्ष विराजभक्त श्रेष्ठले आन्तरिक राजस्व विभागसँग राय लिएर उपभोक्तामैत्री निर्णय गर्न निर्देशन दिएका थिए।
त्यसपछि नेपाल विद्युत् प्राधिकरणले असारसम्मको विद्युत् खपतको बिल साउनमा जारी हुँदा भ्याट लाग्ने वा नलाग्ने विषयमा विभागसँग औपचारिक राय मागेको थियो। साथै, न्यूनतम डिमान्ड चार्जमा पनि भ्याट लाग्ने विषयमा स्पष्टता मागिएको थियो।
आन्तरिक राजस्व विभागले जारी गरेको सूचनाअनुसार २०८३ असार ३२ गतेसम्मको विद्युत् खपतमा, बिल साउन वा त्यसपछि जारी भए पनि, भ्याट लाग्ने छैन। विभागले सेवा खपत भएको अवधिलाई आधार मानिने भएकाले असारसम्मको खपतमा मूल्य अभिवृद्धि कर आकर्षित नहुने स्पष्ट पारेको छ।
यद्यपि, साउन १ गतेदेखि भएको विद्युत् खपतमा भने स्वीकृत ट्यारिफअनुसार लाग्ने न्यूनतम चार्ज (डिमान्ड चार्ज) सहित सबै विद्युत् सेवा शुल्कमा भ्याट लाग्ने विभागले जनाएको छ।
यसैबीच, नेपाल विद्युत् प्राधिकरणले यसअघि असारअघिको खपतमा समेत भ्याट असुल भएको अवस्थामा उक्त रकम आगामी महिनाको बिलमा समायोजन गरिने जनाएको छ। यसअनुसार उपभोक्ताले अतिरिक्त रूपमा तिरेको भ्याट आगामी बिलबाट कट्टा गरिनेछ।