लक्ष्मण फुयाल, काठमाडौं । दशैंको आज सातौ दिन फूलपाती । दशैंको उमंगबढेसंगै काठमाडौं उपत्यका सुनसान बन्दै गएको छ। दशैंमा काठमाडौँ उपत्यकाबाट आआफ्नो स्थायी घर फर्कने यात्रुको संख्या बढेको देखिन्छ आज असोज २४ गते दिउँसो सम्म काठमाडौं उपत्यकाबाट करिब ८ लाख मान्छेहरुले काठमाडौं उपत्यका छाडेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका रानीपोखरीका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक बिनोद घिमिरेले ई- आर्थिकलाई जानकारी दिए ।
काठमाडौं उपत्यकाबाट हिजो र आज बिहानसम्म १ लाख १६ हजारले काठमाडौं उपत्यका छाडेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता घिमिरेले बताए । असोज २१ गते दिउँसो सम्म काठमाडौं उपत्यकाबाट करिब ६ लाख मान्छेहरुले उपत्यका छाडेका थिए भने असोज २० गते ५ लाख ३६ हजार यात्रुहरुले काठमाडौं उपत्यका छाडेका थिए ।
काठमाडौं उपत्यका छाड्नेको संख्या हिजोबाट बढ्न थालेको हो उनले भने । हिजोको तुलनामा आज यात्रुहरुको संख्या बढ्दै गएको छ भने तथ्याङक हेर्दा आज लगभग दैनिक १ लाख माथि रहेको प्रहरी बरिष्ठ उपरीक्षक घिमिरे भन्छन् ।
काठमाडौं उपत्यका विभिन्न ठाँउहरु खाली र सुनसान छन् । त्यस्तै सडक खुल्ला देखिन थालेका छन् । सधै ट्राफिक जाम रहने काठमाडौं उपत्यकामा सवारीसाधनहरु न्यून संख्यामा सञ्चान भैरहेका छन् ।

दसैँमा घर जाने यात्रुलाई सहजीकरण गर्न प्रहरीले गोंगबु, चाबहिल, कोटेश्वर, कलङ्कीलगायत उपत्यकाका २१ वटा यात्रु सहायता कक्ष स्थापना गरेको छ । यातायात व्यवस्था कार्यालय, यातायात व्यवसायी र ट्राफिक प्रहरी सवारीको समन्वयमा स्थापना गरिएका त्यस्ता कक्षबाट गन्तव्य स्थल जान सवारी साधन नपाउने तथा विभिन्न कारणले अप्ठ्यारोमा परेका यात्रुलाई सहजीकरण गर्ने छ । सवारी चाप र भिडभाडका कारण हुन सक्ने चोरी र पाकेट मार नियन्त्रण, क्षमताभन्दा बढी चढाउने सवारी साधनलाई कारवाही गर्न सादा पोशाकमा पनि प्रहरी खटिने प्रवक्ता घिमिरे जानकारी दिए ।
महानगरीय ट्राफिक प्रहरी कार्यालयले दसैँ मनाउन घर फर्कने यात्रुको बढी चापलगायतका कारणले सवारी दुर्घटना हुन सक्ने भएकाले चालकले तीव्र गति वा मादक पदार्थ सेवन गरी सवारी साधन चलाएमा खबर गर्न आग्रह गरेको छ । यातयात व्यवसायीले पनि दसैँका लागि पर्याप्त सवारी साधन उपलब्ध हुने प्रतिबद्धता जनाउँदै सवारी साधनको अभाव नहुने भएकाले यात्रुलाई ढुक्क भएर टिकट लिएर मात्र गन्तव्यतर्फ प्रस्थान गर्न सुझाव दिएको छ । अहिले उपत्यका भित्रने सवारी साधनको तुलनामा बाहिर जाने सवारी साधन र यात्रुको संख्या उल्लेख्य रुपमा वृद्धि भएको छ । प्रहरीले छतमा नचढ्न, सवारी साधनमा नझुण्डिन र कसरी यात्रा गर्दा सुरक्षित हुन्छ त्यसतर्फ आफैँ सचेत रहन सबै यात्रुसँग आग्रह गरेको छ ।