ई–आर्थिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दलहरुलाई आह्वान गरेकी छन् । आइतबार उनले संविधानको धारा ७६ (२) अनुसार बहुमतिय सरकार गठन गर्न ७ दिनको समय दिएकी हुन् ।
मंसिर ४ गते सम्पन्न प्रतिनिधी सभा निर्वाचनमा कुनै पनि दलको बहुमत नआएकाले दुई वा सो भन्दा बढी दलहरु मिलेर सरकार गठन गर्न राष्ट्रपतिले आव्हान गरेकी हुन् ।
सत्ता गठबन्धनलाई नै निरन्तरता दिएर नयाँ सरकार बनाउनुपर्ने मत एकातिर छ भने अर्काे तिर बामपन्थीहरु मिलेर नयाँ सरकार बनाउनुपर्ने माग पनि छ । काँग्रेसले पनि गैर बाम सरकार गठनका लागि विकल्प खुला गर्न सक्ने सम्भावना छ । काँग्रेस र एमाले मिलेर नयाँ सरकार बनाउने झिनो सम्भावनालाई समेत नकार्न सकिन्न ।
नयाँ सरकार गठनका लागि १३८ सांसदको समर्थन आवश्यक पर्छ ।
नयाँ सरकार गठन गर्न प्रमुख ठूला दलहरू कस्सिनुका साथ जोड घटाउमा लागेका छन् । कुन दलको नेतृत्वमा सरकार बन्ला त्यो भने हेर्न बाँकी छ ।
काँग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने
यसैबीच नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल निर्णय गरेको छ ।
बैठकपछि पत्रकारसँग कुरा गर्नुहुँदै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेस नेतृत्वमा सरकार बनाउने निर्णय भएको जानकारी दिनुभएको हो । पार्टीमा संसदीय दलको नेता चयन सर्वसम्मत निर्णय हुनु स्वाभाविक हुने उहाँले बताउनुभयो। प्रवक्ता महतले पार्टी संसदीय दलको नेतामा स्वाभाविक रूपमा पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई सर्वसम्मत बनाउने पहल हुने गरिने जानकारी दिनुभयो।
‘प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलमध्ये प्रतिनिधि सभा सदस्य पदमा सर्वाधिक सिट हासिल गरेको दलका हैसियतले नेपाली कांग्रेस पार्टीले नेपालको संविधानको व्यवस्था बमोजिम सरकारको नेतृत्वको दावी गर्नु स्वभाविक हुन्छ’, प्रवक्ता महतले भन्नुभयो, ‘यसर्थ, नेपाली कांग्रेस पार्टीको नेतृत्वमा आगामी सरकारको गठन गर्नका लागि गठबन्धनमा रहेका दलहरु लगायतसँग आवश्यक संवाद, वार्ता र छलफल प्रक्रिया प्रारम्भ गर्ने यो बैठक निर्णय गर्दछ।’
त्यसैगरी कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले सहमहामन्त्री भीष्मराज आङ्दम्बेको संयोजकत्वमा तीन सदस्यीय संसदीय दल निर्वाचन समिति गठन गरेको छ। समिति सदस्यमा केन्द्रीय सदस्यद्वय पुष्पा भुसाल र प्रकाश रसाइली स्नेही हुनुहुन्छ।
बैठकले पार्टी विधान, नियमावली तथा नेपाली कांग्रेस प्रदेश संसदीय दलको विधानको व्यवस्था बमोजिम प्रदेश संसदीय दलको नेता एवं प्रदेश संसदीय दल कार्यसमितिको निर्वाचन सम्बन्धी प्रक्रिया प्रारम्भ गर्न सात वटै प्रदेश कार्यसमितिलाई निर्देश दिनेसमेत निर्णय गरेको छ।
प्रदेशमा पार्टीले सरकारको नेतृत्व गर्ने वा सरकारमा सहभागी हुने वा अन्य दललाई समर्थन गर्ने वा नगर्ने लगायतका विषयमा नेपाली कांग्रेसको विधानको धारा १३ ९७० ९ठ० बमोजिम केन्द्रसँग समन्वय गरेरआवश्यक प्रक्रिया प्रारम्भ गर्न प्रदेश कार्यसमितिलाई निर्देशन दिइएको छ।