२०८३ साउन १० आइतबार

कार्तिक कृष्ण त्रयोदशी अर्थात् काग तिहार, आजै धन्वन्तरी जयन्ती

ई आर्थिक    आइतबार, कार्तिक ६ २०७९
7.2K
Shares
कार्तिक कृष्ण त्रयोदशी अर्थात् काग तिहार, आजै धन्वन्तरी जयन्ती

ई–आर्थिक, काठमाडौं । आज कार्तिक कृष्ण त्रयोदशी अर्थात् काग तिहार । बिहानैदेखि यमराजको दूतका रुपमा कागलाई मीठा चीजबीज खान दिएर यो पर्व मनाइँदै छ ।

यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान छ ।

कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठो–मीठो खान दिइ खुसी पार्ने गरिएको हो । लोक व्यवहारमा काग घरमा आएर कराएमा शुभ बोल भन्ने प्रचलनसमेत छ ।

काग घरवरपर आएर कराएमा उसले केही खबर लिएर आएको विश्वास समेत गर्ने गरिन्छ ।

आज काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा रहेको कागेश्वरी महादेव मन्दिरमा विशेष पूजा हुने गर्छ । यसैगरी हनुमानढोकामा रहेको कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजाआराधना गरिन्छ ।

धनवन्तरी जयन्ति आजै

कार्तिक कृष्ण त्रयोदशीकै दिन शनिबार आर्युवेदका प्रणेता धनवन्तरी जयन्ति पनि मनाइदै छ । समुद्र मन्थनबाट उत्पत्ति भएका आयुर्वेदका प्रवर्तक धन्वन्तरीको सम्झनामा धन्वन्तरी दिवस मनाउने गरिन्छ ।

देवता र दानव मिलेर वासुकी नागको नेती र मन्दराचल पर्वतको मदानी बनाई समुद्र मन्थन गर्दा धन्वन्तरीको उत्पत्ति भएको पुराणमा उल्लेख छ । धन्वन्तरीलाई भगवान विष्णुको अंशको रुपमा लिने गरिन्छ ।

धन्वन्तरी जयन्तीलाई चिकित्सकले शुभ सङकल्प तथा शुभकार्य प्रारम्भ गर्ने दिनका रुपमा लिने गरेका छन् । आयुर्वेद चिकित्सा क्याम्पस, नरदेवीको स्थापना भएदेखि नेपालमा धन्वन्तरी जयन्ती मनाउन थालिएको हो । धन्वन्तरी दिवसलाई राष्ट्रिय आरोग्य दिवसका रुपमा विक्रम संवत् २०५६ सालदेखि मनाउन थालिएको छ ।यस्तै धनतेरस पर्वका दिन शनिबारै मनाइएको छ । यसदिनमा देवी लक्ष्मीलाई मनपर्ने भाडाकुँडा खरिद गर्ने प्रचलन पछिल्लो समय आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij