२०८३ साउन १० आइतबार

इन्डोनेसियाको सुपारी नेपाल हुँदै भारत पुर्‍याउँदा किलोमै ७५ रुपैयाँ सस्तो, मौलायो तस्करी

ई आर्थिक    शनिबार, साउन १४ २०७९
6.5K
Shares
इन्डोनेसियाको सुपारी नेपाल हुँदै भारत पुर्‍याउँदा किलोमै ७५ रुपैयाँ सस्तो, मौलायो तस्करी

एउटा फर्मको नाममा ल्याएर अर्को फर्मबाट निर्यात । आयातभन्दा प्रतिकिलो ५२ रूपैयाा सस्तोमा निर्यात गर्छन् नेपाली व्यवसायी ।

मोरङ : विराटनगरको रानी नकास्थित इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएका आठ ट्रक सुपारीबारे राजस्व अनुसन्धान कार्यालय इटहरीले अनुसन्धान थालेको छ । इन्डोनेसियाबाट आयातित ८ करोड ६३ लाख ८१ हजार ५ सय ६८ रुपैयाँ मूल्य बराबरको आठ ट्रक सुपारी भारततर्फ निर्यात गर्न लागेको आशंकामा प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले २ लाख १९ हजार ५ सय ९६ किलो सुपारी शुक्रबार राति नियन्त्रणमा लिएर कारबाहीका लागि उक्त कार्यालयलाई आइतबार बुझाएको छ । सुपारीको उत्पत्तिको प्रमाणपत्रका कागजात जाँच्ने काम भइरहेको कार्यालयका प्रमुख अनुसन्धान अधिकृत तीर्थराज खनालले बताए ।

विराटनगर नाकाबाट सुपारी आयात गर्नेमा सौर्य एयरलाइन्सका सञ्चालक झापाका दीपक पोखरेलको अम्बे ट्रेडिङ, विराटनगरका दिनेश राठीको राठी ट्रेडिङ, ग्लोबल विराट इन्टरनेसनल विराटनगरका प्रदीप मुरारकाको पीके ट्रेडर्स, विराटनगरका मूलचन्द राठीको तिरुपति ट्रेडलिंक्स र विराटनगरकै सञ्जय अग्रवालको नेसनल मोटर्स छ । तर निर्यात गर्नेमा मनोकामना ट्रेडर्स मात्रै रहेको विराटनगर भन्सार कार्यालयले जनाएको छ ।

सुपारी आयातकर्ता समूहले इन्डोनेसियाबाट प्रतिकिलो ४ सय ५५ रुपैयाँमा ल्याएको सुपारी प्रतिकिलो ४०३ रुपैयाँका दर अर्थात् आयात गरेको भन्दा ५२ रुपैयाँ सस्तोमा भारत निर्यात गरेको पाइएको छ । अम्बे ट्रेडिङ, राठी ट्रेडिङ, ग्लोबल विराट इन्टरनेसनल, पीके ट्रेडर्स, तिरुपति ट्रेड लिंक्स र नेसनल मोटर्सले गत आर्थिक वर्षमा ५७ लाख ४८ हजार २ सय ६० किलो सुपारी आयात गरेका थिए । गत असारमा मात्रै आयातकर्ताले प्रतिकिलो २०२ दशमलव ६६ रुपैयाँमा ३७ करोड ३९ लाख ७५ हजार मूल्य बराबरको १८ लाख ४५ हजार ३ सय ६० किलो सुपारी विराटनगर भन्सारबाट ल्याएका गरेका छन्, भन्सार कार्यालयले त्यसको प्रतिकिलो २५२ दशमलव ३५ रुपैयाँका दरले ४६ करोड ५६ लाख ७६ हजार राजस्व असुलेको छ । आयात गरिएकामध्ये विराटनगरका नवीन घिमिरेको मनोकामना ट्रेडर्स विराटनगर १४ का नाममा गत असारसम्ममा ४०३ दशमलव २० रुपैयाँका दरले ९० करोड ६७ लाख १८ हजारको २२ लाख ४८ हजार ८ सय ५ किलो सुपारी भारत निर्यात भएको भन्सार कार्यालयका प्रवक्ता रामचन्द्रप्रसाद ढुंगानाले जनाए ।

मनोकामना ट्रेडर्सका नवीन घिमिरे सुपारी आयाकर्ता दीपक पोखरेलका साला हुन् । मोरङ क्रिकेट संघका अध्यक्ष घिमिरेले विराटनगरमा लज सञ्चालन गर्दै आएका छन् । उनी क्रिकेट संघ प्रदेश १ का उपाध्यक्षसमेत हुन् । सुपारी निर्यात गर्ने यति ठूलो कारोबार नवीनको भन्नु नै हास्यास्पद हुने विराटनगरका एक व्यवसायी बताउँछन् । विराटनगर र झापाका सुपारी आयात गर्नेहरूले नवीनका नाममा फर्म सञ्चालन गरेर एउटा फर्मका नाममा आयात गर्ने र अर्को फर्मका नाममा निर्यात गर्ने ‘खेल’ चलिरहेको उनको भनाइ छ ।

यस खेलमा सौर्य एयरलाइन्सका सञ्चालक पोखरेलको विशेष भूमिका रहेको विराटनगरका व्यवसायीहरूको भनाइ छ । पोखरेलले नै विराटनगरका व्यापारीलाई सुपारी आयातमा संलग्न गराई सेटिङमा कारोबार गरिरहेको व्यवसायीहरूको दाबी छ । झापा र मोरङका धेरै व्यापारी ०४६ सालदेखि नै सुपारीको आयात–निर्यातमा संलग्न रहेको बताइन्छ । कोरोनाका कारण मोरङको लेटाङका ईश्वरी कोइरालाको मृत्यु भएपछि त्यसको नेतृत्व दीपकले गरिरहेको व्यवसायीहरू बताउँछन् ।

इन्डोनेसियाबाट सोझै भारतमा सुपारी आयात गर्दा भन्सार महसुल ८० र जीएसटी २८ प्रतिशत गरी प्रतिकिलो ३५० दशमलव १९ रुपैयाँ राजस्व बुझाउनुपर्छ । तर इन्डोनेसियाबाट नेपाल हुँदै भारत लैजाँदासम्म प्रतिकिलो २७५ रुपैयाँ मात्रै खर्च पर्ने गरेको विराटनगर भन्सारका एक एजेन्टले बताए । अहिले पक्राउ परेको ८ करोड ६३ लाख ८१ हजार ५६८ रुपैयाँ मूल्य बराबर सुपारीमा भारतीय कस्टमले ५ प्रतिशत अर्थात् ४३ लाख ७४ हजार ७ सय ७६ रुपैयाँ राजस्व लिएको छ ।

‘नेपालबाट भारत सुपारी लग्दा भारतीय व्यापारीलाई प्रतिकिलो ७५ रुपैयाँ सस्तो पर्छ,’ ती एजेन्टले भने, ‘नेपालमा ४२५ देखि ४६० रुपैयाँ किलोमा पाउने सुपारी भारतमा त्योभन्दा १ सय रुपैयाँ महँगोमा बिक्री हुने गरेकाले करिब दुई सय रुपैयाँ मुनाफाका कारण नेपालबाट तस्करी भइरहेको छ ।’ भन्सारबाटै वैधानिक रूपमा भारत निर्यात भइरहेकालाई तस्करी पनि भन्न नमिल्ने उनको भनाइ छ । नेपालका सुरक्षाकर्मी, भन्सार कर्मचारीलगायत गृहमन्त्री तथा प्रधानमन्त्री कार्यालयसम्मको सेटिङमा सुपारी आयात भएर निर्यात भइरहेको यहाँका व्यवसायी नै दाबी गर्छन् ।

व्यावसायिक सुपारी खेती भइरहेका जिल्लास्थित कृषि ज्ञान केन्द्र वा कृषि ज्ञान केन्द्र इकाइले भएकोभन्दा बढी क्षेत्रफल र उत्पादनको फर्जी तथ्यांक समेत सार्वजनिक गर्दै आएका छन् । व्यापारीको दबाब र प्रभावमा कृषि ज्ञान केन्द्रले सुपारी खेती र उत्पादनको फर्जी तथ्यांक तयार पारिरहेको कृषि ज्ञान केन्द्रकै एक अधिकृतले बताए । व्यापारीले भनेअनुसारको तथ्यांक तयार नगर्नेलाई ज्ञान केन्द्रबाट तत्कालै सरुवा गराइदिने गरेकाले कर्मचारीहरू फर्जी तथ्यांक बनाउन बाध्य रहेको उनको भनाइ रहेको समाचार देवनारायण साहले आजको कान्तिपुरमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij