२०८३ साउन ९ शनिबार

वीरगञ्ज महानगरको मेयरमा जसपाका सिंह भारी मतान्तरले निर्वाचित, भरतपुर महानगरको मेयरमा रेणु दाहाल विजयी

ई आर्थिक    मंगलबार, जेष्ठ १० २०७९
4.1K
Shares
वीरगञ्ज महानगरको मेयरमा जसपाका सिंह भारी मतान्तरले निर्वाचित, भरतपुर महानगरको मेयरमा रेणु दाहाल विजयी

ई–आर्थिक, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी विजयी भएको छ । सत्ता गठबन्धनको तर्फबाट महानगरको मेयरमा जसपाका उमेदवार राजेशमान सिंह ४६ हजार २१५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उमेदवार विजयकुमार सरावगीले २३ हजार ६७१ मत ल्याएका छन् । मेयरमा सिंहले सरावगीलाई २२ हजार ५४४ मत अन्तरले पराजित गरेका हुन् ।

राप्रपाका मेयर उमेदवार गिरिश गिरीले ३ हजार ३१३ मत प्राप्त गरे । यो निर्वाचनमा एमालेले लोसपासँग गठबन्धन गरेको थियो । ०७४ सालको निर्वाचनमा सरावगी तत्कालीन सघिय समाजवादी फोरम हालको जनता समाजवादी पार्टीबाट मेयरमा जितेका थिए । अहिले एमालेबाट लडेका उनी सोही पार्टीका उमेदवारसँग पराजित भएका हुन् ।

भरतपुर महानगरमा रेणु दाहाल विजयी

यसैबीच चितवनको भरतपुर महानगरपालिका मेयरमा सत्ता गठबन्धनतर्फका उम्मेदवार माओवादी केन्द्रकी रेणु दाहाल निर्वाचित भएकी छन् । उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएकी हुन् ।

पछिल्लो मतपरीणामअनुसार करिब २ हजार मतगणना हुन बाँकी छँदा रेणुले प्रतिस्पर्धी एमालेका विजय सुवेदीसँग १२ हजार १४० मतान्तर कायम गरेकी हुन् । दाहालले ५१ हजार ११२ मत पाउँदा सुवेदीले ३८ हजार ९७२ मत पाएका छन् ।

अन्तिम परीणाम आउन बाँकी रहँदै उनी निर्वाचित भएकी हुन् । निर्वाचन अधिकृतको कार्यालयले सबै मतगणना भइसकेपछि नतिजा घोषणा गर्नेछ ।

उपमेयरमा पनि गठबन्धनबाट कांग्रेसका चित्रसेन अधिकारीले जित सुनिश्चित गरेका छन् । अधिकारीले ५१ हजार ९०३ मत पाउँदा प्रतिस्पर्धी राप्रपाकी हिमला गुरुङले ३० हजार ३२६ मत पाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij