२०८३ साउन १० आइतबार

प्रतिस्थापन विधेयकमा सुरुङमार्गको बजेट घट्यो

ई आर्थिक    बुधबार, मंसिर १५ २०७८
7.9K
Shares
प्रतिस्थापन विधेयकमा सुरुङमार्गको बजेट घट्यो

काठमाडौँ : सरकारले चालु आर्थिक वर्षमा तीनवटा सुरुङमार्गको निर्माणसहित २७ को सम्भाव्यता अध्ययन अगाडि बढाउने भएको छ। अर्थमन्त्री जर्नादन शर्माले प्रतिस्थापन विधेयकमार्फत ल्याएको चालु वर्षको बजेटमा २७ वटा सुरुङमार्ग अध्ययन तथा निर्माण गर्ने योजना छ। २७ मध्ये तीनवटा सुरुङमार्गको मात्रै निर्माण हुने सडक विभागले जनाएको छ।

तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले २३ वटा सुरुङमार्गको अध्ययन र निर्माणका लागि भन्दै एक अर्ब ९९ करोड रूपैयाँ बजेट विनियोजन गरेका थिए।

अर्थमन्त्री शर्माले प्रतिस्थापन विधेयकमार्फत ल्याएको बजेटमा पूर्ववर्ती अर्थमन्त्रीले सुरुङमार्गको लागि छुट्याएको बजेट घटाएर एक अर्ब ६ करोड रूपैयाँमा झारेका छन्। मन्त्री शर्माले स्वार्थ अनुकूलका चारवटा सुरुङमार्ग समावेश गरेका छन्।

उनले फुस्रेखोला छोरेपाटनदेखि स्याङ्जा–गुडीकोला टनेल अध्ययनका लागि ५० लाख, बाग्लुङ बिउँ–नरेठाँटी सुरुङमार्ग अध्ययनको लागि ५० करोड, रारा राजमार्गको कुशेपाटन–जाजरकोट ब्याउलीढुंगा र जुम्ला–इमिलचा खोला टनेलमार्गका लागि ५० करोड र सुनमाई–राजदुबोल सुरुङमार्ग अध्ययनका लागि ५० करोड रूपैयाँ बजेट समावेश गरेका छन्।

विभागका उपमहानिर्देशक शिव नेपालले चालु आवमा २७ वटा सुरुङमार्ग अध्ययन गर्न एक अर्ब ६ करोड रूपैयाँ विनियोजन गरिएको बताए। ‘चालु आवमा प्रतिस्थापन विधेयकमार्फत २७ वटा सुरुङमार्ग अध्ययन र निर्माणका लागि बजेटमा समावेश गरिएको छ,’ उनले भने,‘अधिकांश आयोजनाको प्रारम्भिक सम्भाव्यता अध्ययनका लागि बजेट छुट्याइएको छ।’ उपमहानिर्देशक नेपालले चालु आवमा सिद्धबाबा, लामाबगर–लाप्चे, धरान–लेउती सुरुङमार्गको निर्माण थाल्ने योजना रहेको बताए।

‘सरकारले परामर्शदाता नियुक्त गरेर सुरुङमार्गको अध्ययन अघि बढाउने तयारी गरिरहेको छ,’ उनले भने, ‘परामर्शदाता छिट्टै नियुक्त गरेर सम्भाव्यता अध्ययन गरिनेछ।’ लामाबगर–लाप्चे र धरान–लेउतीको तुलनामा सिद्धबाबा सुरुङमार्गको निर्माण प्रक्रिया धेरै अगाडि बढिसकेको छ।

सडक विभाग मातहतको गुणस्तर अनुसन्धान विकास केन्द्रले यसका लागि गत जेठ ९ गते ग्लोबल टेन्डर आह्वान गरिसकेको छ। सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि आर्थिक स्रोत सुनिश्चित भइसकेको छ। गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले सिद्धबाबा सुरुङमार्ग इन्जिनियरिङ प्रोक्योरमेन्ट कन्स्ट्रक्सन (इपिसी) मोडलमा निर्माण गर्ने गरी टेन्डर आह्वान गरेको हो। अर्थ मन्त्रालयले गत वर्ष नै यो सुरुङमार्ग निर्माणका लागि आर्थिक स्रोत सुनिश्चित गरिसकेको छ।

सिद्धबाबा सुरुङमार्गको एउटा मुख बुटबल–तानसेन खण्ड अन्तर्गतको सिद्धबाबा मन्दिरको उत्तरतर्फ चिडियाखोला छेउमा रहनेछ। अर्को मुख दोभाननजिकै रहनेछ। यो सुरुङमार्गको लम्बाइ १.१२६ किलोमिटर हुनेछ। सुरुङमार्ग दुई लेन (साढे सात मिटर चौडा) को हुनेछ। ठेकेदार कम्पनीले सुरुङमार्गसँगै ७ सय ८० मिटर क्षेत्रको सडकमा रकसेटको संरचना तयार पार्नु पर्नेछ। अहिलेको सडकलाई दुई लेनमा विस्तार गरिनेछ। यो खण्डमा सुरुङमार्ग मात्रै नभएर दुई लेनको सडकसमेत विस्तार गरिनेछ।

पहिरोको जोखिम भएको क्षेत्रमा रकसेटको साथै सम्भावित पहिरो खस्ने ठाउँलाई समेत सुरक्षित गर्ने सडक विभागले जनाएको छ। तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले २०७७ मंसिर १ गते मन्त्रीस्तरीय निर्णय गरेर सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि १० अर्ब १५ करोड रूपैयाँ बजेट सुनिश्चित गरेका थिए।

सडक विभागका अनुसार उत्तर–दक्षिण जोड्ने लामाबगर–लाप्चे सुरुङमार्गको पनि पूर्वसम्भाव्यता अध्ययन सम्पन्न भइसकेको छ। हाइड्रो टनेलिङ एन्ड रिसर्च कम्पनीले करिब आधा वर्ष लगाएर यो सुरुङमार्गको अध्ययन प्रतिवेदन तयार पारेको हो।

यो सुरुङमार्गले लामाबगर र लाप्चेलाई जोड्नेछ। सरकारले आगामी आवको बजेटमा सुरुङ मार्गलाई विशेष प्राथमिकतामा राखेको देखिन्छ। बजेटमा प्राथमिकता दिइए पनि कार्यान्वयनमा भने चासो नदिने परिपाटी छ। सरकारले आगामी आवको बजेटमा टोखा–छहरे, बेत्रावती–स्याफ्रुबेसी, खुर्कोट–चियाबारी र थानकोट–चित्लाङ सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार गरी निर्माण सुरु गर्ने घोषणा गरेको छ।

सो बजेटमा पृथ्वी राजमार्गको मझिमटार–शक्तिखोर, पोखरा बाग्लुङ राजमार्गको हेम्जा–नयाँपुल, चेपाङ राजमार्गको दुम्लिङ–वाङसिङ, पूर्व–पश्चिम राजमार्गको दुम्कीबास–बर्दघाट,कोहलपुर–सुर्खेत राजमार्गको बबई–छिन्चु, सुर्खेत–दैलेख सडकको कपासे–सियाकोट, पाल्पा–तम्घास सडकको प्रभास–जोर्ते र बिपीनगर–खुटिया–दिपायल खण्डमा सुरुङमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन तथा विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने घोषणा गरेको समाचार हिमाल लम्सालले आजको नागरिकमा लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij