२०८३ साउन १४ बिहिबार

बागमती प्रदेशको मुख्यमन्त्रीमा पाण्डेसँगै तीन संसादले मन्त्रीमा आज शपथ लिने

ई आर्थिक    बिहिबार, कार्तिक ११ २०७८
5.6K
Shares
बागमती प्रदेशको मुख्यमन्त्रीमा पाण्डेसँगै तीन संसादले मन्त्रीमा आज शपथ लिने

ई–आर्थिक, काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका नेकपा (एकीकृत समाजवादी) का राजेन्द्र पाण्डेले आज शपथ लिने भएका छन् । उनीसँगै तीन प्रदेश सांसदले आज बिहीबार दिउँसो मन्त्रीको शपथ लिने भएका हुन ।

नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता पाण्डेले मुख्यमन्त्रीको शपथ लिँदा एकीकृत समाजवादीकै कृष्ण खनाल, एकीकृत माओवादीका कुमारी मोक्तान र नेपाली कांग्रेसका कृष्णलाल भँडेलले मन्त्रीको शपथ लिने समाचार स्रोतले जानकारी दिएको छ ।

सरकारका जाने मन्त्रीहरु मध्ये माओवादीले आर्थिक मामिला, काँग्रेसले भौतिक पूर्वाधार र नेकपा एकीकृत समाजवादीले सामाजिक विकास मन्त्रालयमा जिम्मेवारी पाउने स्रोतको भनाई छ ।
बागमती प्रदेशमा संघीय सरकार गठनमा गठबन्धन गरेका नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी तथा संघीय समाजवादीका ५९ प्रदेश सांसदहरुको समर्थनमा एकीकृत समाजवादीका संसदीय दलका नेता पाण्डेले बुधबार साँझ प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष मुख्यमन्त्रीमा दावी पेश गरिसकेका छन् ।

प्रदेश प्रमुख शर्माले बिहीबार दिउँसो ३ बजेसम्म दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री दाबी पेश गर्न प्रदेशसभा सदस्यलाई आह्वान गरे अनुसार पाण्डेले आफ्नो दाबी पेश गरेका हुन ।

११० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५६ जना सांसद चाहिनेमा पाण्डे नेतृत्वको गठबन्धनले ५९ जना सांसदको हस्ताक्षर बुझाएका थिए । जसमा माओवादी केन्द्रका २३, कांग्रेसको २२, नेकपा (एकीकृत समाजवादी) का १३ र जसपाका एकजना प्रदेश सभाका सदस्य रहेका छन् ।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेपछि बिहीबार नै प्रदेशसभामा राजीनामा घोषणा गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij