२०८३ साउन १३ बुधबार

सर्वदलीय बैठक: यस्तो छ ७ बुँदे संयुक्त वक्तव्य

ई आर्थिक    बुधबार, साउन १३ २०८३
133
Shares
सर्वदलीय बैठक: यस्तो छ ७ बुँदे संयुक्त वक्तव्य

रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक सम्पन्न, सामाजिक सद्भाव कायम राख्न संयुक्त अपिल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बुधबार सम्पन्न सर्वदलीय बैठकले सुनसरीलगायत विभिन्न जिल्लामा हालै विकसित संवेदनशील घटनाक्रमप्रति गम्भीर चिन्ता व्यक्त गर्दै शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकताको पक्षमा संयुक्त वक्तव्य तथा अपिल जारी गरेको छ।

बैठकले पछिल्ला घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ। साथै, घटनामा घाइते भएका नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।

संयुक्त वक्तव्यमा नेपालको विविधताबीचको एकता, सहिष्णुता र सहअस्तित्वको परम्परालाई कायम राख्न सबै नागरिकलाई संयम अपनाउन आग्रह गरिएको छ। कुनै पनि प्रकारका उत्तेजना, हिंसा वा सामाजिक सद्भाव खल्बल्याउने गतिविधिमा संलग्न नहुन अपिल गर्दै आवेग र मुठभेडले समस्याको समाधान नभई थप जटिलता निम्त्याउने उल्लेख गरिएको छ।

बैठकले लोकतान्त्रिक प्रणालीमा असन्तुष्टि र विवादहरूको समाधान शान्तिपूर्ण संवाद तथा सहमतिमार्फत मात्र सम्भव हुने उल्लेख गर्दै सम्बन्धित सबै पक्षलाई आफ्ना माग शान्तिपूर्ण ढंगले प्रस्तुत गर्न आह्वान गरेको छ।

त्यस्तै, प्रदेश, जिल्ला तथा स्थानीय तहमा तत्काल सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरी संवादलाई तल्लो तहसम्म विस्तार गर्न र नागरिकस्तरमा विश्वासको वातावरण निर्माण गर्न दलका विभिन्न तहका समितिहरूलाई निर्देशन दिने निर्णय गरिएको छ। स्थानीय तहमा धार्मिक अगुवा, नागरिक समाज तथा प्रशासनसँग समन्वय गरेर शान्ति कायम राख्नुपर्नेमा पनि बैठकले जोड दिएको छ।

केन्द्रीय तहका राजनीतिक दलहरूले यस्ता दुःखद र संवेदनशील घटना भविष्यमा दोहोरिन नदिन आवश्यक समन्वय, अनुगमन तथा नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

संयुक्त वक्तव्यमा सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट फैलिन सक्ने अफवाह, भ्रामक सूचना र घृणास्पद अभिव्यक्तिले परिस्थितिलाई थप जटिल बनाउन सक्ने भएकाले सामाजिक सञ्जालको जिम्मेवार प्रयोग गर्न तथा सञ्चारमाध्यमलाई तथ्यपरक र संयमित सूचना सम्प्रेषण गर्न आग्रह गरिएको छ।

बैठकले नागरिकको जिउधनको सुरक्षा राज्यको प्रमुख दायित्व भएको उल्लेख गर्दै परिस्थितिलाई सामान्य बनाउन अधिकतम संयमता अपनाउन, घटनाको निष्पक्ष छानबिन गर्न, दोषीलाई कानुनबमोजिम कारबाही गर्न तथा पीडितलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकारको ध्यानाकर्षण गराएको छ।

बैठकमा सहभागी राजनीतिक दलहरूले राष्ट्रिय एकता र सामाजिक सद्भावको रक्षाका लागि आफूहरू एकताबद्ध रहेको सन्देश दिँदै वर्तमान समस्याको दिगो, प्रभावकारी र शान्तिपूर्ण समाधानका लागि सरकार तथा समाजसँग सहकार्य गर्दै आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

यस्तो छ बैठकको सर्वदलीय बैठकको संयुक्त वक्तव्य तथा अपिल

१. समवेदना तथा सहानुभूति:

पछिल्ला घटनाक्रमहरूमा परी ज्यान गुमाउने मृतकप्रति गहिरो दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं र शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं। साथै, घटनामा परी घाइते हुनुभएका सम्पूर्ण नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं।

२. सामाजिक सद्भाव र शान्तिको अपिल:

नेपालको पहिचान नै विविधताबीचको एकता, सहिष्णुता र सहअस्तित्व हो। सदियौंदेखि हाम्रो समाजमा कायम रहेको पारस्पारिक भाइचारा र सामाजिक सद्भावलाई खल्बल्याउने कुनै पनि प्रकारका अवाञ्छित गतिविधि र उत्तेजनामा नआउन हामी सम्पूर्ण देशवासी आम नागरिकहरूमा हार्दिक अपिल गर्दछौं। आवेग र मुठभेडले समस्याको समाधान नभई थप जटिलता मात्र निम्त्याउने यथार्थप्रति हामी सबै सचेत हुनु जरुरी छ।

३. शान्तिपूर्ण संवाद र सहमतिको आह्वान:

लोकतन्त्रमा जस्तोसुकै जटिल असन्तुष्टि र समस्याहरूको समाधान पनि शान्तिपूर्ण संवाद र सहमतिका माध्यमबाट मात्र सम्भव छ। आफ्ना माग र असन्तुष्टिहरू शान्तिपूर्ण रूपमा राख्न सम्बन्धित सबै पक्षलाई हामी आह्वान गर्दछौं।

४. तल्लो तहमा सर्वदलीय संयन्त्र र बैठकको आह्वान :

समाजमा शान्ति र सद्भाव कायम राख्न केन्द्रको मात्र प्रयास पर्याप्त हुँदैन। तसर्थ, प्रदेश, जिल्ला र स्थानीय तहमा तत्काल सर्वदलीय तथा सर्वपक्षीय बैठकहरू आयोजना गर्न, संवादलाई तल्लो तहसम्म पुर्‍याउन र नागरिकस्तरमा विश्वासको वातावरण निर्माण गर्न हामी आ-आफ्ना पार्टीका विभिन्न तहका समितिहरूलाई निर्देशित गर्दछौं। स्थानीय स्तरमा धार्मिक अगुवा, नागरिक समाज र स्थानीय प्रशासनलाई जोडेर शान्ति कायम राख्न सक्रिय हुनु आजको आवश्यकता हो।

५. केन्द्रीय तहबाट समन्वय र नेतृत्वदायी भूमिका :

यस्ता प्रकृतिका दुःखद र संवेदनशील घटनाहरू भविष्यमा देशका कुनै पनि भू-भागमा दोहोरिन नदिन हामी, राजनीतिक दलको केन्द्रीय तह, अत्यन्तै गम्भीर छौं। यसका लागि आवश्यक पहलकदमी , निरन्तर समन्वय र अनुगमन गर्दै नेतृत्वदायी भूमिका निर्वाह गर्न हामी प्रतिबद्ध छौं।

६. अफवाह नियन्त्रण र सामाजिक सञ्जालको जिम्मेवार प्रयोग :

यस्तो संवेदनशील समयमा सामाजिक सञ्जाल लगायतका माध्यमबाट फैलाइन सक्ने भ्रामक समाचार, घृणास्पद अभिव्यक्ति र अफवाहहरूले स्थितिलाई थप भयावह बनाउन सक्छन्। तसर्थ, सामाजिक सञ्जालको अत्यन्त जिम्मेवार प्रयोग गर्न आम नागरिकलाई अनुरोध गर्दै, सञ्चारमाध्यमहरूलाई समेत संयमित र तथ्यपरक सूचना मात्र सम्प्रेषण गरिदिन आग्रह गर्दछौं।

७. नेपाल सरकारको ध्यानाकर्षण:

नागरिकको जिउधनको रक्षा गर्नु राज्यको प्राथमिक दायित्व हो। अधिकतम संयमता अपनाउँदै परिस्थितिलाई सामान्यीकरण गर्न, घटनाहरूको निष्पक्ष छानबिन गरी दोषीउपर कानुन बमोजिम कारबाही गर्न र पीडित पक्षलाई उचित क्षतिपूर्ति तथा राहत उपलब्ध गराउन हामी नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँछौं।

अन्तमा, राष्ट्रिय एकता र सामाजिक सद्भावको रक्षाका लागि हामी उपस्थित सम्पूर्ण राजनीतिक दलहरू एकताबद्ध रहेको सन्देश प्रवाह गर्दै, उत्पन्न समस्याको दिगो, प्रभावकारी एवं शान्तिपूर्ण समाधानका लागि सरकार र समाजलाई हरसम्भव सहयोग गर्न हामी दृढ संकल्पित छौं।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij