२०८३ साउन १४ बिहिबार

सरकारको नीति अनुसार सुसासन कायम गरौ,अब चालु आर्थिक वर्षका कार्यक्रम परिणाममुखी बनाऔँ: उद्योगमन्त्री यादव

ई आर्थिक    बिहिबार, साउन १४ २०८३
532
Shares
सरकारको नीति अनुसार सुसासन कायम गरौ,अब चालु आर्थिक वर्षका कार्यक्रम परिणाममुखी बनाऔँ:  उद्योगमन्त्री यादव

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नयाँ सरकार गठनपछि पहिलो १०० दिनभित्र सरकारले अघि सारेको १०० बुँदे शासकीय सुधार कार्यसूची कार्यान्वयनमा मन्त्रालय तथा मातहतका निकायले देखाएको तत्परताप्रति धन्यवाद व्यक्त गर्नुभएको छ।

आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमड्याक) बैठकलाई सम्बोधन गर्दै मन्त्री यादवले भन्नुभयो, “नयाँ सरकार गठन भएपछि तीन महिनामा सरकारका शासकीय सुधारका १०० बुँदाको कार्यान्वयनमा यहाँहरूले देखाउनुभएको तत्परताका लागि धन्यवाद दिन चाहन्छु।”

उहाँले अघिल्लो आर्थिक वर्षका कमजोरीबाट पाठ सिक्दै चालु आर्थिक वर्षका कार्यक्रमहरूलाई सुरुदेखि नै प्राथमिकताका साथ कार्यान्वयनमा लैजान निर्देशन दिनुभयो। समयमै लक्ष्य हासिल गर्न सबै निकायले परिणाममुखी ढंगले काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

मन्त्री यादवले कम्पनी रजिष्ट्रार कार्यालय र उद्योग विभागका सेवा अनलाइन प्रणालीमा गइसकेको उल्लेख गर्दै मन्त्रालयअन्तर्गत अझै डिजिटल हुन बाँकी रहेका सबै सेवालाई तत्काल अनलाइन प्रणालीमा रूपान्तरण गर्न निर्देशन दिनुभयो। सेवा प्रवाहलाई छिटो, पारदर्शी र प्रविधिमैत्री बनाउन आवश्यक प्रक्रिया अघि बढाउन उहाँले सचिव तथा विभागीय प्रमुखहरूलाई आग्रह गर्नुभयो।

उहाँले सुशासन सरकारको पहिलो प्राथमिकता भएको उल्लेख गर्दै मन्त्रालय, विभाग तथा मातहतका कार्यालयमा सुशासनका विषयमा कुनै सम्झौता नगर्न निर्देशन दिनुभयो। पूर्ण इमान्दारिता, पारदर्शिता र जिम्मेवारीका साथ काम गर्नुपर्नेमा उहाँले विशेष जोड दिनुभयो।

चाडपर्व नजिकिँदै गएको उल्लेख गर्दै मन्त्री यादवले बजार अनुगमनलाई थप प्रभावकारी बनाउन, उपभोग्य वस्तुको सहज आपूर्ति सुनिश्चित गर्न तथा कालोबजारी नियन्त्रणलाई उच्च प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिनुभयो।

त्यसैगरी, औद्योगिक वातावरण निर्माण, व्यापार विस्तार तथा मन्त्रालयको समग्र प्रगतिका लागि आवश्यक नीतिगत सहजीकरण गर्न आफू सधैँ तयार रहेको बताउँदै उहाँले सबै कर्मचारी तथा निकायलाई समन्वय र प्रतिबद्धताका साथ काम गर्न आग्रह गर्नुभयो।

मन्त्रालयका प्रवक्ता सहसचिव नेत्र प्रसाद सुवेदीका अनुसार बैठकमा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति, बजेट कार्यान्वयन, मन्त्रालय तथा मातहतका निकायका उपलब्धि, शासकीय सुधारका १०० कार्यसूचीको प्रगति तथा आगामी कार्ययोजनाबारे विस्तृत समीक्षा गरिएको थियो।

समीक्षा क्रममा मन्त्रालयले गत आर्थिक वर्षमा हासिल गरेको उपलब्धि तथा आगामी आर्थिक वर्षका लक्ष्यलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै महाशाखा, विभाग तथा मातहतका निकायबीच नियमित समन्वय र नतिजामुखी कार्यसम्पादनमा जोड दिइएको प्रवक्ता सुवेदीले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij