२०८३ साउन १५ शुक्रबार

सिरहामा कर्फ्युबीच गोलबजारमा प्रहरीको गोली चल्यो, एक युवकको मृत्यु

ई आर्थिक    बिहिबार, साउन १४ २०८३
760
Shares
सिरहामा कर्फ्युबीच गोलबजारमा प्रहरीको गोली चल्यो, एक युवकको मृत्यु

सिरहा । कर्फ्यु आदेश जारी भए पनि तनाव नियन्त्रणमा नआएपछि सिरहाको गोलबजारमा प्रहरीले गोली चलाएको छ। प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा गोलबजारका गणेश यादव रहेको बताइएको छ। उनको शव अहिले स्थानीय अस्पतालमा राखिएको छ। घटनामा प्रहरीको गोली लागेर केही अन्य व्यक्ति पनि गम्भीर घाइते भएका छन्। घाइतेहरू सडकमा लडिरहेको दृश्य देखिएको स्थानीयले बताएका छन्।

गोलबजार बजार क्षेत्रमा दुई समुदायबीच बढेको तनाव नियन्त्रण गर्न प्रहरीले बल प्रयोग गरेको हो। यसअघि स्थानीय प्रशासनले शान्ति सुरक्षा कायम गर्न कर्फ्यु आदेश जारी गरेको थियो।

यसैबीच, बिहीबार गोलबजार क्षेत्रमा पार्किङ गरेर राखिएका ११ वटा मोटरसाइकलमा आगजनी गरिएको छ। आगलागी गोलबजार नगरपालिकाको दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो।

सुनसरीको कप्तानगञ्जबाट आइतबार रातिदेखि सुरु भएको तनाव मधेश प्रदेशका विभिन्न क्षेत्रमा फैलिँदै जाँदा भौतिक क्षति पनि बढेको छ।

उता, मधेश प्रदेशको राजधानी जनकपुरधाम क्षेत्रमा पनि दुई समुदायबीच तनाव बढेपछि जिल्ला प्रशासन कार्यालयले जनकपुरधामसहित केही नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। प्रशासनले बिहीबार दिउँसो साढे ३ बजेदेखि लागू हुने गरी कर्फ्यु लगाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij