ई–आर्थिक, काठमाडौं । दोस्रो बजारमा जलविद्युत कम्पनीको शेयरमा आकर्षण बढिरहेकै समयमा आधा दर्जन जलविद्यतु कम्पनीले शेयर निष्काशन गर्ने तयारी गरेका छन् । समाचार स्रोतका अनुसार नेपाल धितोपत्र बोर्डबाट आधा दर्जन जलविद्युत् कम्पनीले आईपीओ निष्कासनको अनुमति पाएका छन् ।
यी कम्पनीको पब्लिक र प्रमोटर गरेर ७ करोड ८० लाख कित्ता सेयर निष्कासनका लागि बोर्डले अनुमति दिएको जनाएको छ ।
यसरी सेयर निष्काशन गर्ने कम्पनी मध्ये न्यादी हाइड्रोपावरले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा संस्थापक सेयरधनीका लागि १ भदौदेखि आईपीओ बिक्री खुला गर्ने भएको हो । कम्पनीले प्रतिसेयर १ सय अंकित मूल्यका कुल १८ लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र लमजुङ जिल्लाको मस्र्याङ्दी गाउँपालिका वडा नम्बर ३, ६, ७ र ८ का स्थानीयका लागि ५ लाख कित्ता र लमजुङ जिल्लाकै अन्य क्षेत्रका स्थानीय बासिन्दाका लागि १० लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो ।
बाँकी ३ लाख कित्ता कम्पनीले संस्थापक सेयरधनी बुटवल पावर कम्पनी र लमजुङ विद्युत् विकास कम्पनीका कर्मचारीका लागि निष्कासन गर्न लागेको छ । यसले २२ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने भएको छ ।
त्यस्तै बुद्धभूमि नेपाल हाइड्रोपावरले समेत स्थानीयका लागि ३२ साउनदेखि साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सय रुपैयाँमा अंकित ४ करोड रुपैया बराबरको ४ लाख कित्ता सेयर निष्कासन गर्ने तयारी गरेको हो । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् भने ८ लाख कित्ता सर्वसाधारणका लागि निष्कान गर्ने भएको छ ।
त्यसैगरी साहस ऊर्जाले २९ साउनदेखि स्थानीयका लागि आईपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिसेयर १ सय अंकित मूल्यका दरले ३५ लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । कम्पनीको उक्त आईपीओ आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाका बासिन्दाका लागि निष्कासन गर्न लागेको हो । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १० लाख ५० हजार कित्ताका लागि आवेदन दिन सक्ने भएका छन् । एक करोड ५ लाख कित्ता सर्वसाधारणका लागि निष्कासन गर्ने भएको छ ।
त्यसैगरी सामलिङ पावर कम्पनीले ५ लाख कित्ता स्थानीयका लागि र १२ लाख ३० हजार सर्वसाधारणका लागि, तेह्रथुम पावर कम्पनीले ४ लाख कित्ता स्थानीयका लागि र ८ लाख कित्ता सर्वसाधारणका लागि, मध्य भोटेकोसी जलविद्युत् कम्पनीले ६० लाख कित्ता स्थानियका लागि जारी गरिसकेको छ भने ९० लाख कित्ता सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने भएको छ ।