२०८३ साउन १४ बिहिबार

एमालेका ओली–माधब दुबै समूहको निस्कर्ष : बादलहरुको कारण पार्टी एकता संकटमा, भुईंको टिप्न खोज्दा, गोजीको नपोख्न ओलीमाथि दबाब

ई आर्थिक    शुक्रबार, असार १८ २०७८
15.8K
Shares
एमालेका ओली–माधब दुबै समूहको निस्कर्ष : बादलहरुको कारण पार्टी एकता संकटमा, भुईंको टिप्न खोज्दा, गोजीको नपोख्न ओलीमाथि दबाब

ई–आर्थिक, काठमाडौं । अन्ततः नेकपा एमाले ०७५ जेठ २ मा पुगेन । पार्टी अध्यक्ष केपी शर्मा ओलीेको समूहले जेठ २ मा फर्केको प्रचार गरे पनि यथार्थ त्यस्तो छैन । उता झलनाथ–माधब समूहले भनेजस्तो एमाले ०७७ साल फागुन २८ मा पनि छैन । न त ०७५ साल जेठ ३ मा नै छ । र, एमालेको अबस्था कुहिरोको हवाईजहाजजस्तै भएको छ ।

स्मरणीय के छ भने जेठ २ भनेको एमाले र माओबादी एकताको पूर्बवर्ती अबस्था हो । जेठ ३ भनेको दुई पार्टीबिच एकता भएर नेकपा जन्मदाको अबस्था हो । त्यसैगरी फागुन २८ भनेको सर्बोच्चको फैसलाअनुसार पूर्बवतरुपमा फर्केको एमाले केन्द्रीय कमिटि भंग गरी दशौं राष्ट्रिय महाधिबेशन आयोजक कमिटि निर्माण गरिएको अबस्था हो । सर्बोच्चले नै अबैध भनेको आयोजक कमिटि हिजो अध्यक्ष ओलीले गत १६ भंग भएको घोषणा गरे र जेठ २ मा फर्किएको बताए । जेठ २ मा पुगेको थियो भने एमालेको केन्द्रीय कमिटिको संख्या २०३ हुने थियो ।

अहिले २६१ जनाको केन्द्रीय कमिटि बनाइएको छ । जेठ ३ मा छ भन्ने हो भने न त्यसबेलाको पार्टीको नाम छ, नत सिद्धान्त र न सांगठनिक संरचना नै छ । फागुन २८ मै छ भन्ने हो भने पनि त्यतिबेला केन्द्रीय पदाधिकारी थिएनन, अहिले छन् ।

बादलले हाम्रो उपयोगिता सकियो, कमरेड ? भनेपछि…

आफ्नै समूहको राष्ट्रपतिनिकट नेताहरुको दबाबको सामना गर्दै पार्टी एकताको लागि ०७५ साल जेठ २ मा हिडेका पार्टी अध्यक्ष ओली बिच बाटोमै किन यसरी रुमलिए त ? स्वयम् ओली समूहमा पनि यो प्रश्न उठिरहेको छ । यसको कारण हो, पूर्बमाओबादी समूहको अध्यक्ष ओलीसंग रोइकराई । नेकपा एमाले ढिलो चाँडो एक हुन्छ भन्ने कुरा यो समूहले सर्बोच्चले आफ्नो मन्त्री पद खारेज गरेपछि नै भेउ पाइसकेको थियो ।

मधेशबादी दल जसपाको एउटा समूहलाई सरकारमा ल्याउन र आफ्नो पार्टीभित्रको असन्तुष्ट समूहसँग एकता गर्नैका लागि अध्यक्ष ओलीले कुटिल चाल चलेको उनीहरुले बुझिसकेका थिए । यही बुझेर पूर्बमाओबादी नेताहरुले एमालेहरु एक ठाउँमा आए ‘राम्रै’ हुने उनीहरुले अभिब्यक्ति दिइरहेका थिए । एमालेमा दुई समूहबिच एकताको बार्ताहरु सघन हुन थालेपछि उनीहरुमा एक प्रकारको बेचैनी देखिन्थ्यो । त्यसैले उनीहरु लयबिहीन भएर बोल्न थालेका थालेका थिए ।

कसैले यति मन्त्री हामीलाई चाहिन्छ भन्ने, कसैले पार्टीमा सम्मानजनक हैसियत हुनुपर्छ भन्ने त कसैले हामी एमाले र जबज मान्न आएका होइनौं, जेठ ३ को हैसियतमा आएका हौ भन्न थालेका थिए । यही बिचमा गत १६ गते अध्यक्ष ओलीले आयोजक कमिटि भंग गरिदिए । अध्यक्ष ओली जेठ २ मै फर्किएर पहिले एमालेको बैठक राख्ने र पछि माओबादी समूहलाई पार्टी प्रबेश गराएर स्थायी समिति र केन्द्रीय कमिटिमा मनोनयन गर्ने तयारीमा थिए । यसको जानकारी माओबादी समूहले पाएपछि उनीहरुको पनि अनौपचारिक छलफल भयो । छलफलबाट पार्टी प्रबेश गर्नु भनेको त एकातिर एमालेमा दोस्रो दर्जाका नेता–कार्यकर्ता बन्नु हो भने अर्कातिर सिद्धान्त र बिचारप्रति नै आत्मसमर्पण गर्नु हो भन्ने निस्कर्ष निकाले । त्यसो नगरी जेठ ३ कै हैसियत र प्रतिष्ठा झल्कने गरी ओलीसँग रातारात कुरा गर्न बादललाई जिम्मा दिइयो ।

बादलले १६ गते नै आफ्नो समूहको निस्कर्ष सुनाए । कुराकानीको भूमिका बाध्दै बादलले अब हाम्रो उपदेयिता सकियो, कमरेड भनेर प्रश्न गरेको स्रोतले जानकारी दियो । ‘साँसद पद गयो, मन्त्री पद गयो, पार्टीमा पनि दोस्रो दर्जाको हैसियत दिन खोज्नु भनेको अब तिमीहरुको उपदेयिता सकियो भनेको हुन्छ । कमरेडलाई यस्तो लागेको हो भने हामी एउटा निर्णयमा पुग्छौं ।’

बादलको यो भनाईले ओली केही हच्चिए । बिकसित राजनीतिक परिस्थितिमा कतिलाई उपयोग गर्नुपर्ने कुरालाई ओलीले सम्झिएको उनीनिकट नेताहरुको भनाई छ । ओलीले हाम्रो उपयोगिता सकिएपछि रछ्यानमा मिल्काए भन्ने सन्देश गयो भने आउँदो दिनहरुमा अरुलाई उपयोग गर्न समस्या हुने कुरालाई ध्यानमा राखेर ओलीले न हाँसको चाल न बकुल्लाको चाल गरेर तत्कालको अन्तरबिरोध सेटलमेन्ट गरेको बताइन्छ ।

ओली–माधब दुबै समूहको समीक्षा

हिजो १७ गतेको पार्टीभित्रको कदमलाई लिएर ओली समूह र झलनाथ–माधब दुबै समूहमा औपचारिक र अनौपचारिक समीक्षा भएको छ । दुबै समूहका नेताहरुले दिएको जानकारीअनुसार दुबैको निस्कर्ष समान छ । नाम उल्लेख नगर्ने शर्तमा उनीहरुले बताएअनुसार माओबादी समूह नै एमाले एकताको लागि सबभन्दा ठूलो बाधक बनेको छ । ‘पार्टीभित्रको अन्तरबिरोध समाप्त हुनै लागेको थियो ।’

ओलीनिकट पोलिटब्युरो सदस्य भन्छन् ‘झलनाथ–माधब समूहको मूल माग जेठ २ मा फर्केको भए, सबै अन्तरबिरोध तत्कालका लागि हल हुने थियो । सर्बोच्चले दुई–दुई पटक पूर्बवत अबस्थामा फर्क भनेकाले जेठ २ मा फर्कन अप्ठयारो थिएन । तर पूर्बमाओबादीका कारण न यता न उता जानुपर्ने अबस्था आयो ।’ झलनाथ–माधब समूहको निस्कर्ष पनि लगभग उस्तै छ । ‘लोकलाजका लागि पनि ओलीलाई बादल बोक्नु परेको होला । अब बादल जेठ २ मा एमाले फर्केमा आफ्नो समान हैसियत र बार्गेनिङ पावर हस हुन्छ भन्ने मान्यतामा छन् । यही कारण एमाले एकता सोचेजस्तो गरी अघि बढ्न सकेन ।’

उता अध्यक्ष ओलीमाथि दुबै समूहले भुईको टिप्दा गोजीको नखसाउन दबाब दिन थालेका छन् । एमालेभित्र अन्य पार्टीका नेता÷कार्यकर्ता प्रबेश गराउनु राम्रो कुरा भए पनि पार्टीभित्र बिग्रह गरेर बाहिरका ल्याउनु मुर्खतापूर्ण कदम हुने उनीहरुको भनाई छ । ‘झलनाथ–माधब समूह भनेको एमालेलाई यहाँसम्म ल्याउने नेता, कार्यकर्ताहरुको समूह हो ।’ ओलीपक्षीय एक केन्द्रिय सदस्य भन्छन् ‘बादल समूह भनेको एमाले सिध्याउन नसकेर र आफ्नोे पार्टीको भबिश्य सकिएर टाउको जोगाउन आएको समूह हो । यिनीहरुबिचको भेद सबैलाई थाहै छ ।’ यस कुरालाई ध्यानमा राखेर माओबादीहरुलाई स्थान दिन अध्यक्ष ओलीसमक्ष दबाद दिइएको उनी बताउँछन् ।

बादलहरुले एमाले छाडे केही फरक नपर्ने, तर झलनाथ–माधब समूह पार्टीबाट बहिर्गमन हुदा अपुरणीय क्षति हुने उनको भनाई छ । ‘बादलहरु त सदाबहार मन्त्री र राजकीय पदहरुको सुनिश्चित हुने ठानेर एमाले बनेका हुन । एमाले बनेको तीन महिना भएको छैन । मन्त्री र पार्टीका पदहरुमा बार्गेनिङ गर्न थालिसके ।’ उनी भन्छन् ‘पद पाउँदैनौ भनेको दिन उनीहरु बाटो क्लियर गर्छन ।’ अहिले नै प्रभु साहले आफू एमाले र जबज दुबै नभएको बताएर पदकै लागि मात्र हो भनिसकेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij