ई–आर्थिक, काठमाडौं । केही दिन यतादेखि नेकपा एमालेका झलनाथ–माधब समूहका योगेश भट्टराई, सुरेन्द्र पाण्डे र गोकर्ण बिष्टहरुको सक्रियतामा एकाएक ‘ब्रेक’ लागेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली र झलनाथ–माधब समूहबिच एकता गराएरै छोड्ने प्रचारबाजी गर्दै सक्रिय उनीहरु केही दिनबाट भेला, बैठक गर्न छाडेका छन् ।
प्रधानमन्त्री ओलीले मन्त्रीपरिषद बिस्तारको पूर्बसन्ध्यासम्म यिनीहरुकै दौडधुपमा दुई पक्षीय भेला हुन्थ्यो । ओली समूहका किचेन क्याबिनेटका चार र घनश्याम भुषालसहित चार गरेर उनीहरुले सुबिधा सम्पन्न होटल/रेष्टुराँमा दुई/तीन घण्टा नबिताएको दिन हुदैनथ्यो । जब कि झलनाथ–माधब समूहले योगेशसहित उल्लेखित चार नेताहरुलाई एकताको बार्ताका लागि कुनै म्याण्डेट प्रदान नगरेको झलनाथ खनालनिकट एक नेताको भनाई छ । उनी भन्छन ‘बरु एकताको नाममा भ्रम छरेर समूहलाई कमजोर बनाएको भन्दै हाम्रो समूहका कतिपय नेताहरुले सार्बजनिकरुपमै गम्भीर आलोचना गरेका छन् ।’
योगेशहरु त्यति बेला पार्टी एकताको लागि भन्दै सक्रियता देखाएका थिए, जति बेला पार्टी एकताको लागि निर्माण गरिएको आधिकारिक कार्यदलबाट झलनाथ–माधब समूहका संयोजक भीम रावललाई ओलीले पार्टीको साधारण सदस्य नरहने गरी कारबाही गरे । एकता कार्यदलको संयोजक रावललाई मात्र नभएर यो समूहको नेत्रृत्व गरिरहेका माधब नेपालसहित अन्य ११ लाई पनि पार्टी सदस्य नै नरहने गरी कारबाही भएको अबस्थामा योगेश भट्टराईले एकताका लागि सक्रियता देखाएका थिए ।
पार्टी एकताका लागि भनेर झलनाथ–माधब समूहले आफ्नो तर्फबाट प्रस्ताब गरेको ६ बुदे शर्तलाई प्रभाबहीन बनाउने गरी योगेशसहितका चार नेताहरु सक्रिय भएपछि ओली समूह उत्साहित भएको थियो । ‘ओली समूहको नीति नै पार्टी एकता गर्नेभन्दा पनि झलनाथ–माधब समूहमा बिभाजन ल्याई शक्तिहीन पार्ने अनि घर न घाटको बनाउने थियो र छ । यसैलाई बलियो बनाउने गरी योगेशहरु सक्रिय भएपछि सो समूहभित्र धेरै शंका/उपशंका जन्मिएको छ ।’
माधब नेपालनिकट नेताहरु भन्छन् । झलनाथ–माधब समूहमा रहेको भनिएता पनि योगेश र गोकर्णले प्रतिनिधिसभा पुनस्र्थापनाका लागि सर्बोच्च हालेको रिटमा हस्ताक्षर गरेका थिएनन् । जब कि संसद बिघटन लोकतान्त्रिक गणतन्त्र र संबिधान नै समाप्त पार्ने ओलीको षडयन्त्र भन्दै त्यसका बिरुद्ध नेता नेपालकै अग्रसरतामा सर्बोच्चमा रिट दायर गरिएको थियो । ‘यसले योगेशहरु ओलीको राजनीतिक कदम र प्रतिनिधिसभा बिघटनको पक्षमै रहेको स्वतः सिद्ध हुन्छ ।’ झलनाथ–माधब समूहको भनाई छ ।
संसदले सरकार दिन सक्ने अबस्था छ भन्ने तथ्य सर्बोच्चमा प्रस्तुत गर्न काँगे्रस र त्यसका सभापतिले अगुवाई गर्नै पर्ने बाध्यता रहेकाले झलनाथ–माधब समूहले गठबन्धन गरेको कुरालाई योगेशहरुले ओलीको भ्र्रामक बोलीलाई सहयोग गर्दै अनर्थ लगाएर प्रचार गरेका थिए । ओलीको संसद बिघटनको कदमलाई प्रतिगमन हो भनेर निस्कर्षमा पुग्ने सबै राजनीतिक शक्तिहरुको धु्रबीकरण स्वभाबिक हुने कुरालाई ढाकछोप गर्न ओली समूहले आफ्नो पार्टीका प्रधानमन्त्रीबिरुद्ध माधब समूहले काँगे्रसका सभापतिलाई काँध हाल्यो भनेर प्रचार गरेका थिए र गर्दैछन् । यही कुरालाई योगेशहरुको चार भाईको समूहले पनि तल्लो तहसम्म प्रचार गरिरहेको छ । राजनीति, उद्देश्य र लक्ष्य मिल्नेहरुको धु्रबीकरण हुन्छ भन्ने कुरा ओली र महन्थ–राजेन्द्रको सहकार्यले पनि पुष्टि गरिसकेको छ । तर यतातिर योगेशहरु बिल्कुलै प्रबेश गर्न चाहदैनन् । यसले पनि उनीहरुको असल नियत छर्लङ्ग हुन्छ ।
मागेको मन्त्रालय नदिएपछि…
योगेशहरुको पार्टी एकताको अन्तर्य ‘ओपन सेक्रेट’ नै छ । देखावटी एकताभित्र गतिलो मन्त्रालय प्राप्तिको स्वार्थ लुकेको कुरा झलनाथ–माधब समूहमा मात्र नभई ओली समूहले पनि राम्रोसँग बुझेको थियो । संसद पुनस्र्थापना हुदासमेत अहिलेकै सरकारको निरन्तरता हुने गरी झलनाथ–माधब समूहका साँसद ल्याउन सके माग पुरा गर्नेसम्मको ओलीले आश्वासन दिएका रहेछन् ।
‘माधब समूहका कम्तिमा १५ जना साँसद ल्याउने भए ओलीले हेरौला भनेका थिए ।’ ओलीनिकट स्रोत भन्छ ‘त्यो समूहबाट १५ आउँदा संसद पुनस्र्थापना हुदा पनि ओलीको सरकारको निरन्तरता हुन सक्थ्यो । तर उनीहरुसँग बढीमा ७ मात्र सांसद हुने देखियो । यसपछि उनीहरुको माग सम्बोधन गरिरहन परेन ।’ ओलीनिकट स्रोतका अनुसार योगेशले सुरुमा गृह मन्त्रालयको संकेत गरेका थिए भने सुरेन्द्रले अर्थमन्त्रालयको प्रस्ताब गरेका थिए ।
अर्थ र गृह दुबै मन्त्रालयले अर्को समूहबाट आउनेलाई नदिने भनिएपछि योगेशले सन्चारको प्रस्ताब गरेको बताइन्छ । आफूले सन्चार लिएपछि सुरेन्द्रलाई अर्थ दिन उपाय पनि योगेशले बताएको स्रोतको भनाई छ । अहिलेका अर्थमन्त्री बिष्णु पौडेललाई उपप्रधानसहित गृहमन्त्रालय दिएर अर्थमा सुरेन्द्र ल्याउन सकिने योगेशको प्रस्ताब थियो । यसमा ओलीले ‘हेरौला’ मात्र भनेर बचन भने नदिएको स्रोतको दाबी छ ।
ओलीले यसो भनेर माधब समूहमा सुरेन्द्र र योगेशको पहुँच हेरेका थिए । १५ जना जति साँसद ल्याउन सकेको भए उनीहरुको माग पुरा हुने स्रोतले जानकारी दियो । तर उनीहरुमा यसमा असफल देखिएपछि ओलीले आफ्नो कदम चाले । ओलीले सन्चारमा रामबहादुर थापाकी श्रीमति नैनकला र गृहमा आफ्ना अत्यन्त बिस्वासिला नेता खगराज अधिकारीलाई ल्याएपछि भने योगेशहरु निराश भएको बताइन्छ । त्यही पनि योगेशको सक्रियता र ईमानदारितालाई हेरेर प्रधानमन्त्री ओलीले सामान्य प्रशासन मन्त्रालय भने योगेशनिकट साँसद गणेश पहाडीलाई दिएका छन् । योगेशकै कारण साँसद पहाडीले पनि रिटमा सही गरेका छैनन् ।
योगेशहरुको एकता अभियानले मूर्तरुप नलिएपछि प्रधानमन्त्री ओलीले मन्त्रीपरिषदको बिस्तार गरिसकेका छन् । ‘यसले योगेशहरुको एकता अभियानलाई अरुची बनाई दिएको देखिन्छ ।’
नेतानिकट एक नेता भन्छन् ‘जे प्राप्तिको लागि दौडधुप थियो, त्यो नै तत्कालका लागि गुमेपछि निराशा त आइहाल्छ ।’ उनका अनुसार प्रधानमन्त्री ओलीले योगेशलाई त निर्बाचन क्षेत्रसमेतको ब्यबस्था गरिदिएका छन् । योगेश अब ताप्लेजुङ गएर उठ्न सक्ने अबस्था नै नभएको र उठे पनि जित्ने अबस्था नभएकाले उनी भूगोलको खोजीमा भौतारिएको थाहा पाएर ओलीले त्यसको ब्यबस्था गरिदिएको उनको भनाई छ ।
ओलीले योगेशका लागि झापा क्षेत्र नम्बर १ मा टिकट दिने आस्वासन दिएका छन् । उक्त क्षेत्र काँगे्रसका प्रभाबशाली नेता तथा प्रबक्ता बिश्वप्रकाश शर्माको क्षेत्र हो । त्यहाँबाट शर्मासँग उठ्ने एमालेको प्रभाबशाली नेता नभएको र अहिलेका साँसद राम कार्की माओबादी भएकाले ओलीले त्यहाँ उम्मेद्वारको खोजी गरिरहेका थिए । योगेश पनि टेक्ने भूगोल नभएर छ्ट्पटाइरहेको थाहा पाएपछि उनैलाई त्यहाँ लैजान खोजिएको स्रोतको भनाई छ । तर यसका लागि ओलीको समूहमा आएर काम गर्नु पर्ने र झलनाथ–माधब समूहबाट केही साँसद ल्याउनुपर्ने शर्त गराइएको पनि स्रोतको भनाई छ ।
योगेश भट्टराई कहिले ओलीतिर कहिले माधब नेपालतिर गर्न थालेपछि दुबै समूहले उनीप्रति बिस्वास गर्न छाडेका छन् । निर्बाचन क्षेत्रमै पुगेर भोट मागेर जिताएको बिर्सेर माधब समूहमा लागेपछि उनीसँग ओली निकै नै रुष् भएका थिए । पछि ग्रिन सिग्नल पाएपछि ओलीले फेरि पर्यटनजस्तो महत्वपूर्ण मन्त्रालय दिएर सरकारमा सहभागी गराएका थिए । उनको कार्यक्षमता र कार्यसम्पादन मुल्याङ्कन निकै कमजोर रहे पनि ओलीले निरन्तरता नै दिएका थिए । तर ओलीलाई गम्भीर संकटको बेला साथ छाडेर उनी फेरि माधब समूहतिर नै लागेका थिए ।
ओली निकट नेता भन्छन् ‘यस्तो बेला तपाईले ओलीलाई नछाड्नुहोस । यसको गुन ओलीले तिर्छन भनेर हामीले उनलाई सम्झायौं । तर त्यतिबेला उनलाई ओली अब सकिए भन्ने लागेको रहेछ । आउन मानेनन् ।’ उनका अनुसार अहिले पार्टीभित्र ओली बलियो पनि बनेर गएको र माधब समूहतिर जाँदा राजनीतिक भबिश्य समाप्त हुने ठानेर फेरि फर्किएका । उनी भन्छन ‘बैगुनी केटाहरु कहिले यता, कहिले उता पुक्क/पुक्क लात्ति हानिरहेका छन् । त्यो के का लागि सबैले बुझेकै छन् ।’
उता माधब समूहले पनि योगेशलाई बैगुनी नेताका रुपमा हेर्न थालेका छन् । ‘उनीभन्दा बरिष्ठ नेतालाई छाडेर माधब नेपालले आफ्नो समूहमा राखेर सचिब जिताए । त्यही पदले उनको राजनीतिक उचाई चुलियो । अब उनी त्यसलाई सम्झन छोडेका छन् । अहिले माधब नेपाललाई संकट परेको बेला आफ्नो स्वार्थलाई केन्द्रमा राखेर यता÷उता गरिरहेका छन् ।’ नेता नेपालनिकट एक नेता भन्छन् ‘पहिले ओलीलाई पुक्क हाने, अहिले माधबलाई हान्न थालेका छन् ।’