ई–आर्थिक, काठमाडौं । नेपालको राजनीतिमा अत्यन्तै कुटिल गोटी चाल्न माहिर नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले झलनाथ–माधब समूहलाई घर न घाटको बनाउने रणनीति तय गरेका छन् । यसका लागि ओलीले नेकपा एमाले एकताको जाल बिछ्याएका छन् । सुन्दा कर्णप्रिय लाग्ने उक्त जालमा झलनाथ–माधब समूह पर्न सक्नेमा ओली बिस्वस्त देखिन्छन् । किनभने यो समूहमा राजनीतिक निर्णय गर्न सक्ने भन्दा भावनामा बहकिने नेताहरुको संख्या ठूलो छ । यसैलाई सोच, बिचार गरेर ओलीले मंगलबार स्थायी समितिको बैठकको आयोजना गरी पार्टी एकताको लागि अधिकतम प्रयास गर्ने निर्णय गरेर सार्बजनिक गरेका छन् ।
बास्तबमा यो असल मनसायले आएकै होइन भन्ने प्रष्ट देखिन्छ । मनसाय असल हुन्थ्यो र त्यो जाल हुदैनथ्यो भने केही दिनअघि १२ नेताहरुलाई गरिएको कारबाही स्थायी समितिले फिर्ता लिने थियो । त्यति मात्र होइन, बागमति प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिममा झलनाथ–माधब समूहका दर्जनौनेताहरुलाई गरिएको कारबाही तथा कारबाहीको सिफारिस बिना शर्त फिर्ता लिएको पनि निर्णय हुने थियो । त्यसैले एकताको रटान बिशुद्ध नाटक मन्चन र अर्को षडयन्त्रको जाल हो भनेर सजिलै भन्न सकिने माधब समूहका नेताहरुको भनाई छ ।
बिभिन्न प्रलोभन, कारबाही र धम्कीको सामना गर्दै झलनाथ–माधब समूह अघि बढ्दा ठूलो संख्यामा रहेका कार्यकर्ताहरुले पनि एमालेसँग सम्बन्ध बिच्छेदको तयारी गरेपछि ओली र उनको समूह हच्किएको छ ।
यसले आगामी निर्बाचनहरुमा ठूलो नोक्सानी हात लाग्ने ओली समूहले बुझेको छ । झलनाथ–माधब समूहमा पार्टीको ‘क्रिम’ कार्यकर्ताहरुको ठूलो पंक्ति छ । यही पंक्तिले अहिलेसम्म एमालेलाई राजनीतिक र बैचारिक जग भत्कन दिएको छैन । ओलीसँग भने गैरराजनीतिक जत्थाको बाहुल्यता छ । त्यागी, निष्ठावान र बैचारिक राजनीतिक कार्यकर्ताले छाडेपछि नेकपा एमाले सिंगो पार्टीले नै राजनीतिक चरित्र गुमाउने खतरा मात्र देखिएको छैन, जनताले समेत बिस्वास नगर्ने संकेतहरु इत्रतत्र देखिन थालेको छ । झलनाथ–माधबले साथ छाडेपछि भएको राष्ट्रियसभाको दुबै निर्बाचनमा नराम्रो पराजय ब्यहोरेकाले पनि ओली समूहको सातो उडेको छ ।
अन्य प्रतिपक्षसँगको सम्बन्ध भताभुङ्ग पार्ने
अहिले झलनाथ–माधब समूहको प्रमुख प्रतिपक्ष नेपाली काँगे्रस, माओबादी केन्द्र, उपेन्द्र नेत्तृत्वको जसपासँग गठबन्धन बनेको छ । ओलीको सीमाहीन अपमानबाट बाहिर निस्केर झलनाथ–माधब समूह अन्य प्रतिपक्ष दलहरुसँग गठबन्धनमा सामेल भएको हो ।
यो गठबन्धन नेपालको बर्तमान राजनीतिमा सबभन्दा बलियो र निर्णायक राजनीतिक शक्तिमा परिणत भएको छ । यही शक्तिले बागमती र लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभाको उपनिर्बाचनमा नेकपा एमालेलाई धुलो चटाई दियो । यो गठबन्धन ओलीको प्रतिगामी कदमको बिरोधदेखि लिएर आगामी निर्बाचनसम्म कायम रहने सहमति भएको छ । यसो भएमा निर्बाचनमा देशभरबाट नेकपा एमालेले जित्ने एक सिट पनि सुनिश्चित देखिदैन ।
ओलीले यही कुरालाई मध्यनजर गरेर गठबन्धनबाट झलनाथ–माधब समूहलाई अलग गराउने रणनीति तय गरेका हुन । यो समूह त्यहाँबाट फुट्यो भने पनि ओलीका लागि भयंकर ठूलो सहयोग पुग्ने छ ।
अहिलेसम्म कारबाही मात्र गरिएको र उनीहरुले अर्को पार्टी बनाइ नसकेको कारण एकताको दुहाई दिएर यो समूहको सम्बन्ध अन्य प्रतिपक्षबाट बिच्छेद गराउने ओलीको षडयन्त्र देखिन्छ । खासगरी झलनाथ-माधब समूहलाई अन्य प्रतिपक्षसँग अबिश्वास पैदा गराउनु नै ओलीको मूल उद्देश्य देखिन्छ । एकता भन्दै कार्यदल बनाउने अनि बार्ता गराएजस्तो गरेर झलनाथ–माधबहरुको कुनै भरोसा छैन, जुनसुकै बेला पनि धोका दिन सक्छन् भनेर काँग्रेस, माओबादी र उपेन्द्रका जसपामा सन्देश प्रबाह गर्ने ओलीको रणनीति छ । झलनाथ–माधब समूहप्रति अबिश्वास भएमा काँग्रेस, माओबादी र जसपाले बलियो राजनीतिक कदम चाल्न नसक्ने ओलीले बुझेका छन् । ओली यसमा सफल भए भने उनले त बाजी मार्ने छन्, तर झलनाथ–माधब समूह भने घर न घाटको हुने छ । यो समूह न एमालेमा सम्मानजनक समाहित हुने छ, न त प्रतिपक्षहरुकै साथ, सहयोग र सहानुभूति प्राप्त गर्ने छ ।
६ छोड्ने, अरुलाई समेट्ने
खासमा ओली समूहले झलनाथ–माधब समूहका केही नेता र कार्यकर्ताहरुलाई मात्र एमालेभित्रै राखिरहन चाहन्छ । यसो गर्दा पार्टीलाई ठूलो नोक्सानीबाट बचाउन सकिने ओलीको बुझाई छ । बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधब नेपाल, उपाध्यक्ष बामदेब गौतम, भीम रावल, अष्टलक्ष्मी शाक्य र घनश्याम भुषाललाई छाडेर अरु नेताहरु भित्र्याउने ओलीको मनसाय देखिन्छ ।
यसमा दुई कारण छन् । पहिलो यि ६ नेताहरु भित्र्याउँदा पार्टीमा ओलीको एकलौटी हालीमुहाली र देवत्वकरण सकिन्छ । अहिले ओलीले आफ्नो फोटोलाई पुजन गर्ने परिपाटी बिकास गर्दैछन् । हरेक पार्टी कार्यालयहरु र कार्यक्रमहरुमा उनको बढेमाको फोटो राख्ने र पहिले कार्यकर्ता पंक्तिलाई उक्त फोटोप्रति श्रद्धा ब्यक्त गर्न लगाउन थालिएको छ । यो ब्यक्तिपुजनको संस्कृति हो । यसले पार्टीभित्र धेरै शक्ति केन्द्र निर्माण नहुने र एक ‘मेन शो’ मा पार्टी सन्चालन हुने ओलीको बुझाई छ । आफूले जे ग¥यो, त्यो पार्टीले गरेको, जे बोल्यो, त्यो पार्टीले बोलेको भाष्य ओलीले निर्माण गरिरहेका छन् । पार्टी आफै, सिद्धान्त आफै, नीति, कार्यक्रम आफै, आदर्श आफै हो भन्ने कुरातिर ओलीले एमालेलाई डोहो¥याउँदै छन् ।
माथि उल्लेखित पार्टीमा रहदा यस्तो हुदैहुदैन । बिधि, बिधान, पद्धति र पार्टीको घोषित नीति तथा आदर्शअनुसार पार्टी सन्चालन गर्नुपर्छ । दोस्रो यि नेताहरु पार्टीभित्र रहँदा पार्टी नेत्तृत्वको उत्तराधिकारीलाई ठूलो समस्या आउँछ । ओलीको अहिले पहिलो रोजाई शंकर पोखरेल छन् । आफूपछि पोखरेललाई पार्टीको उत्तराधिकारी बनाउने ओलीको योजना छ । यसका लागि ईश्वर पोखरेल, बिष्णु पौडेल र सुबास नेम्वाङको ब्यबस्थापनबारे ओलीले सोचिसकेका छन् । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाको अध्यक्ष जस्ता पदहरुमा ओलीले शंकरलाई अध्यक्ष छाड्ने शर्तमा ब्यबस्थापन गर्न खोजिरहेका छन् । यो बेला माथि उल्लेखित ६ नेता पार्टीभित्र रहेमा ओलीको सबै सेटिङ भत्कने मात्र नभई नेत्रृत्व अरुकै हातमा पुग्ने सतप्रतिशत संभाबना छ ।
यि ६ नेता नभित्रिएमा माधब पक्षमा रहेका सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, भीम आचार्य, योगेश भट्टराईजस्ता नेताले ओली समूहमा आएर कुनै अप्ठयारो पार्न नसक्ने ओली समूहको आकलन छ । किनभने यि नेताहरुको अबस्था ओलीले जहाँ बस् भन्यो त्यही बस्नुपर्ने दयनीय हुनेछ । यिनीहरु नेत्तृत्वको दाबी गर्न सक्ने अबस्थामा रहने त परै जावस, केन्द्रिय कमिटीमा पर्न पनि ओली समूहको निगाह चाहिने छ । फाइदा यति मात्र नभई यसो भएमा एमालेमा सानो समूह मात्र चोइटिने र त्यसले पार्टीलाई ठूलो नोक्सानीबाट बचाउने छ भन्ने ओलीको निस्कर्ष छ ।