२०८३ साउन ९ शनिबार

यो साता ५० अर्बभन्दा बढीको कारोबार : कुल बजार पूँजीकरण ३९ खर्बमाथि

ई आर्थिक    शनिबार, जेष्ठ १५ २०७८
6.3K
Shares
यो साता ५० अर्बभन्दा बढीको कारोबार : कुल बजार पूँजीकरण ३९ खर्बमाथि

काठमाडौं । यो साता चार ओटा कारोबार दिनमा रू. ५० अर्ब ७७ करोड २५ लाख ७ हजार बराबरको शेयर कारोबार भएको छ । गत साता पाँच कारोबार दिनमा यो रकम रू. ५२ अर्ब ६० करोड २९ लाख १९ हजार थियो । गत साताको भन्दा यो साता एक दिन कम कारोबार भएकाले कारोबार रकम घटेको हो ।

यो साता गत साताभन्दा रू. १ अर्ब ८३ करोड ४ लाख १२ हजार कम रकमको कारोबार भएको हो । यो साता नै बजारले ऐतिहासिक कारोबार रकमको रेकर्ड राखेको छ । साताको अन्तिम कारोबार दिन बिहीवार हालसम्मकै सर्वाधिक रकमको कारोबार भएको हो । यो दिन रू. १४ खर्ब ७६ अर्ब ८७ करोड २१ लाख बराबरको शेयर कारोार भएको हो ।

उक्त दिन कारोबार रकमसँगै कारोबार कित्ताले पनि ऐतिहासिक रेकर्ड कायम गरेको थियो । बिहीवार ४ करोड १८ लाख १३ हजार ९४४ कित्ता शेयर कारोबार भएको हो । यस अघिको उच्च रकमको कारोबार जेठ १० गते र उच्च कित्ता शेयर कारोबार २०७६ साल वैशाख ४ गते भएको थियो ।

यसअघि उच्च रकमको कारोबार भएको दिन जेठ १३ गते रू. १३ अर्ब १७ करोड ५३ लाख ५३ हजार बराबरको २ करोड ७१ लाख ४० हजार २०२ कित्ता शेयर कारोबार भएको थियो । उक्त दिनको ऐतिहासिक रेकर्डलाई बिहीवारको बजारले फेरी ब्रेक गरेको हो ।

यस अघिको उच्च कित्ता शेयर कारोबार भएको दिन २०७६ साल वैशाख ४ गते २ करोड ८० लाख १६ हजार ३१३ कित्ता शेयर कारोबार भएको थियो । उक्त दिन नेप्से परिसूचक १ हजार २१७ दशमलव शून्य ४ विन्दुमा थियो भने रू. ८२ करोड १६ लाख ९८ हजार बराबरको शेयर कारोबार भएको थियो ।

यो साता कारोबार रकम गत साताभन्दा कम भएपनि कारोबार कित्ता भने बढेको छ । गत साता १० करोड ८७ लाख ७१ हजार ८८९ कित्ता शेयर कारोबार भएकोमा यो साता ११ करोड ७५ लाख ८३ हजार ४८१ कित्ता शेयर कारोबार भएको हो । यो साता ८८ लाख ११ हजार ५९२ कित्ता बढी शेयर कारोबार भएको हो ।

यो साता बजार २ हजार ८२३ दशमलव शून्य ६ विन्दुसम्म पुगेको थियो । साताको दोस्रो कारोबार दिन सोमवार नेप्से परिसूचक ३ दशमलव शून्य ७ अंक बढेर उक्त विन्दुमा पुगेको थियो । चौंथो कारोबार दिन बुद्ध जयन्तिको सार्वजनिक विदाका कारण बन्द भएको बजार पाँचौ दिन १ दशमलव २० अंक घटेर २ हजार ८१५ दशमलव ३९ अंकमा बन्द भएको छ ।

गत साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक २ हजार ७८७ दशमलव १८ विन्दुमा थियो । चार कारोबार दिनमा दुई दिन घटेको बजार यो साता गत साताभन्दा २८ दशमलव २१ विन्दु माथि पुगेको छ । साताको पहिलो कारोबार दिन बजार ३२ दशमलव ८१ अंकले बढेको थियो भने तेस्रो कारोबार दिन ६ दशमलव ५० अंकले घटेको थियो ।

यो साताको कारोबारमा निर्जीवन बीमा समूहका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् भने लघुवित्त समूहका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । गत साताको अन्तिम कारोबार दिन १४ हजार १८१ दशमलव २३ विन्दुमा रहेको निर्जीवन बीमा समूहको परिसूचक यो साता १४ हजार ७६१ दशमलव ५५ विन्दुमा पुगेको छ । सातामा ५८० दशमलव ३२ अंकले निर्जीवन बीमा समूहको परिसूचक बढेको हो ।

त्यस्तै, गत साता ५ हजार ६५० दशमलव ५१ विन्दुमा रहेको लघुवित्त समूहको परिसूचक यो साता ५ हजार ४३५ दशमलव शून्य ५ विन्दुमा झरेको छ । सातामा २१५ दशमलव ४६ अंकले लघुवित्त समूहको परिसूचक ओरालो लागेको हो । साताको चार कारोबार दिनमा एक दिन मात्र लघुवित्त समूहको परिसूचक बढेको छ भने बाँकी दिन घटेको छ ।

नेपाल राष्ट्र बैंकले मंगलवार जारी गरेको निर्देशनमा बैंक तथा वित्तीय संस्थाहरुलाई लघुवित्त कम्पनीको शेयरमा लगानी गर्न रोक लगाएसँगै यो समूहको शेयरमा विक्री चाप बढेको हो । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई लघुवित्त कम्पनीको शेयर खरीदमा रोक लगाउँदै २०७८ जेठ १० गतेसम्म खरीद गरेको लघुवित्तको शेयर आगामी पुस मसान्तभित्र विक्री गरिसक्न भनेको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई विपन्न वर्ग कर्जामा गणना गर्ने प्रयोजनका लागि वाहेक लघुवित्त कम्पनीको शेयरमा लगानी गर्न रोक लगाएको हो । तर, उक्त निर्देशनको प्रभाव अहिलेनै बजारमा पर्नुले लगानीकर्ताहरु आत्तिएको संज्ञा जानकारहरुले दिएका छन् ।

बैंक तथा वित्तीय संस्थाहरुले खरीद गरेको लघुवित्त कम्पनीहरुको शेयर विक्री गर्नका लागि पनि अझै आठ महीना बाँकी रहेकाले अहिलेनै प्यानिक सेल आवश्यक नभएको विश्लेषण जानकारहरुले गरेका छन् । यस्ता कम्पनीहरुको लघुवित्त कम्पनीहरुमा लगानी करीब रू. ३ अर्बको हाराहारीमा रहेकाले हाल करीब रू. १५ अर्बको कारोबार भएको बजारमा यसले खासै प्रभाव नपार्ने विश्वास पनि जानकारहरुको छ ।

निरन्तर गति लिईरहेको बजारमा ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि यो साता ४ दशमलव ७३ अंक बढेर ५०३ दशमलव ७० विन्दुमा पुगेको छ । हाल नेपालको शेयर बजारको आकार अर्थात कुल बजार पूँजीकरण रकम रू. ३९ खर्ब ६ अर्ब ७६ करोड ८० लाख ४ हजार पुगेको छ । यो साता कुल बजार पूँजीकरण रू. ३९ अर्ब १५ करोड १० लाख ८६ हजार वृद्धि भएको समाचार आजको आर्थिक अभियानले लेखेको छ ।

गत साता र यो साता तुलनात्मक रुपमा बजारका सूचकहरु :

                                                                    स्रोतः नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij