लमजुङमै केन्द्रविन्दु भएर दोस्रो पटक गएको उक्त भुकम्पका धक्काहरूको महशुस काठमाडौंसम्म गरिएको थियो
ई–आर्थिक, लमजुङ : लमजुङ केन्द्रविन्दु बनाएर आज बुधबार बिहान गएको भूकम्प शक्तिशाली मानिएको छ । बिहान ५ बजेर ४२ मिनेटमा गएको ५ दशमलव ८ रेक्टर स्केलको उक्त भूकम्पमा केही घरहरू भत्किनुका साथै केही स्थानीय घाइते भएका छन् । लमजुङको मर्स्याङ्दी गाउँपालिकाको भुलभुले क्षेत्रलाई केन्द्रविन्दु बनाएर उक्त भुकम्प गएको थियो ।
भूकम्पको केन्द्रविन्दु भएको मर्स्याङ्दी गाउँपालिकाका धेरै घरहरूमा क्षति पुगेको र दर्जनौं स्थानीय घाइते भएपनि थप क्षतिको एकिन विवरण आउन सकेको छैन । भूकम्पपछि ठूलो धक्का महशुस गरिएपछि मानिसहरूबीच भागाभाग भएको थियो ।
घर भत्किँदा बेंसीसहर नगरपालिका–६ चनौटेकी ३६ वर्षीया उमा गुरुङ र बेंसीसहर–११ रामचोकबेंसीकी ८७ वर्षीया खोपकुमारी पाण्डे घाइते भएको जानकारी दिए । बढी घाईती दुवै जनाको जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको बुझिएको छ ।
त्यस्तै स्थानीयका अनुसार मर्स्याङ्दी गाउँपालिका–६ ठूलीबेंसीमा २२ वर्षीय गोविन्द अधिकारी घाइते भएका छन् । भागाभाग मच्चिदा सामान्य घाइते भएका दर्जनौं भएको बुझिएको छ ।
सोही ठाउँमा फेरि पनि ५.३ रेक्टर स्केलको भुकम्प गएको छ । दोस्रो पटक पनि भुइचालो जाँदा स्थानीयहरु त्रसित छन् । त्रासले कतिपय त घर बाहिरै बसिरहेका छन् ।