ई–आर्थिक, काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल–झलनाथ खनाल समूहले संयुक्त राजीनामा दिने निष्कर्षमा पुगेका छन् । सिंहदरवारमा आइतबार साँझसम्म भएको सो समूहको छलफलले सँयुक्त राजीनामा दिने निष्कर्षमा पुगेका हुन् । सोमबार प्रतिनिधिसभाको बैठक बस्नुअघि राजीनामा बुझाउने निर्णय भएको छलफलमा सहभागी एक सांसदले जानकारी दिए ।
यसअघि नै राजीनामा दिनका लागि १९ जनाले राजीनामा पत्र वरिष्ठ नेता नेपाललाई बुझाइसकेका थिए । तर, अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग अन्तिम समयसम्म पनि विवाद समाधानका लागि पहल गर्ने निर्णय अनुसार आइतबार दिनभर ओली समूहसँग छलफल भएको थियो । तर, ती छलफलपछि अध्यक्ष तथा प्रधानमन्त्री ओलीले एक वक्तव्य जारी गर्दै माधव नेपालको नाम नलिएरै सो समूहले हानिकारक काम गरेको टिप्पणी गरेपछि आइतबार भएका वार्ताहरु असफल भएको स्पष्ट भएको थियो ।
विष्णु पौडेल र सुवास नेम्वाङसँग सिंहदवारसँग छलफल गरेपछि नेता नेपालले आफू निकट नेताहरुको भेला सिंहदरवार परिसरमै गरेका थिए। सो भेलाले सामूहिक राजीनामा दिने निर्णय गरेको थियो । माधव समूहको यो निर्णयसँगै अब एमाले सिंगो नरहने स्पष्ट भएको छ । त्यसैगरी प्रधानमन्त्री ओलीले संसदमा राखेको अविश्वासको प्रस्ताव पनि असफल हुने देखिएको छ ।
भेलामा भएको छलफलको निष्कर्ष सुनाउँदै आफूहरुले पार्टी अध्यक्ष ओलीलाई भोली सोमवारसम्मको अन्तिम समयसीमा दिइएको एमाले नेता योगेश भट्टराईले बताए । सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिंदै उनले आइतबार अध्यक्ष तथा ओलीले जारी गरेको वत्तव्यप्रति दुःख व्यक्त गरेको जनाए। नेता भट्टराईले सोमबार ९ बजेसम्म अध्यक्षको ध्यानाकर्षकण गराउने समय दिएको बताए ।
बेलुकी सिंहदरबारमा बसेको झलनाथ खनाल-माधव नेपाल समूहका सांसदहरुको बैठकले २०७५ जेठ २ अनुसार पार्टी फर्काउने र आगामी दिनमा पार्टी सहमतिमा चलाउने प्रतिबद्धताका लागि अध्यक्ष जिम्मा ओलीलाई दिएको भट्टराईको भनाई छ ।
सो समयसम्म कुनै पहल नभए साढे ९ बजे सबै सांसदहरु संसद सचिवलायमा जम्मा हुने र कुनै पनि कठोर निर्णय लिन सक्ने उनले बताए ।