२०८३ साउन ९ शनिबार

मेलम्चीको पानी आज काठमाडौं उपत्यकामा झर्दै, दुई दशक लामो प्रतिक्षाको अन्त्य हुने

ई आर्थिक    शनिबार, फाल्गुन २२ २०७७
5.3K
Shares
मेलम्चीको पानी आज काठमाडौं उपत्यकामा झर्दै, दुई दशक लामो प्रतिक्षाको अन्त्य हुने

ई–आर्थिक, काठमाडौं । मेलम्चीको पानी आज शनिबार काठमाडौं उपत्यकामा झर्दैछ । आज शनिवार बेलुकासम्म मेलम्चीको पानी सुन्दरीजलमा झर्ने मेलम्ची खानेपानी आयोजनाले जानकारी दिएको छ । दुई दशकभन्दा लामो प्रतीक्षापछि उपत्यकावासीले यो खुसीको खबर सुन्न पाएका हुन ।

मेलम्चीको पानी सुन्दरीजल झर्ने निश्चित भएपछि साँझ ५ बजे प्रधानमन्त्री केपी शर्मा ओली अवलोकनमा निस्कने कार्यक्रम तय भएको आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले जानकारी दिए । सुन्दरीजल पुगेर प्रधानमन्त्री ओलीले मेलम्ची पानी झरेको दृश्य हेर्ने उनको भनाई छ ।

गएको असारमा पहिलो पटक असफल भएपछि गत फागुन १० गते दोस्रो पल्ट मेलम्ची पानी पथान्तरण थालिएको थियो । शनिबार सुन्दरीजल झर्ने पानी सो रातभर वाग्मती नदीमा बगाइने आयोजनाले जानकारी दिएको छ । आयोजनाले वाग्मती आसपासका बासिन्दालाई पानीको सतह बढ्न सक्ने भन्दै यसअघि नै सचेत गराइसकेको छ ।

शुक्रबार साँझसम्म मुहानस्थल हेलम्बु, अम्बाथानबाट सुरुङमार्गमा पठाएको पानीले १९ किलोमिटर पार गरिसकेको कार्यकारी निर्देशक खत्रीले जानकारी दिए । मेलम्ची खानेपानीको सुरुङमार्ग साढे २६ किलोमिटर लामो छ । अम्बाथानबाट अघि बढेको पानी सिन्धु अडिटमार्गसम्म ओह्रालो झर्छ । त्यसपछि एक किमि उकालो चढेर फेरि ओह्रालो हुँदै सुन्दरीजल पुग्छ ।

‘सबैभन्दा होचो सुरुङ अम्बाथान–सुन्दरीजलमा पानीको सतह १० मिटर जमेको छ,’ खत्रीले भने ।

उपत्यकावासीले एक सातापछिदेखि नै मेलम्ची पानी उपभोग गर्न पाउने भएपनि विभिन्न प्रक्रियाहरु पु¥याएर अघि बढ्दा सबै उपभोक्ताको धारामा भने पानी आइपुग्न अझै एक वर्षसम्म लाग्न सक्छ

शनिबार रातभरि वाग्मतीमा झर्ने पानी बुधबार बिहानै गेट बन्द गरेर मुहानस्थलतिरै फर्काउने आयोजनाले जनाएको छ । सुन्दरीजलको गेट बन्द गरेपछि सुरुङ भरिन तीन–चार दिन लाग्ने खत्रीले जनाए । उनका अनुसार सुरुङ भरिएपछि पुनः खाली गर्ने आयोजनाको तयारी थियो। तर उपत्यकावासीले मेलम्चीको पानी खान व्यग्र प्रतीक्षा गरिरहेकाले सुरुङ भरिएपछि सीधै प्रशोधन केन्द्रमा खसाल्ने नयाँ कार्यतालिका तय गरिएको छ । त्यहाँ १७ करोड लिटर पानी क्षमताका दुईटा प्रशोधन केन्द्र रहेका छन् ।

आयोजनाको छोटो बाटोअनुसार सुन्दरीजल आसपासका उपभोक्ताले आगामी एक सातापछि नै मेलम्ची पानी उपभोग गर्न पाउने आयोजनाको दाबी छ ।

झन्डै १५–१६ दिन लाग्ने अनुमानसहित मेलम्ची पानी सुरुङमा प्रवेश गराएर परीक्षण थालिएको थियो । सो समयभित्रै मेलम्ची पानी सुन्दरीजल झर्ने देखिएको हो । उपत्यकावासीले एक सातापछिदेखि नै मेलम्ची पानी उपभोग गर्न पाउने भएपनि विभिन्न प्रक्रियाहरु पु¥याएर अघि बढ्दा सबै उपभोक्ताको धारामा भने पानी आइपुग्न अझै एक वर्षसम्म लाग्न सक्छ ।

मेलम्ची दक्षिण एसियामकै पहिलो सुरुङमार्ग खानेपानी आयोजना हो । २०५६ देखि मेलम्ची आयोजना सुरु गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij