ई–आर्थिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोग पुगेका छन् । प्रधानमन्त्री ओली आयोगमा पार्टीको तर्फबाट नभई सरकारको तर्फबाट त्यहाँ पुगेको बताइएको छ । यद्यपी ओलीले आयोगमा नेकपा र चुनाब चिन्हमा आफ्नो आधिकारिकता दाबी गर्ने बुझिएको छ ।
यही माघ १६ गते आयोगले नेकपा विवाद र निर्वाचनको तयारीका विषयमा छलफल गर्न नेकपाका दुवै पक्षलाई बोलाएको थियो । दुबै पक्षले नेकपा पार्टी र सूर्य चिन्ह आफ्नो भएको दाबी गर्दै आएको छ ।
गत पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै आगामी बैशाख १७ र २७ गते निर्वाचन मिति घोषणा गरेकी थिइन् ।
प्रधानमन्त्रीले ओली कुन–कुन प्रदेशमा दुई चरणमा निर्वाचनका गर्ने भन्ने बारेमा आयोगसँग कुराकानी गरेका थिए । प्रधानमन्त्री ओलीले आयोगले गरेको निर्वाचनको सम्पूर्ण तयारीका लागि सरकारका तर्फबाट धन्यवाद दिएको बताइएको छ ।
सो छलफलका क्रममा निर्वाचनका अवधिमा अवश्यक सुरक्षा, निर्वाचनका लागि चाहिने वजेट लगायतका विषयमा छलफल भएको र त्यसका लागि सरकारले आवश्यक सहयोग गर्ने जानकारी दिइएको छ ।
प्रधानमन्त्रीका साथमा उपप्रधानमन्त्री इश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल र पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ पनि सँगै निर्वाचन आयोग पुगेका छन् ।