ई–आर्थिक, काठमाडौँ । भारत सरकारले नेपाल सरकारलाई अनुदानस्वरुप उपलब्ध गराएको १० लाख मात्राको कोरोनाविरुद्धको खोप औपचारिक रुपमा हस्तान्तरण गरेको छ । भारतका राजदूत विनयमोहन क्वात्राले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालका प्रधानमन्त्री निवासमा आयोजित एक सङ्क्षिप्त कार्यक्रममा उक्त खोप हस्तान्तरण गरेका हुन् ।
उक्त कार्यक्रममा प्रधानमन्त्री ओलीले उदारतापूर्वक नेपाललाई अनुदानमा खोप प्रदान गरेकामा आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदी, भारत सरकार र त्यहाँका जनताप्रति हार्दिक आभार व्यक्त गरे । ‘आफ्नै नागरिकलाई खोप लगाउनुपरेको सङ्कटपूर्ण घडीमा दश लाख मात्रा खोप उपलब्ध गराएकोमा कृतज्ञता ज्ञापन गर्दछु’, उहाँले भन्नुभयो ।
निकटको छिमेकीका नाताले आफ्नो मुलुकले सकेको सहयोग गर्न पाएकामा सन्तुष्टि जनाउँदै नेपाललाई स्वास्थ्यलगायत अन्य क्षेत्रमा हरसम्भव सहायता उपलब्ध गराउन भारत सरकार प्रतिबद्ध रहेको राजदूत क्वात्राले बताए ।