२०८३ साउन ९ शनिबार

नेपाल उद्योग बाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षका दुबै उम्मेद्वारद्वारा जित्ने दाबी

ई आर्थिक    बुधबार, मंसिर १० २०७७
22.6K
Shares
नेपाल उद्योग बाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षका दुबै उम्मेद्वारद्वारा जित्ने दाबी

नेपाल उद्योग वाणिज्य महासङ्घको ५४औँ साधारण सभा र निर्वाचन यही मङ्सिर ११, १२ र १३ गते हुँदैछ । यो निर्वाचनमा भावि अध्यक्षका लागि बरिष्ठ उपाध्यक्ष पदमा चन्द्रप्रसाद ढकाल र किशोर प्रधानले उम्मेद्वारी दिएका छन् । नजिकिदै गएको निर्वाचनको तयारी र चुनाबी एजेन्डाको बारेमा गोरखापत्र दैनिकले दुबै उम्मेद्वारसँग कुराकानी गरेको थियो । दुबै जनाको उक्त अन्तर्वार्तालाई साभार गरी प्रकाशित गरिएको छ । यो निर्वाचनमा दुबैले जित्ने दाबी गरेको छ ।

भिजन २०२५ को अवधारणामा अगाडि बढेका छौँ

2020-11-24-27017

गत चैतमा नै हुनुपर्ने नेपाल उद्योग वाणिज्य महासङ्घको ५४औँ साधारण सभा र निर्वाचन यही मङ्सिर ११, १२ र १३ गते हुँदै छ । निजी क्षेत्रको छाता सङ्गठन महासङ्घको नेतृत्व विधानतः शेखर गोल्छाले गर्दै हुनुहुन्छ भने त्यसपछिको नेतृत्व वरिष्ठ उपाध्यक्षको चयन यस निर्वाचनको मुख्य आकर्षण हो । त्यही नेतृत्वका लागि हाल महासङ्घको उपाध्यक्षमै रहनुभएका व्यवसायी चन्द्रप्रसाद ढकाल र किशोर प्रधान आआफ्ना प्यानलसहित वरिष्ठ उपाध्यक्षमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । यसै सन्दर्भमा महासङ्घको निर्वाचनमा प्यानलको तयारी र एजेन्डालगायतका विषयमा वरिष्ठ उपाध्यक्षका दुवै उम्मेदवारसँग गोरखापत्रले अर्थवार्ता गरेको छ । प्रस्तुत छ गोरखापत्रका पत्रकार गोपालचन्द्र सुवेदीले चन्द्र ढकालसँग गर्नुभएको वार्ताको सम्पादित अंश । अर्का उम्मेदवार किशोर प्रधानसँगको वार्ता बुधवारको अङ्कमा प्रकाशन गरिने छ ।

चुनावको तयारी कहाँ पुगेको छ ?
हाम्रो टिम निर्माणले नै धेरै कुराको सङ्केत गरिसकेको छ । महासङ्घलाई अहिलेको अवस्थामा कस्तो नेतृत्व चाहिन्छ र त्यसको प्रतिनिधित्व कसले गर्नसक्छ भन्ने देशभरका आमव्यवसायी साथीको सल्लाह सुझावअनुसार हामीले परिपक्व, जुझारु एवं भविष्यका चुनौतीको सामना गर्नसक्ने व्यावसायिक रूपमा समावेशी टिम निर्माण गरेका छौँ । आसन्न निर्वाचनपछि शेखर गोल्छाजीको नेतृत्वमा रहने महासङ्घलाई सफल बनाउने र त्यसलगत्तै भिजन २०२५ को अवधारणामा रहेर काम गर्ने योजनासहित हामी अगाडि बढेका छौँ ।

तपाईंको प्रतिस्पर्धी समूहको चुनावी रणनीतिलाई कसरी हेर्नुभएको छ ?
मैलेभन्दा पनि आमव्यवसायी मित्रहरूले यसलाई कसरी लिइरहेका छन् भन्ने प्रश्न महŒवपूर्ण छ । महासङ्घका केही पदाधिकारीले पदीय मर्यादा बिर्सेर समग्र निजी क्षेत्रकै आत्मसम्मानमा चोट पु¥याउने काम गर्नुभएको आमव्यवसायी साथीहरूले मलाई भनिरहनुभएको छ । भोलि महासङ्घको अध्यक्ष हुने व्यक्तिले पदको मर्यादा राख्ने कि नराख्ने भन्ने चिन्ता मलाई छ । निवर्तमान अध्यक्ष पनि महासङ्घको बहालवाला पदाधिकारी भएकाले पदीय मर्यादा बिर्सनु हुँदैन । उहाँहरूका कारण महासङ्घकै शिर निहुरिनु नपरोस् भन्ने मेरो चिन्ता छ ।

शेखर गोल्छा विधानतः अध्यक्ष बन्ने निश्चित छ । तपाईं वरिष्ठ उपाध्यक्ष निर्वाचत हुनुभयो भने काम गर्न कत्तिको सहज होला ?
स्वाभाविक रूपमा नेपाल उद्योग वाणिज्य महासङ्घको आगामी कार्यकालका लागि अध्यक्षका रूपमा शेखर गोल्छाले हाम्रो टिमको नेतृत्व गर्नुहुने छ । मैले मेरो घोषणा सभामा भनेको पनि थिएँ, उहाँको नेतृत्वमा हाम्रो एउटा व्यावसायिक र गतिशील टिम बन्नेछ । यो टिम उद्योग वाणिज्यको क्षेत्रमा, सरकारसँग पोलिसी डाइलगको क्षेत्रमा, सरोकारवाला र साझेदारसँग साझेदारी गर्ने सवालमा एक र एक जोडेर दुई होइन, एक र एक जोडेर ११ बन्नेछ । निजी क्षेत्रको उन्नयनबिना समृद्धि सम्भव छैन भन्ने मेरो मान्यता छ । यस्तो बेला निजी क्षेत्र फुटेर नभई जुटेर मात्र सबैको भलो हुन्छ भन्नेमा म सधैँ अडिगसमेत भएकाले मलाई कुनै
समस्या पर्दैन ।

त्यसो भए तपाईंहरूबीचको मनमुटाव किन ?
यो प्रश्न त शेखरजीसँगै सोध्नु उचित होला । अध्यक्षमा प्रत्यक्ष निर्वाचन हुनुपर्छ भन्ने मत बलियो हुँदा यसो गर्नु उचित हुँदैन । शेखरजीलाई महासङ्घले अध्यक्षका लागि चुनिसक्यो भनेर मैले नै उहाँलाई काँध थापेको थिएँ । अध्यक्षको प्रत्यक्ष निर्वाचन हुने भए स्वाभाविक रूपमा मेरो पनि दाबी रहन्थ्यो होला तर मैले गोल्छाजीमाथि त्यस्तो अन्याय हुन दिइनँ । यद्यपि म उहाँलाई एउटा प्रश्न के सोध्न चाहन्छु भने हामीले वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने प्रस्ताव किन पारित गरेका थियौँ ? त्यसको मर्मलाई अहिले कसले मार्दै छ ? त्यो केका लागि ? मेरो मात्र नभई आमव्यवसायी साथीको यी प्रश्नको जवाफ उहाँले दिनैपर्छ । यद्यपि अब म यो अवस्थामा पुराना कुरा धेरै कोट्याउन चाहन्नँ, हामीले निर्वाचनपछि एउटा सन्देश दिनुछ । कठिन अवस्थामा रहेको महासङ्घलाई एक ढिक्का बनाउन हो, यो सन्देश निजी क्षेत्रमा बल सिर्जना गर्न हो । यो सन्देश हामीभित्र विश्वास जगाउन हो ।

सहमतिको सम्भावना अझै छ ?
सम्भावनालाई अस्वीकार गर्न त सकिँदैन तर क्षीण देखेको छु । यसका लागि धेरै ढिलो भइसक्यो । निर्वाचनको परिणाम मोटामोटी आकलन भइसकेको अवस्थामा सहमतिका लागि मेरै टिमका साथीहरू अब तयार छैनन् । यद्यपि म कहिल्यै पनि सहमतिको विपक्षमा छैन तर सहमतिको प्रयास किन र केका लागि अथवा कसले र कुन समयमा ग¥यो भन्ने कुराको अन्तर्य बुझ्नु आवश्यक हुन्छ । म आफैँ उम्मेदवार भएकाले सहमति गरौँ भन्नुको अर्थ अर्को पक्षलाई छाड भन्ने बुझिने भएकाले त्यसमा अगुवाइ गर्न सकिनँ । अब ढिलो भइसक्यो ।

आफ्नो जितप्रति कत्तिको विश्वस्त हुनुहुन्छ ?
म र हाम्रो टिम सुदूरपश्चिमको धनगढीदेखि पूर्वको भेडेटारसम्म चुनावी कार्यक्रममा सहभागी भएर काठमाडौँ फर्किएका छौँ । यसबीच हामीले अधिकांश जिल्ला तथा नगर उद्योग वाणिज्य सङ्घका साथीहरू तथा स्थानीय व्यवसायी साथीसँग भेटघाट तथा छलफलबाट म वरिष्ठ उपाध्यक्षको उम्मेदवार बनेकामा उहाँहरू निकै उत्साहित पाएँ मैले । त्यसैले निर्वाचनमा म र हाम्रो टिम विजयी हुने निश्चित छ । त्यसका तीनवटा प्रमुख आधार पनि छन् ः पहिलो वरिष्ठ उपाध्यक्षमा दिइएको मेरो उम्मेदवारीमा सानादेखि ठूला उद्योगी, व्यवसायी एवं पेसागत लगानीकर्ताले महसुस गरेको अपनत्व । मैले महासङ्घको नेतृत्व तहमा रहेर विगतमा खेलेको भूमिका तथा मेरो व्यक्तिगत व्यवहारका कारण अधिकांश उद्योगी–व्यवसायीले त्यस्तो महसुस गर्नुभएको मैले बुझेको छु ।
त्यस्तै हाम्रो व्यावसायिक नेटवर्क नेपालका सबै जिल्ला, नगर तथा टोलसम्म पुगेको छ । रेमिट्यान्स, बैङ्क, इन्स्योरेन्स, मोटर्सलगायत धेरै क्षेत्रमार्फत जिल्लाका व्यवसायी साथीसँग हामी जोडिएका छौँ । मेरो यही व्यावसायिक नेटवर्ककै माध्यमबाट अहिले मेरो सबै जिल्ला तथा नगर उद्योग वाणिज्य सङ्घका साथीहरू, एसोसिएट तथा वस्तुगतका सबै क्षेत्रका व्यवसायी साथीसँग निकै राम्रो अवस्था छ र अर्को महŒवपूर्ण आधार भनेको हाम्रो व्यावसायिक समावेशी टिम हो ।

तपाईंका एजेन्डाहरू केके हुन् ?
हामीले मूलतः एफएनसीसीआई भिजन २०२५ अन्तर्गत रहेर काम गर्नेछौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको पुनर्संरचनादेखि महासङ्घलाई निजी क्षेत्रको थिङ्कट्याङ्कमा रूपान्तरण गर्ने र वास्तविक सङ्घीय नेतृत्वदायी सङ्गठन (एपेक्स बडी) निर्माण गर्ने योजना हाम्रो प्राथमिकतामा छन् । यस्तै जिल्ला, नगर र प्रदेश महासङ्घको आर्थिक सबलीकरण, बलियो राज्य–निजी क्षेत्र साझेदारी, एमएसएमईका लागि संरचनागत व्यवस्था हाम्रा योजना र एजेन्डा हुन् । हामी सङ्कटमा परेका उद्योग–व्यवसायका लागि उद्धारको पहल गर्नेछौँ भने लगानी आकर्षण, प्रोत्साहन र सहजीकरण तथा स्वच्छ व्यवसायको प्रवद्र्धन र सेवामा आधारित ज्ञान अर्थतन्त्रको प्रवद्र्धनमा पनि जोड दिनेछौँ । औद्योगिक शान्ति र रोजगारदाता–श्रमिक सम्बन्धको सुढृदीकरण, निर्यात प्रवद्र्धनका लागि विदेशी समकक्षीसँग साझेदारी, आर्थिक कूटनीति विस्तार, गैरभन्सार अवरोध हटाउने, आर्थिक गणना र एकीकृत तथ्याङ्कमा केन्द्रित हुने, परियोजना धितोमा लगानीको नीतिगत व्यवस्थामा जोड दिने, कर विवादको निरूपणलगायत महासङ्घले गर्नुपर्ने धेरै काम हामी नेतृत्वमा पुगेपछि गर्नेछौँ ।

सम्पूर्ण व्यवसायीको हितमा काम गर्नेछौँ

2020-11-25-27078

गत चैतमा नै हुनुपर्ने नेपाल उद्योग वाणिज्य महासङ्घको ५४औँ साधारण सभा र निर्वाचन यही मङ्सिर ११, १२ र १३ गते हुँदै छ । निजी क्षेत्रको छाता सङ्गठन महासङ्घको नेतृत्व विधानतः शेखर गोल्छाले गर्दै हुनुहुन्छ भने त्यसपछिको नेतृत्व वरिष्ठ उपाध्यक्षको चयन यस निर्वाचनको मुख्य आकर्षण हो । त्यही नेतृत्वका लागि हाल महासङ्घको उपाध्यक्षमै रहनुभएका व्यवसायी चन्द्रप्रसाद ढकाल र किशोर प्रधान आआफ्ना प्यानलसहित वरिष्ठ उपाध्यक्षमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । यसै सन्दर्भमा महासङ्घको निर्वाचनमा प्यानलको तयारी र एजेन्डालगायतका विषयमा किशोर प्रधानसँग गोरखापत्रका पत्रकार गोपालचन्द्र सुवेदीले गर्नुभएको अर्थवार्ता यहाँ प्रस्तुत गरिएको छ :

निर्वाचनको तयारी कस्तो छ ?
निर्वाचनको प्रक्रियामा म एउटा समूह निर्माण गरेर हिँडेको छु । यो समूहले भविष्यमा मिलेर काम गर्नेछ । यो समूहलाई सबैको साथ छ । यो सशक्त समूहले देशको अर्थतन्त्रको निर्माणमा ठूलो सहयोग गर्ने इच्छा राखेको छ । व्यवसायीको हित जहाँ हुन्छ त्यहाँ काम गर्ने हाम्रो लक्ष्य छ । व्यवसायीको हित रक्षा गर्ने कर्तव्य सम्झेर हामी समूहबद्ध भएर आएका हौँ । यहीका लक्ष्यसाथ हाम्रो तयारी सहज रूपमा अघि बढेको छ ।

निर्वाचनका लागि तपाईले निर्धारण गरेका एजेन्डा के के हुन् त ?
समूहमा रहँदाका एजेन्डामा मूल कुरा भावी अध्यक्षले निर्धारण गरेका एजेन्डा कार्यान्वयन गर्नु पनि रहन्छ । दुई/तीन वर्षका लागि अब नयाँ अध्यक्ष बन्न लाग्नुभएका शेखर गोल्छाज्यूको एजेन्डा कार्यान्वयन गर्ने नै हाम्रो पनि एजेन्डा हो । हामी उहाँकै एजेन्डामा जाने हो । उहाँले १० वर्षे, १५ वर्षे योजना बनाउनुभएको छ । त्यसैमा हाम्रा एजेन्डालाई समाहित गरेर संयोजन गरेर जाने हो ।
मेरा एजेन्डाका कुरा गर्दा मैले १५/१६ वटा सोच बनाएको छु । कृषि क्षेत्रलाई पहिलो आधार बनाएको छु । यसको उद्यमशीलता विकास गर्नुपर्ने हुन्छ । नेपाल उद्योग वाणिज्य महासङ्घको सङ्गठन र सचिवालयकोे सुदृढीकरण अर्को योजना छ । अहिले व्यवसायीको मानमर्यादा खस्किएको छ । जुन मानमर्यादा हामीले पाउनुपर्ने हो त्यो पाएका छैनौँ । त्यो हासिल गर्न कुनै पनि हदसम्म सरकारसँग लबिङ गर्नेछौँ । उद्योगी–व्यवसायीको प्रतिष्ठा बढाउनैपर्छ । अर्को कुरा पछिल्लो समय निर्यात व्यवसाय खस्केको छ त्यसको अवस्था सुधार गर्नलाई हामी सक्रियता बढाउन पहल गर्नेछौँ । यस्ता व्यवसायीको समस्या सम्बोधन गर्नुपर्ने छ । बैङ्क करलगायतका विषय पनि छन्, त्यसमा सम्पूर्ण साना, मझौला व्यवसायीको हितमा काम गर्नेगरी हामीले सोच बनाएका छौँ ।

आफ्नो विजयप्रति कति आश्वस्त हुनुहुन्छ ?
मेरो विजयप्रति म पूरै आश्वस्त छु । त्यही भएर नै निर्वाचनमा लड्न लागेको हुँ । जित्छु भन्ने पहिलो र सबैभन्दा ठूलो आधार मेरो संलग्नताको हो । म यो क्षेत्रमा २७/२८ वर्ष काम गरिसकेको छु । अहिलेसम्म कर्तव्यनिष्ठ भएर लागेको मान्छे हुँ म । मेरो इमानदारीलाई सबैले स्वीकार्नुहुन्छ भन्ने लाग्छ । इमानदारीको आधार बलियो पनि छ ।
त्यसभन्दा बढी पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका सम्पूर्ण उद्यमी–व्यवसायी साथीहरू मेरा आधार हुन् । मैले सबैको माया पाइरहेको छु, निर्वाचनमा पनि पाउने छु । अझ अर्को आधार भनेको महासङ्घका पूर्वअध्यक्षहरूको आशीर्वाद पनि छ मलाई । वर्तमान र हुनेवाला अध्यक्षले पनि सहयोग गरिरहनुभएको छ । यो पनि ठूलो आधार छ । जित्ने आधार मेरा प्रशस्त छन् ।

भावी अध्यक्षले पनि सहयोग गर्नुभएको छ भन्नुभयो । यसो गर्दा विधानको मर्ममा असर पार्दैन ?
विधानमा कहीँ पनि त्यस्तो गर्न पाइँदैन भनिएको छैन । केहीले यसलाई गलत भनेको सुनिन्छ तर उहाँहरूले आफूले गरेको यही काम ठीक अरूले गरेको फेरि बेठीक भनेजस्तो गर्नुभएको छ । पहिले आफूले त्यस्तै गर्ने अनि अहिले हामीले यसो गर्दा बेठीक भन्ने कुरा हुँदैन । यो ठूलो कुरा होइन, विगतमा यस्तो हुँदा ठीक हुने अहिले हाम्रो पालमा बेठीक भन्नु मूर्खता होजस्तो लाग्छ ।

यो चुनावमा पनि व्यवसायीबीच चरम राजनीति देखियो नि, कस्तो लाग्छ ?
हो, यो बढेको छ । त्यो राम्रो होइन । यो कुराको सुरुवात हामीले गरेनौँ । निर्वाचित अध्यक्षले आफ्नो पदाधिकारी छान्न त पाउनुपर्छ । यसलाई राजनीति नै भन्न मिल्दैन । यो निर्वाचित अध्यक्षले आफूले भविष्यमा काम गर्ने पदाधिकारी छान्न पाउने कुरा हो । राजनीतीकरण बढेको छ तर त्यो हाम्रा कारणले होइन । महासङ्घमा केही व्यक्तिका कारण राजनीतीकरण बढेको छ । महासङ्घमा एक खाले प्रदूषण बढेको छ । त्यही प्रदूषण हटाउनका लागि महासङ्घका भावी अध्यक्ष गोल्छाज्यूले प्रयास गर्नुभएको छ । र हामी पनि त्यसका लागि समूह बनाएर लागेका छौँ । यो टिमले कहीँ पनि राजनीतिक कुरा नगर्ने भनेका छौँ । हामी स्वाधीन रूपमा काम गर्ने हो । नेपाल उद्योग वाणिज्य महासङ्घ भनेको नेपाल सरकारको सधैँजसो प्रतिपक्षका रूपमा काम गर्नुपर्ने हुन्छ । त्यसका लागि हामी सक्रिय हुनुपर्छ, चनाखो हुनुपर्छ ।

सहमतिको सम्भावना कत्तिको रहेको छ ?
मैले सहमति हुनुहुँदैन भनेको छैन । सहमतिको सम्भावना त सधैँ रहिरहन्छ । सहमतिको वातावरणले व्यवसायीको एकीकृत स्वरूप पनि देखाउँछ । कुनै पनि बेला हुनसक्छ । समय आएर वातावरण बनेमा राम्रै छ । केही पूर्वअध्यक्षज्यूले पहल पनि गरिरहनुभएको छ । उहाँहरूले निश्चित मापदण्ड बनाउनुहुन्छ होला । त्यस्तो मापदण्ड बनाएर हामीलाई बोलाउनुहुन्छ होला । छलफल होला, सम्भावना अझै छन् । वातावरण बन्यो भने राम्रै होला ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij