ई–आर्थिक, काठमाडौं । सत्तारुढ दल नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा राष्ट्रिय युवा संघ, नेपालको भेला भइरहेको छ । नयाँ बानेश्वको एक रेष्टुरेन्टमा भएको उक्त भेलामा पूर्बएमालेका ओली निकट युवा नेताहरुको मात्र उपस्थिति रहेको छ ।
ओली समूहको पनि ‘कोर’ नेताहरु मात्र भेलामा उपस्थित रहेको स्रोतले जानकारी दिएको छ । भेलाको नेत्तृत्व उक्त संगठनका सहसंयोजक रमेश पौडेलले गरिरहेका छन् । पौडेल पार्टी एकताअघि युवा संघ नेपालका अध्यक्ष थिए । युवा संघ नेपाल तत्कालीन नेकपा एमालेको भात्तृ संगठन हो । पार्टी एकतापछि युवा संघ र वाईसीएलको एकता भई राष्ट्रिय युवा संघ बनेको थियो भने यो संगठन साबिक माओबादीको भागमा परेको थियो । अहिले यो संगठनको अध्यक्ष दिप शिखा छन् । उनी साबिक वाईसीएलको अध्यक्ष थिए । साबिक युवा संघका अध्यक्ष पौडेल सहसंयोजक छन् ।
दिप शिखा कार्यकारी अध्यक्ष प्रचण्डका भित्रिया हुन भने पौडेल प्रधानमन्त्री ओलीका किचेन क्याबिनेटका एक सदस्य हुन् । आज बिहान प्रधानमन्त्री ओली र पौडेलबिच कुराकानी भएपछि भेलाको आयोजना गरिएको स्रोतको भनाई छ । उपत्यकामा उपलब्ध ‘कोर’ नेताहरुलाई उपस्थित गराई पार्टीभित्रको पछिल्लो बिकसित घटनाक्रम र आवश्यक रणनीति तय गर्न पौडेललाई प्रधानमन्त्री तथा अध्यक्ष ओलीले निर्देशन दिएपछि भेला गरिएको हो ।
बिभाजनको डिलमा पुगेको पार्टी कुनै पनि बेला फुटे देशभरका युवा संघका नेता, कार्यकर्ताहरुलाई आफ्नै समूहमा राख्न र पार्टी कार्यालयहरु कब्जा गर्ने सम्बन्धमा भेलाले आवश्यक रणनीति तय गर्ने बताइएको छ । भेलाले पार्टी सचिबालयमा कार्यकारी अध्यक्ष प्रचण्डले पेश गरेको प्रतिबेदनको देशभर भण्डाफोर गर्ने सम्बन्धमा पनि आवश्यक छलफल गर्ने बताइएको छ । उक्त प्रतिबेदनलाई ओली समूहले संगीन आरोपको पुलिन्दाको रुपमा लिएको छ । यही बिषय युवा तथा बिद्यार्थी कार्यकर्ताबिच देशब्यापी बनाउने ओलीको तयारी छ । यसको मू्ल आसय पार्टी फुटिहाले प्रचण्डलाई कारक देखाउनु रहेको छ ।
ओली समूह पार्टीभित्र निकै प्रभाबकारीढंगले गुटबन्दी गर्न सक्ने समूह हो । यो समूहले पार्टीका हरेक कमिटि र जनबर्गीय संगठनहरुमा कम्तीमा तीन घेराको समूह बनाउने गर्छ । पहिलो घेरामा ‘कोर’ ब्यक्ति मात्र रहने गर्छन । यो नीति, कार्यक्रम निर्माण गर्ने तह हो । यो तहमा निर्माण गरिएको नीतिलाई प्रभाबकारी कार्यान्वयनका लागि दोस्रो तहसम्म छलफलमा लगिन्छ र अन्तिममा तेस्रो तहमा लगेर ब्यापक कार्यान्वन गरिन्छ । यही अन्तर्गत आज युवा संघको भेला भएको हो । भेलामा सहसंयोजक पौडेल, प्रभातबिक्रम कटुवाल, बचन सिंह, रोशन बस्नेत, उर्मिला सुनुवारलगायतका संघका प्रभाबशाली नेताहरुको उपस्थिति रहेको छ । अब अरु जनबर्गीय संगठनहरुमा पनि ‘कोर’ समूहको भेला क्रमिकरुपमा हुने स्रोतले जानकारी दिएको छ ।