२०८३ साउन ९ शनिबार

हिमाली जिल्लाहरुमा यो बर्ष चाँडै हिउँ पर्न थाल्यो, तापक्रम माइनस आठसम्म पुग्यो

ई आर्थिक    मंगलबार, मंसिर २ २०७७
11.2K
Shares
हिमाली जिल्लाहरुमा यो बर्ष चाँडै हिउँ पर्न थाल्यो, तापक्रम माइनस आठसम्म पुग्यो

ई–आर्थिक, काठमाडौं । हिमाली जिल्लाहरुमा धमाधम हिउँ पर्न थालेको छ । मनाङको बस्तीसम्म हिउँ पर्न थालेको स्थानीयहरुले बताएका छन् ।

दिउँसोदेखि निरन्तर हिउँ परेसँगै मनाङमा ह्वात्तै चिसो बढेको छ । मनाङको माथिल्लो क्षेत्रमा बढी र तल्लो क्षेत्रमा केही मात्रामा हिउँ परेको मनाङका स्थानीय राज गुरूङले जानकारी दिए ।

मनाङमा पहिलो पटक ठूलो मात्रामा हिउँ परेको र चिसो बढ्न थालेको उनले बताए । ‘गाउँघरमा बस्तीमै हिउँ परेको छ । डाँडाकाँडा हिउँले ढाकिएको छ । चिसो बढ्दैछ’ उनले भने, ‘हिउँ बढेसँगै चिसोले जनजीवन प्रभावित हुन थालेको छ ।’

मनाङको माथिल्लो क्षेत्रमा बढी मात्रामा हिउँ परेको स्थानीयले बताएका छन् । मनाङ ङिस्याङ गाउँपालिका, नार्पाभूमि गाउँपालिकाका गाउँबस्तीमा भने धेरै मात्रामा हिउँ परेको छ । मनाङ ङिस्याङ गाउँपालिकामा पर्ने हुम्डे, मनाङ, ङावल, घ्यारुलगायतका ठाउँमा हिउँ परेको गुरूङले बताए । स्थानीयका अनुसार माथिल्लो क्षेत्रको थोराङलापास, बेसक्याम्प, याकखर्च, तिलिचो क्षेत्रमा हिमपात भइरहेको छ ।

अहिले दुई हजार ८०० मिटरदेखि माथिका क्षेत्रमा हिउँ परिरहेको हो । उहाँका अनुसार माथिल्लो क्षेत्रका केही बस्तीमा करिव दुई फिटसम्म हिउँ जमेको छ । हिउँ पर्न थालेपछि चिसो बढेको र मनाङको तापक्रम माइनस ८ डिग्री सेल्सियससम्म छ ।

यसअघि मनाङमा कात्तिक १७÷१८ गतेतिर तीन हजार मिटरको उचाईसम्म केही मात्रामा हिउँ परेको थियो । अहिले हिउँ तलसम्म पर्न थालेको हो । गतबर्षभन्दा यसबर्ष छिट्टै हिउँ परेको उहाँले बताउनुभयो । गतबर्ष भने मंसिर २७ गतेबाट हिउँ पर्न थालेको थियो । चामेको नजिकनजिक हिउँ पर्न थालेको स्थानीयहरुले जानकारी दिएका छन् । हिउँ माथिबाट तलतल पर्दै आएको छ । चिसो बढेको छ । अहिले बादल लागेकाले वरपरको दृष्यलाई नियाल्न मुस्किल हुन थालेको छ ।

त्यसैगरी सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रमा हिमपात भएको छ । हिमपात भएसँगै उक्त क्षेत्रमा एकाएक चिसो बढेको छ । आइतबार राति र सोमबार दिउँसो खप्तड क्षेत्रमा हिमपात भएको हो । दुईपटक परेको हिउँले राति र बिहानको समयमा खप्तडलगायत अन्य आसपासका क्षेत्रमा ह्वात्तै चिसो बढेको स्थानीयको भनाई छ । हिउँले खप्तडमा डाँडाकाँडा रमणीय भएका छन् । त्यहाँ हिउँ करिब आधा फिट जति परेको छ ।

खप्तडलगायतका क्षेत्रमा कम्तीमा पनि आधा फिट हिउँ परेपछि त्यहाँ चिसो पनि बढेको छ । हिमपातका कारण खप्तड क्षेत्रको दृश्य निकै मनोरम भएका कारण यहाँ घुम्न आउने पर्यटकका लागि निकै रमाइलो भएको पर्यटन व्यवसायीहरुले बताएका छन् ।

आउँदो पुस १५ गतेसम्म पर्ने हिउँ खासै नजम्ने तथा असर पनि नगर्ने भएका कारण खप्तड घुम्न आएका पर्यटकलाई हिमपातले कुनै समस्या नपार्ने पर्यटन व्यवसायीको भनाई छ ।

कोरोना सङ्क्रमणका कारण घुमफिर तथा जताततै हिँडडुलमा स्थानीय प्रशासानले रोक लगाए पनि खप्तड क्षेत्रमा भने निर्वाधरूपमा आन्तरिक तथा जिल्ला बाहिरका पर्यटक अवलोकनका लागि आउन थालेको स्थानीय राजन घलेले बताए ।

गएको वैशाखदेखि कात्तिकसम्म खप्तड क्षेत्रमा चार हजारभन्दा बढी पर्यटकले आवलोकन भ्रमण गरिसकेका छन् ।

हिमपातका कारण खप्तड आसपासको तापक्रम माइनस पाँच डिग्री पुगेको छ । खप्तडमा हिमपात भएसँगै उक्त क्षेत्रका कुडासैन, झिग्राना, भल्मा, बग्लेक, गोलादेउलगायतका क्षेत्रमा अत्यधिक चिसो बढेको छ ।

यसैबीच हुम्लामा दुई दिन लगातार हिमपात हुँदा चिसो ह्वात्तै बढेको छ । यो वर्ष जिल्लामा दोस्रोपटक हिमपात भएको छ । यसअघि कात्तिक १८ गते हिमपात भएको थियो ।

जिल्लामा आइतबार र सोमबार दुई दिन लगातार हिमपात हुँदा चिसो बढेको स्थानीयहरुले जानकारी दिए । बिहानै तापक्रम माइनस सात डिग्री पुगेको छ । उत्तरी हुम्ला हिमपातले सेताम्मे भएको छ । हिमपातपछि तापक्रम माइनसममा झरेसँगै सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिकामा अत्यधिक चिसो बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij