ई–आर्थिक, काठमाडौं । विदेशी च्यानललाई विज्ञापन हटाउन यही कात्तिक ७ गतेको समय सीमा तोकिएको छ । सरकारले आगामी ७ कार्तिकसम्म विदेशी च्यानल क्लिन फिड (विज्ञापनमुक्त) हुनैपर्ने बताएको छ । ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६’ अनुसार विदेशी टेलिभिजन च्यानललाई कार्तिक ७ गतेसम्म क्लिन फिड भइसक्नु व्यवस्था गरेको छ ।
सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले एक सूचना जारी गर्दै भारतीय ब्राडकाष्टर्स फोरम, डिस्कभरी नेटवर्क्स, बीबीसी न्युज, नेपाल केबल टेलिभिजन महासंघ जस्ता संघसंस्थाबाट क्लिन फिड प्रसारणको म्याद थप्न माग गरिएको ध्यानाकर्षण भएको जानकारी दिएको छ ।
मन्त्रालयले ऐनको मर्म र भावना अनुरुप नै क्लिफिडसहितको च्यानल प्रसारण गर्न ती च्यानलहरुलाई आग्रह गरेको छ । त्यसो नभएमा कानून बमोजिम हुने मन्त्रालयले प्रष्ट पारेको छ ।
मन्त्रालयको यो भनाई अनुसार कात्तिक ७ गतेपछि नेपालमा प्रसारण हुने विदेशी च्यानलमा विज्ञापन बजाउन पाउने छैन् । सरकारको प्रावधानलाई अटेर गरे अटेर गरी सञ्चालन हुने त्यस्ता च्यानल बन्द गरिने भएको हो ।
तोकिएको अवधिभित्रै क्लिन फिड लागू गर्ने मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले विदेशी च्यानलमा क्लिन फिड भए÷नभएको अनुगमन गर्न सूचना तथा प्रसारण विभागमा प्राविधिक संयन्त्रको विकास पनि गरिसकेको छ ।
२०७५ कात्तिक ८ गते राजपत्रमा प्रकाशित ऐनले क्लिन फिडमा जान सेवा प्रदायकहरूलाई एक वर्ष समय दिएको थियो । ऐन प्रारम्भ हुँदाको बखतमा विदेशी च्यानलसँग डाउनलिङ्क गरी प्रसारण गर्न सम्झौता गरिसकेका संस्थाहरूले यस ऐन प्रारम्भ भएको एक वर्षभत्र विज्ञापनरहित प्रसारण गर्नुपर्ने राजपत्रमा उल्लेख छ ।
ऐनमै व्यवस्था भएकाले माग भए बमोजिम क्लिन फिड लागू हुने समयसीमा सार्न सकिने अवस्था नभएको मन्त्रालयले स्पष्ट पारेको छ ।