काठमाडौं । चीनमा पछिल्लो समय चिनीरहित चियामा बाह्य रूपमा प्रयोग गरिने कब्जियतको औषधि (ग्लिसरीन एनीमा) मिसाएर पिउने अनौठो स्लिमिङ ट्रेन्ड सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको छ। दुई दिनमै चार किलोसम्म तौल घट्ने दाबी गरिए पनि यो अभ्यासका कारण धेरै मानिस बिरामी परेर अस्पताल पुगेपछि चिकित्सकहरूले यसलाई तत्काल रोक्न आग्रह गरेका छन्।
साउथ चाइना मर्निङ पोस्टका अनुसार केही सामाजिक सञ्जाल इन्फ्लुएन्सरहरूले चिनीरहित चियामा ग्लिसरीन एनीमा मिसाएर पिउने भिडियो सार्वजनिक गर्दै यसबाट छिटो तौल घटेको दाबी गरेका थिए। उनीहरूको प्रभावमा परेर धेरै प्रयोगकर्ताले पनि सोही विधि अपनाए, जसले स्वास्थ्यमा गम्भीर असर निम्त्याएको छ।
मा थरकी एक चिनियाँ महिलाले आफूले पनि उक्त मिश्रण सेवन गरेपछि केही समयमै गम्भीर स्वास्थ्य समस्या भोग्नुपरेको अनुभव साझा गरेकी छन्। उनका अनुसार सुरुमा स्वाद सामान्य लागे पनि करिब आधा घण्टापछि पेटमा असहजता सुरु भयो। मनतातो पानी पिएर राहत खोजे पनि अवस्था झन् बिग्रँदै गयो र केही घण्टामै बारम्बार पखाला तथा बान्ता हुन थाल्यो।
‘म लगभग हरेक घण्टामा शौचालय जान बाध्य भएँ। रातभरि एकछिन पनि राम्रोसँग सुत्न सकिनँ,’ उनले बताइन्।
मध्य हेनान प्रान्तस्थित एक प्रमुख अस्पतालले जुलाईको सुरुमै सामाजिक सञ्जालमार्फत यस्तो विधि अपनाएर गम्भीर बिरामी भएका धेरै आपतकालीन बिरामी उपचारका लागि आएको जनाएको थियो।
अस्पतालका चिकित्सकहरूका अनुसार चिनीरहित चियामा पाइने थियोफिलाइन, पोलिफेनोल र ट्यानिक एसिडजस्ता तत्वले संवेदनशील पेट भएका व्यक्तिमा कडा पखाला र पेट दुखाइ गराउन सक्छ। त्यसमाथि ग्लिसरीन एनीमा मिसाएर सेवन गर्दा पाचन प्रणालीमा दोहोरो असर पर्ने भएकाले अवस्था अझ गम्भीर बन्न सक्छ।
चिकित्सकहरूले ग्लिसरीन एनीमा केवल बाह्य प्रयोगका लागि बनाइएको औषधि भएकाले मुखबाट सेवन गर्नु पूर्ण रूपमा निषेध गरिएको स्पष्ट पारेका छन्। साथै, यसलाई चियासँग मिसाएर पिउँदा तौल घट्ने भन्ने दाबीलाई समर्थन गर्ने कुनै वैज्ञानिक प्रमाण नभएको पनि उनीहरूको भनाइ छ।
चोङकिङ महिला तथा बाल अस्पतालकी पोषणविद् सुन हैलानका अनुसार ग्लिसरीन एनीमा मुखबाट सेवन गर्दा शरीरमा इलेक्ट्रोलाइट असन्तुलन हुन सक्छ। यसले आन्द्राको भित्री तन्तुमा क्षति पुर्याएर पाचन प्रणालीमा दीर्घकालीन समस्या निम्त्याउन सक्ने उनले चेतावनी दिइन्।
उनले तौल घटेको जस्तो देखिए पनि त्यो शरीरको बोसो नभई पानी र दिसाको मात्रा घटेकाले हुने स्पष्ट पारिन्। शरीरमा पुनः पानीको मात्रा सामान्य भएपछि तौल पनि चाँडै पहिलेकै अवस्थामा फर्किने भएकाले यो विधि प्रभावकारी तौल घटाउने उपाय नभएको उनको भनाइ छ।
चीनमा सामाजिक सञ्जालबाट प्रेरित यस्ता जोखिमपूर्ण स्लिमिङ अभ्यासका घटना यसअघि पनि सार्वजनिक हुँदै आएका छन्। यसअघि झेजियाङ प्रान्तकी २५ वर्षीया एक महिलाले हप्तामा एक दिन मात्रै खाना खाने र बाँकी दिन उपवास बस्ने अभ्यास अपनाउँदा उनलाई ज्यानै जोखिममा पार्ने तीव्र प्यान्क्रियाटाइटिस भएको घटना पनि सार्वजनिक भएको थियो।