ई–आर्थिक, बारा । महेन्द्र राजमार्ग अन्तर्गत बाराको पथलैया निजगढ सडकमा बसले स्कुटरलाई ठक्कर दिँदा भएको दुर्घटनामा
तीनजनाको मृत्यु भएको छ । स्कुटरमा सवार एकै परिवारको तीनजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
सिन्धुलीबाट धनगढी तर्फजाँदै गरेको ना ४ ख ७२४४ नम्बरको बसले आइतबार साँझ पौने ५ बजे विपरित दिशाबाट आइरहेको २–०३–००४ प ४४४२ नम्बरको स्कुटीलाई जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–१ दुधौरा खोला नजिक ठक्कर दिँदा सो दुर्घघटना भएको थियो ।
सो दुर्घटनामा मृत्यु हुनेमा निजगढ नगरपालिका वडा नम्बर–१० लाल टोल बस्ने २६ बर्षीय तीर्थमान स्याङ्तान, निजकी श्रीमति २५ बर्षीय ज्योति स्याङ्तान र उनीहरुका दश महिने छोरा आहान स्याङ्तान भएको २ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया बाराले जानकारी दिएको छ ।
ठक्कर दिने बसका चालक फरार रहेका छन् भने दुर्घटना भएका सवारी साधन ईलाका प्रहरी कार्यालय सिमराको नियन्त्रणमा रहेको छ ।
दुर्घटनाको बारेमा विस्तृत अनुसन्धान भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।