ई–आर्थिक, काठमाडौं । नेपाललाई लोडसेडिङ मुक्त बनाउन र ठूलो घाटामा रहेको नेपाल विद्युत प्राधिकरणलाई राम्रो नाफामा लैजान सफल कुलमान घिसिङ बाहिरिए पछि प्राधिकरणमा विभिन्न ‘अनिष्ट’ सुरु हुन थालेको छ । प्राधिकरणबाट कुलमान भदौ २९ गते बाहिरिएसँगै उनलाई पुनर्नियुक्ति दिइनु पर्छ भनेर सडक आन्दोलन भइरहेको छ । तर यही समयमा प्राधिकरणले भने विभिन्न घटना र दुर्घटना हुन व्यहोर्नु परिरहेको छ ।
प्राप्त समाचार अनुसार विद्युत प्राधिकरणको गाडी बगाउँदा एकजनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन् । कपिलवस्तुमा बाढीले बुधबार जीप बगाउँदा एक जनाको मृत्यु भएको हो । वाणगङ्गा नगरपालिकाको कोइली खोलामा आएको बाढीले नेपाल विद्युत् प्राधिकरणको जीप बगाउँदा गुल्मी रेसुङ्गा– ९ उपल्लो तम्घासका सवारी चालक ३५ वर्षीय माधव पाण्डेको निधन भएको छ ।
वाणगङ्गा– ९ भलवाडमा विद्युत् मर्मत गरेर फर्किने क्रममा बा १ च १०८९ नम्बरको जीपलाई बुधबार बाढीले बगाएको प्रहरीले जानकारी दिएको छ । नेविप्रा जितपुर फ्युज सेवाका प्रमुख कृष्ण पौडेल र नाम नखुलेका एक जना बेपत्ता भएका छन् । जीपमा नेविप्राका चार कर्मचारी र सर्वसाधारण दुई जना सवार थिए ।
घटनास्थलमा अहिले सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीले खोजतलास जारी राखेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ । खोलामा पानीको बहाव भएको कारणले खोजतलास गर्न समस्या भएको बताइएको छ ।
त्यसैगरी हिजोमात्र काठमाडौंको टोखास्थित ग्राण्डी अस्पताल अगाडि भूमिगत गरिएको बिजुलीको तार पड्किएको थियो । तार पडकिएपछि सो आसपासमा विद्युत आपूर्ति बन्द भएर अन्धकारमय भएको थियो । जडिल अवस्थाको उक्त तार पड्किएर समस्या भएको ठाउँ पत्ता लगाउन प्राधिकरणको प्राविधिकहरुलाई हम्मे–हम्मे परेको थियो । सो समस्याले टोखासँगै लैनचौर, सामाखुसी, गोंगबु, सूर्यदर्शन हाइट, बालुवापाटी लगायतका क्षेत्रहरुमा हिजो रातीदेखि नै विद्युत आपूर्ति बन्द भएको थियो । तर ती क्षेत्रमा उपकरण फेरेर मर्मत गरेपछि राति नै विद्युत आपूर्ति सुचारु भएको थियो ।
प्राप्त समाचार अनुसार देशभरका विभिन्न स्थानमा बत्ति जान थालेको समाचार प्राप्त भएको छ । काठमाडौं बाहिर पनि बत्ति झ्याप्प झुप्प गइरहेको बुझिएको छ । हिजोमात्रै सुनसरीको इटहरी लगायतको क्षेत्रमा लामो समय बत्ति गएको त्यहाँका स्थानीयले जानकारी दिएका छन् ।
कुलमान बाहिरिएसँगै लगातार घट्न थालेको घटनालाई सर्वसाधारणले ‘अनिष्ट’ को रुपमा हेरेका छन् । सार्वधिक रूचाइएका सफल व्यक्ति भएकाले पनि उनलाई प्राधिकरणमा पुनर्नियुक्ती दिनुपर्छ भनेर गरेको सडक आन्दोलनमा दर्जन भन्दा बढी सर्वसाधारण समेत घाइते भइसकेका छन् ।