अर्थमन्त्री प्रधानमन्त्री आफैंले राख्ने र खतिवडाले अर्थमन्त्रीको भूमिकामा काम गर्ने !
ई–आर्थिक, काठमाडौं । निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई सरकारको विशेष आर्थिक सल्लाहकारको रुपमा प्रधानमन्त्रीको कार्यालयमा रहेर काम गर्ने गरी नियुक्ती गरिएको छ । हिजो बसेको मन्त्रिपरिषदको बैठकले डा. खतिवडालाई मन्त्री सरहको सुविधासहित सो पदमा नियुक्त गरेको हो ।
नेपाल सरकारका प्रबक्ता प्रदिप ज्ञवालीले आज पत्रकार सम्मेलनमार्फत डा. खतिवडालाई विशेष आर्थिक सल्लाहकारको रुपमा नियुक्त गरिएको जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले डा. खतिवडालाई अर्थमन्त्रीमा कायम राख्न चाहेको भएपनि पार्टीभित्रको आन्तरिक विवाद नमिलेका कारण राष्ट्रियसभा सदस्य हुँदै अर्थमन्त्री बनेका खतिवडाको कार्यकाल यही भदौ १९ गते सकिएको भदौं २० गते पदबाट राजिनामा दिएका थिए ।
समाचार स्रोतका अनुसार अर्थमन्त्री प्रधानमन्त्री आफैंले राख्ने र डा. युवराज खतिवडाले अर्थमन्त्रीकै भूमिकामा काम गर्ने छन् ।