ई–आर्थिक, काठमाडौं । ओली सरकारलाई आफ्नो मुठीभित्र कस्न सफल पश्चिमा शक्तिहरुले अर्थमन्त्रीमा युवराज खतिवडाकै निरन्तरताका लागि दबाब बढाउन थालेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले एक अन्तरबार्तामा खतिवडासहित संघीय मन्त्रीपरिषद पुनर्गठन गर्ने संकेत गरेपछि सोमबारदेखि उनीहरुले दबाब बढाएका हुन । खतिवडाको मन्त्री पदको ‘काउनडाउन’ सुरु भएपछि पश्चिमाहरुले अर्थमन्त्रीका सम्बन्धमा चासो राख्न थालेका थिए । यसरी दबाब बढाउनेहरुमा युरोपियन युनियन, बिश्व बैंक र अन्तराष्ट्रिय मुद्रा कोषजस्ता शक्ति रहेका छन् । यसका लागि उनीहरुले खतिवडालाई राष्ट्रियसभामा लैजानु पर्ने अडान लिएका छन् ।
नेपालको संबैधानिक ब्यबस्थाअनुसार दुबै सदनको सदस्य नभएको ब्यक्ति कार्यपालिकामा जान सक्दैन । यदि संसदको सदस्य नभएको ब्यक्ति मन्त्री नियुक्त भएमा ६ महिनाभित्रमा ऊ कुनै पनि सदनको सांसद भइसक्नुपर्छ । यो ब्यबस्थाअनुसार अर्थमन्त्री खतिवडा अब बढीमा ६ दिन मन्त्री हुन पाउँछन् । यसरी समय घर्किन थालेपछि पश्चिमा शक्तिहरुमा बेचैनी बढाएको उनीहरुको दौडधुपले देखाएको छ ।
पश्चिमाहरुले युवराज खतिवडा अर्थमन्त्री नभए नेपालसँग बिकास साझेदारीमा समस्या पर्ने बताएका छन् । यसले बिकास अनुदान र ऋण सहयोगमा ब्यापक कटौति आउन सक्ने उनीहरुको चेतावानी छ । यदि अर्थमन्त्री खतिवडा नै अर्थमन्त्रीमा निरन्तरता पाउने हो भने ऋण र अनुदान सहयोग अझ बढोत्तरी हुने पनि उनीहरुको भनाई छ । अर्थमन्त्री खतिवडाले दात्तृ निकायको भाबनाअनुसार मितब्ययी, पारदर्शी र लोकतान्त्रिक परिपार्टीले सहयोग रकम परिचालन गरेको हुदा उन्लाई मात्र बिश्वास गर्न सकिने उनीहरुको दाबी छ । यो बिषम परिस्थितिमा पश्चिमा दातृ निकायको सहयोगको नेपालले अपेक्षा गरेको छ भने युवराजको निरन्ताको बिकल्प नभएको उनीहरुको धारणा छ ।
खतिवडाको निरन्तरता चाहनुको पछाडिको कारण भने राजनीतिक रहेको नेपालका अर्थराजनीतिका बिज्ञहरुको भनाई छ । अर्थमन्त्री खतिवडा पश्चिमी आर्थिक बिचारको बलियो र बिश्वासिलो प्रबद्र्धक भएका कारण उनीहरुको यस्तो चलखेल भएको बिज्ञहरुको भनाई छ । पश्चिमाहरु कम्युनिष्ट बिचाराधाराका सबभन्दा ठूला शत्रु हुन । उनीहरु संसारभर कम्युनिष्ट बिचारको समाप्त गरी आफूहरुले अबलम्बन गरेर बिचारलाई लागू गराउन चाहन्छन् । उनीहरुको आर्थिक बिचार पुँजीबाद हो । संसारभर पुँजीबादी आर्थिक संरचना तयार गर्नु उनीहरुको अहिलेको मूल ध्येय छ । नेपालमा कम्युनिष्ट पार्टीको यस्तो आकर्षण र प्रभाब उनीहरुलाई टाउको दुखाईको बिषय बनेको छ । यसले सिंगो दक्षिण एसियाली मुलक प्रभाबित बन्ने खतरा उनीहरुले देखेका छन् । त्यसैले उनीहरु नेपालमा सबभन्दा बढी ध्यान केन्द्रित गरेको बिज्ञहरुको अनुभब छ ।
नेपालमा युवराज खतिवडा अर्थमन्त्री भएपछि आर्थिक नीति तथा कार्यक्रमहरु पुँजीबादी अबलम्बन गरेपछि पश्चिमाहरु अत्यन्त खुसी छन् । सत्तारुढ दल नेकपाको आर्थिक नीति तथा चुनाबी घोषणापत्र समाजबादी भए पनि अर्थमन्त्रीका कारण ती नीतिहरु यतिबेला अलपत्र परेका छन् । तीनओटा बजेटलाई हेर्ने हो भने नेपालमा कम्युनिष्ट पार्टीको सरकारको कुनै संकेत नै पाइदैन । यो कुरा कम्युनिष्ट नेता, कार्यकर्ताहरुले बुझेर बिरोध पनि गर्न थालेका छन् । तर प्रधानमन्त्री केपी ओली पश्चिमा शक्तिको मुठीमा रहेको हुदा उनीहरुको बिरोधले केही असर पुगेको छैन ।
अबको साढे दुई बर्ष युवराजलाई नै निरन्तरता दिने हो भने नेपालमा कम्युनिष्टको आर्थिक बिचाराधारा समाप्त हुने पश्चिमाहरुको बुझाई छ । नाम कम्युनिष्ट भए पनि नीति र कार्यक्रम नबउदारबादी भएपछि त्यसले केही फरक नपर्ने उनीहरुको ठम्याई छ । यति सजिलै नेपालबाट कम्युनिष्ट समाप्त गर्न सकिने हुदा उनीहरुको अहिलेको अर्जुनदृष्टि युवराजलाई अर्थमन्त्रीमा निरन्तरता दिनु रहेको छ ।
यता प्रधानमन्त्री ओलीले पनि पश्चिमा शक्तिहरुको बलियो साथ र सहयोगको अपेक्षा गरिरहेका छन् । नक्साको कारण भारतसँगको सम्बन्धमा तिक्तता आएको र एमसीसीका कारण चीनको बिश्वासले हस आएका कारण उनी जसरी भए पनि पश्चिमा शक्तिको शरण परेका छन् । पश्चिमा शक्तिको तथास्तु रहुनजेल भारत र चीन दुबै टाढा भए पनि केही फरक नपर्ने ओलीको बिश्वास देखिन्छ । पश्चिमा शक्तिलाई टाढा बनाउन नसक्ने ओलीको बाध्यताका कारण खतिवडा नै अर्थमन्त्रीमा निरन्तरता पाउन सक्ने जानकारहरु बताउँछन् । प्रधानमन्त्री ओलीलाई कम्युनिष्टको आदर्श, बिचार र चिन्तनभन्दा सत्ता सबैथोक भएकाले पश्चिमाको निर्देशन कार्यान्वयन हुन सक्ने उनीहरुको भनाई छ ।