ई–आर्थिक, बुटवल । प्युठानका एक कोरोना संक्रमितको मृत्यु भएको छ । प्यूठानको स्वर्गद्वारी नगरपालिका–७ सोत्रेका ६४ वर्षीय मानबहादुर गौतमको बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा शुक्रबार विहान ६ बजे मृत्यु भएको हो । गौतम भारतबाट रोजगारी गरेर फर्किएका थिए ।
भदौ १ गते अस्पतालमा भर्ना भएका उनको भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो । निमोनिया, मधुमेह र उच्च रक्तचापको समस्यासमेत रहेका गौतमलाई ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि बुटवल ल्याइएको थियो ।
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढेको छ । योसँगै कोरोना भाइरसको संक्रमणबाट मुलुकभर १२७ जनाको ज्यान गइसकेको छ ।