सल्यान, भदौ ४ गते । अविरल वर्षा पछि आएको पहिरोले छत्रेश्वरी गाउँपालिका १ चामीमा २ जना घाइते भएका छन् । गएराती आएको पहिरोमा परी ३० वर्षीया कमला केसी, उनका ८ वर्षीय छोरा समिर केसी घाइते भएका छन् ।
घाइते आमाको बागचौर नगरपालिका स्थित जनप्रिय पोलिक्लिनिकमा उपचार भइरहेको छ भने छोराको थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छत्रेश्वरी गाउँपालिका वडा न १ का वडा सदस्य प्रकाश हमालले जानकारी दिनुभयो । उहाका अनुसार पहिरोमा चामी गाउँका झन्डै एक दर्जन घर पहिरोको उच्च जोखिममा रहेका छन् । स्थानीय महोलाल खत्रीका दुई घर, बल बहादुर खत्रीका दुई घर, नविन केसी, त्रिभान खत्री, तुलसीराम डाँगीका घर पहिरोको जोखिममा रहेका छन् ।
पहिरोले ठुलो मात्रामा मकैबाली बगाएको छ भने घरभित्र रहेका अन्नबाली पुरिएको पिडित नविन केसीले वताउनुभयो ।
यस्तै वडा न २ मा पनि एक दर्जन घर जोखिममा परेका छन् । वडा न २का टिकाराम बस्नेतको घर भत्किएको वडा अध्यक्ष प्रेम खड्काले वताउनुभयो । उहाका अनुसार दहखोलाले टोप बहादुर डाँगी, कृति बहादुर बस्नेत, प्रेम केसी, लक्ष्मण केसी, अम्मरसिहं वि.क., टिकाराम खड्का लगायतको घर पहिरोको जोखिममा रहेको छ ।
यस्तै चामी गाउँसँगै जोडिएको रोल्पा गंगादेव गाउँपालिका ३का टिकाराम खत्री र करण खत्रीका चार घर पनि पहिरोको उच्च जोखिममा रहेका छन् । घटनास्थलमा इलाका प्रहरी कार्यालय दमौचार र प्रहरी चौकी पातिहाल्नको प्रहरी टोली पुगी उद्दार कार्यमा जुटेको छ । जोखिममा रहेका घरहरुको मानिस र सरसामान अन्यत्र स्थानन्तरण गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
वाफुँ खोला दोभान बजार डुवानमा
बागचौर नगरपालिका वडा न १२ बाँफुखोलाको दोभान बजार डुवानमा परेको छ । वडा सचिव पहलवहादुर वलीले ओखरेनी खोलामा बाढी दर्जनबढी पसलमा पानी पसेको वताउनुभयो । उहाका अनुसार पहिरोले ओखरेनीमा २ वटा घर भत्काएको छ । बाढी पहिरोले ८ वटा बाख्रा १ भैसी मरेका छन् ।
प्रमुख जिल्ला अधिकारी शिवराम पोख्ररेलले नेपाली सेना र नेपाल प्र्रहरीले दोभान वजारमा उद्धारको काम गरिरहेको जानकारी दिनुभयो । उहाका अनुसार घटना स्थल पुग्न समय धेरै लागेकाले उद्धार कार्य ढिला गरी सुरु भएको छ ।
फोटो क्याप्सन ः वागचौर नगरपालिका १२ वाफुखोला दोभान वजारमा खोला पसेको छ ।
-रासस