ई–आर्थिक, काठमाडौं । बुधबार निर्वाचन आयोगले नेकपा (एमाले) नामक दल दर्ता ग¥यो । उदाउँदो सूर्य चुनाब चिन्ह राखेर असार १२ उक्त दल दर्ताको निबेदन परेपछि ३२ औं दलका रुपमा आज आयोगले बैधानिकता दिलाएको हो । सबै प्रक्रिया पुरा गरेर निबेदन परेको हुदा नेकपा एमाले पार्टी दर्ता हुनु कुनै आश्चर्य भएन । तर आश्चर्य के देखियो भने यो दल दर्ताको गर्ने निर्बाचन आयोगले निर्णय गरेको खबर जब बाहिरियो, तब प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीको समूहमा खुसियाली छायो । देशभरिका ओली समूहको नीतिगत पहुँच राख्नेहरुले एकआपसमा बधाई साटासाट गरेको स्रोतले जानकारी दियो । ‘अर्को दल गठन हुदा ओली समूहका ‘कोर’ नेता, कार्यकर्ताले बधाई साटासाट गर्नुले निकै रहस्य बताउँछ ।’ स्रोत भन्छ ‘कतै ईशाराले नै यो दल दर्ता भएको त होइन ?’
यो दल दर्ताको लागि निबेदन परेलगत्तै नेकपाभित्र भाँडभैलो मच्चिएको थियो । नेकपाका अध्यक्ष प्रचण्डले त अर्का अध्यक्ष ओलीकै योजनामा यो दल दर्ता हुन लागेको भनेर गम्भीर प्रश्न उठाएका थिए । त्यतिबेला सत्तारुढ दलको स्थायी कमिटीको बैठक भइरहेको थियो । बैठकमा ओलीको चर्को आलोचना हुनु मात्र होइन, दुई तिहाई सदस्यले दुबै पदबाट राजीनामा गर्नु पर्ने माग गरेका थिए । यसको नेत्तृत्व प्रचण्ड र माधब नेपालले गरेका थिए ।
पार्टीभित्र यस्तो संकटको सामना गरिरहेको बेला अचानक नेकपा एमाले नामक दल दर्ताको लागि निबेदन परेको थियो । ओलीको किचेन क्याबिनेटका सदस्य तथा नेकपाका केन्द्रिय सदस्य महेश बस्नेतकै सक्रियतामा यो दल दर्ताको निबेदन परेपछि प्रचण्डले ओलीसँग बैठकमै जबाफ मागेका थिए । उत्तरमा ओलीले नेकपा माओबादी केन्द्र चाहि किन दर्ता भो नि भन्दै नेकपा एमालेको बचाउ गरेका थिए ।
नेकपाका केन्द्रीय सदस्य तथा साँसद महेश बस्नेतको घरमा नै यो दल दर्ताको सम्पूर्ण प्रक्रिया सम्पन्न भएको खुलासा भएपछि झनै शंका उपशंका जन्मिएको थियो । दल दर्तापछि ओली समूहमा छाएको खुसियालीले बोकेको अर्थ निकै कुटिल रहेको नेकपाकै एक स्थायी समिति सदस्य बताउँछन् । बस्नेतको शान्तिनगरस्थित नेपाल लायन्स क्लबसँगै जोडिएको सात आनामा बनेको अस्थायी घरमा उक्त सम्पूर्ण कार्य सम्पन्न भएको थियो । उक्त जग्गाको अस्थायी घर अहिले नेपाल महिला रेस्लिङ फाउण्डेशन सन्चालित छ ।
उक्त फाउण्डेशन साँसद बस्नेतको सम्पर्क कार्यालयका रुपमा प्रयोग हुदै आएको छ । फाउण्डेशनको अध्यक्ष भगवती खड्का हुन । उनी नवगठित नेकपा एमालेकी उपाध्यक्ष हुन । त्यस्तै फाउण्डेशनको महासचिबमा अस्मिता सुनार छिन् । उनी नेकपा एमालेको सचिब हुन । उपाध्यक्ष खड्का र सुनार महेश बस्नेतसँग घनिष्ट सम्बन्ध भएका कार्यकर्ता हुन । नवगठित नेकपा एमालेको अध्यक्षमा सन्ध्या तिवारी र महासचिव मनिषकुमार उपाध्याय रहेका छन् । दुबै पुर्ब नेकपा एमालेका कार्यकर्ता हुन ।