उपत्यकामा मात्रै १७२ नयाँ संक्रमित
ई–आर्थिक, काठमाडौं । नेपालमा आज आइतबार उल्लेख्य कोरोना संक्रमित थपिएका छन् । २४ घण्टामा ६४१ संक्रमितको संख्या बढेर मुलुकभर २६ हजार ६६० पुगेको छ । केही समय अघि घट्न थालेको संक्रमितको संख्या केही दिन देखि बढ्न थालेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ६४१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।
प्रवक्ता गौतमका अनुसार २४ घन्टामा १३४ जना डिस्चार्ज भएका छन् भने निको हुनेको संख्या १७ हजार ३२५ पुगेको छ । गएको २४ घन्टामा १२ हजार २४७ परीक्षण गरिएको पनि प्रवक्ता गौतमले जानकारी दिएका छन् ।
यसैबीच चौतर्फी कडाईका बीच उपत्यकामा पनि २४ घण्टामा उल्लेख्य संक्रमित बढेका छन् । प्रवक्ता डा. गौतमका अनुसार २४ घण्टामा काठमाडौँ उपत्यकामा थप नयाँ १७२ संक्रमित देखिएका छन् । जसमा काठमाडौँमा १२६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जना संक्रमित रहेका छन् ।