ई–आर्थिक, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरका पार्टी कार्यालयहरुमाथि निगरानी बढाउन निर्देशन दिन थालेको खुलासा भएको छ । जुनसुकै बेला पनि पार्टी बिभाजनको खतरा रहेको भन्दै ओलीले गोप्यरुपमा त्यस्तो निर्देशन दिन थालेका हुन । खासगरी युवा, बिद्यार्थी र मजदुर संगठनका अति बिश्वासिला नेताहरुलाई बालुवाटारमै बोलाएर यस्तो निर्देशन भएको स्रोतको भनाई छ ।
पार्टी बिभाजन भइहाले पार्टी कार्यालय र कागजात कब्जा गर्न यस्तो निर्देशन भएको हो । २४ सै घण्टा निश्चित ब्यक्तिहरुको सम्पर्कमा रहने र त्यहाँबाट सिग्नल हुनेबित्तिकै साम, दाम, दण्ड, भेद प्रयोग गरेर कार्यालयहरु कब्जा गर्नु भन्ने निर्देशन भएको बताइएको छ ।
गएको २१ गते प्रचण्ड–माधब समूहले भेला गरी पार्टीभित्रको बिबादको जड नै केपी ओलीको अहंकार र दम्भ भएकाले उनले सच्चिनुको बिकल्प छैन भन्ने धारणा सार्बजनिक गरेपछि ओलीले यसलाई दबाबको रुपमा लिएका छन् । ओली नसच्चिए जुनसुकै बेला अलोकप्रिय अबस्था आउन सक्ने प्रचण्ड–माधब समूहको निस्कर्ष छ । यसले ओलीलाई थप आहात पारेको छ ।
प्रचण्ड–माधबको यो अडानले ओलीमा कि कुनै पद छाड्नुपर्ने कि संगै नहिडौं भन्नु पर्ने अबस्थामा पु¥याएको छ । ओलीले अब कुनै पनि पद त्याग गर्दा प्रचण्ड–नेपाल समूह हाबी भएको राजनीतिक सन्देश जानेछ । यसले ओली समूह देशभर कमजोर हुदै जान सक्ने कुरातिर ओलीलाई सबभन्दा ठूलो चिन्ता लागेको देखिन्छ । त्यसैले उनी झुकेर आफ्नो समूहको भबिश्य बर्बाद पार्नेभन्दा फुटेर अर्कै पार्टीमा लगानी गर्ने सोच बनाउन थालेको बताइएको छ ।
बैठक सार्दै प्रचण्ड–माधब समूहलाई गलाउने, फकाउने र धम्क्याउने रणनीति अख्तियार गरेका ओलीले पछिल्लो समयमा यो रणनीति पनि असफल हुन थालेको महसुस भएको स्रोत बताउँछ । त्यसैले अध्यक्ष तथा प्रधानमन्त्री ओली र उनी निकट समूह बिस्तारै पार्टी बिभाजनको पक्षमा उभिन थालेको संकेत पनि घटनाक्रमले देखिन थालेको छ ।
कानुनीरुपमा प्रधानमन्त्रीको पद कसरी सुरक्षित हुन्छ भन्नेतिर ओलीनिटक एउटा समूह भरपुर गृहकार्यमा लागेको पनि स्रोतले जानकारी दिएको छ । सत्ता सुरक्षित हुने अबस्था देखिए एकलौटीरुपमा ओलीले बिभाजनको घोषणा गर्न सक्ने बताइन्छ । अब एक हुनुभन्दा बिभाजन भएर आ–आफ्नो बाटो लाग्नु नै श्रेयकर भएको ओलीले आफ्ना सहयोगीहरुलाई बताइसकेका छन् । सहयोगीहरुमा ईश्वर पोखरेल, बिष्णु रिमाल, खगराज अधिकारी, पृथ्वी सुब्बा गुरुङ, महेश बस्नेतहरु तत्कालै बिभाजन गर्नुपर्ने पक्षमा उभिएको स्रोतको दाबी छ ।
तर शंकर पोखरेल, प्रदिप ज्ञवाली, गोकुल बाँस्कोटा र कर्ण थापाहरु भने तत्काल बिभाजनको पक्षमा नरहेको बताइन्छ । उनीहरुको मत अहिले बिभाजन हुदा पूर्बएमालेलाई ठूलो क्षति हुने हुदा महाधिबेशनसम्म जानुपर्ने र जनताको बहुदलीय जनबादमाथि छलफल चलाएर पूर्बएमालेहरुलाई एक ठाउँमा ल्याउनु पर्नेमा जोड दिएको बताइएको छ । जबजमाथिको बहसले ओली र माधब समूहको ९९ प्रतिशत नेता कार्यकर्ता एक ठाउँमा उभिने र यसले पूर्बएमालेमा हुने क्षतिलाई ९५ प्रतिशतभन्दा बढीले कम गर्न सकिने शंकरहरुको सुझाब छ ।