रेडक्रसमा अनियमितता प्रसंग
ई–आर्थिक, काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको सञ्जीव थापा नेतृत्वको कार्यसमिति आर्थिक अनियमिततामा मुछिएको भन्दै सरकारले थापा नेतृत्वको कार्यसमितिलाई भंग गरिदिएको छ । मन्त्रिपरिषद बैठकले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको प्रस्तावमा थापा नेतृत्वको कार्यसमिति विघटन गरेको हो ।
रेडक्रसमा आर्थिक अनियमितताको प्रसंग आएपछि राष्ट्रिय योजना आयोगका सदस्य मीनबहादुर शाहीको संयोजक गठित भएको अध्ययन तथा अनुगमन समिति गठन गरिएको थियो । उक्त समितिले रेडक्रसमा अनियमितता भएको निष्कर्ष निकाल्दै उक्त कार्यसमिति विटघटन गर्न सिफारिस गरेपछि सरकारले रेडक्रसविरुद्ध यो कदम चालेको हो ।
सो समितिको प्रतिवेदनका आधारमा मन्त्रालयले २०७७ असार २४ गते रेडक्रसलाई स्पष्टिकरण सोधेको थियो । प्रतिवेदनमा उल्लेख भएअनुसारको विषयमा चित्तबुझ्दो जवाफ नपाएपछि मन्त्रालयले कार्यसमिति भङ्ग गर्ने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लगेको थियो ।
थापा रेडक्रसमा २०६४ सालदेखि निरन्तर अध्यक्ष रहदै आएका थिए ।
सरकारले रेडक्रसमा डा. नेत्रप्रसाद तिम्सिनाको अध्यक्षतामा तदर्थ समिति गठन गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।
आर्थिक अनियमितता, अपारदर्शिता र लोकतान्त्रिक मूल्य मान्यताविपरीत कार्य गरेकाले रेडक्रसको कार्यसमिति भङ्ग गर्नुपरेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जानकारी दिएको छ ।
तदर्थ समितिको उपाध्यक्षद्वयमा डा. विश्वकेशर मास्के र शर्मिला कार्की रहेका छन् भने महामन्त्रीमा पिताम्बर अर्याल, कोषाध्यक्षमा सीताराम कोइराला र उपकोषाध्यक्षमा होमप्रसाद पाठकलाई नियुक्त गरिएको छ । यस्तै, सदस्यहरूमा श्रीकृष्ण दाहाल, अरुण खनाल, तीर्थराज घिमिरे, लेखबहादुर हमाल, छेपाल दोर्जे लामा तामाङ, इन्द्रबहादुर गुरुङ, प्रताप विष्ट, कुमार थापा, बाबुराजा महर्जन, शम्भुप्रसाद पोखरेल रहेका छन् । त्यस्तै अन्य सदस्यहरूमा शिवकुमार थापा, अशोक श्रेष्ठ, बाबुराम भट्टराई, उद्धवराज भट्टराई, चन्द्रकला कार्की, प्रदीप घिमिरे, नागेन्द्रप्रसाद चौधरी, उमेश थापा, सुवोधकुमार सिंह, श्यामकाजी डोटेल, दीपेन्द्र ढकाल, खेमराज के.सी., लोकराज ढकाल, लोकदर्शन श्रेष्ठ, महेन्द्र श्रेष्ठ, जीवन राना र मोहन पोखरेल रहेका छन् ।