सिन्धुपाल्चोक बाढी वितण्डा
ई–आर्थिक, काठमाडौं । सिन्धुपाल्चोकको अरनिको राजमार्गको दुई बस्तीमा आएको बाढीले १६ घर बगाएको छ । अविरल बर्षासँगै उर्लिएको खहरे खोलाले घरसँगै कम्तीमा २३ जनालाई बेपत्ता बनाएको छ भने दुई जनाको शव भेटिएको छ ।
जिल्लाको बाह्रबिसे नगरपालिकाको जम्बू र भोटेकोशी गाउँपालिकाको बुकोटे बस्तीका घर खहरे खोलाले घर बगाएको हो । जम्बु बजारका १४ घर बगेको स्थानीय प्रहरीले जानकारी दिएको छ । उक्त बाढीले कम्तीमा पनि १९ जनालाई बेपत्ता बनाएको छ । दुई जनाको शबभने भेटिएको प्रहरीले जानकारी दिएको छ ।
बिहीवार गएराति १ बजेतिर उर्लिएको खहरे खोल्साले बस्ती बगाएको थियो । उक्त बस्तीसँगै सोही समयमा भोटेकोशीको बुलकुटे बस्तीका दुई घर समेत बगाएको छ ।
उक्त बस्तीमा पनि चार जना बेपत्ता भएका छन् । बाढी दुर्घटनामा परी दुई बालबालिका घाइते भएका छन् । उनीहरुलाई हेलिकप्टरुबाट उद्धार गरेर उपचारका लागि काठमाडौं ल्याइने भएको छ ।
बाढी र पहिरोले ठाउँठाउँमा राजमार्ग अवरुद्ध हुँदा उद्धार कार्यमा समस्या भएको र थप क्षतिको यकिन नभइसकेको प्रहरीले जानकारी दिएको छ । बाटो अबरुद्ध हुँदा राति नै घटना बारे जानकारी पाए पनि सुरक्षाकर्मी घटनास्थल सम्म जान सकेका थिएनन् ।
बिहानीपख भने हिडेरै सुरक्षाकर्मी घटनास्थलतर्फ गएका छन् ।