प्रस्तावित नेकपा एमालेका सचिव अस्मिता सुनार
प्रस्ताबित नेकपा एमालेको मार्गदर्शन सिद्धान्त पनि जबज भएको अनुमान गर्न सकिन्छ । जबज पूर्बएमालेको मार्गदर्शन सिद्धान्त हो । तत्कालीन एमालेले माओबादी केन्द्रसँग एकता गरेपछि जबज बेबारिसे बनेको छ ।
ई–आर्थिक, काठमाडौं । सत्तारुढ दल नेकपाको बैठक जारी रहेको चौथो दिन अर्थात १४ असारमा निर्बाचन आयोगमा नयाँ दल दर्ताको लागि एउटा समूह पुग्यो । संबैधानिक प्रक्रिया पुरा गरेर दल दर्ता गर्न पुग्नेहरुसँग आगोगका कर्मचारी तब भस्किए, जब प्रस्ताबित दलको नाम नेपाल कम्युनिस्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादी अर्थात नेकपा एमाले थियो ।
हेर्दा राजनीतिक बृतमा नचिनिएका नयाँ अनुहार थिए, निबेदकहरु । तर यो कतैबाट निर्देशित र नियोजित छ भन्ने बुझ्न आयोगका कर्मचारीलाई समय कुर्नु परेन । दुईओटा अबसर पारेर दल दर्ताको लागि निर्वाचन आयोगमा आवेदन परेको थियो । पहिलो थियो, मदन भण्डारीको जन्म जयन्तीको अबसर र दोस्रो थियो, दुई बर्षअघि मात्र एकीकरण भएको नेकपा बिभाजनको संघारमा पुगेको अबसर । यही कारण यो समाचार देशभरि बिजुलीसरि फैलियो । यसको झड्का नेकपाको स्थायी समितिको बैठकमा समेत देखियो । दोस्रो बरियताका अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष केपी ओलीसँग शंका गर्दै यो के हो ? भनेर प्रश्न गरे ।

महेश बस्नेतसँग प्रस्तावित नेकपा एमालेका उपाध्यक्ष भगवती खड्का
उपाध्यक्ष बामदेब गौतमले त ओलीको निर्देशनमै एमाले दल दर्ताको प्रक्रिया अघि बढेको आफूसँग प्रमाण नै रहेको बताए । यो ओलीकै योजनामा हो भनेर अहिले पनि जबर्जस्त सन्देश गएको छ । यसलाई बल पु¥याएको छ, यो दल दर्ताको लागि ओलीका किचेन क्याबिनेटका साँसद महेश बस्नेतको सक्रियता । साँसद बस्नेतकै गोजीका पात्रहरु पदाधिकारी रहेर पार्टी दर्ता हुनु स्याल कराउनु र बाख्रो हराउनु मात्र होइन ।
प्रस्ताबित नेकपा एमालेका पदाधिकारीको अनुहार हेरेरै अनुमान गर्न सकिन्छ कि दल दर्ताको निबेदनको पछाडि निकै ठूलो चलखेल छ भनेर । उक्त दलका प्रस्ताबित पदाधिकारीहरुसँग राजनीतिक अनुभब मात्र होइन, राजनीतिक चेतना पनि निकै कम रहेको देखिन्छ ।
किनभने उनीहरु कुनै पनि राजनीतिक दलमा आबद्ध छैनन् र सामान्य पूर्ब एमालेको मतदाता मात्र देखिन्छन् । पूर्बएमालेको मतदाता पनि साँसद बस्नेतकै निकटतामा बनेको सहजै अनुमान गर्न सकिन्छ । साँसद बस्नेतले नै उनीहरुलाई कतिपय राजनीतिक कार्यक्रममा सरिक गराउने गरेको स्रोतको दाबी छ ।
‘उनीहरु महेश बस्नेत जता लाग्यो, त्यतै लाग्ने ब्यक्ति हुन । सिद्धान्त, नीति, कार्यक्रम बुझेर होइन ।’ स्रोत भन्छ । पदाधिकारीमा रहेका महिलाहरु त ब्यसायिक खेलाडी हुन । उनीहरु महिला रेस्लिर हुन र त्यही क्षेत्रमा जमिरहेका छन् । उनीहरुलाई राजनीतिको कुनै चासो र सरोकार देखिदैन ।
साँसद बस्नेतले नै आफ्नो जग्गामा नेपाल महिला रेस्लिङ फाउण्डेशनको कार्यालय सन्चालनको चाँजोपाँजो मिलाइ दिएका हुन । उक्त फाउण्डेशनमा बस्नेतले सम्पर्क स्थान नै बनाएको स्रोत बताउँछ ।

महेश बस्नेतसँग प्रस्तावित नेकपा एमालेका सचिव जयराम राउत र अस्मिता सुनार
उनीहरुले पूर्बनेकपा एमालेसँग आफूहरुको केही न केही आस्था रहेको बताइसकेका छन् । यति मात्र होइन, उनीहरुले आफूहरुलाई मदन भण्डारी र उनले प्रतिपादन गरेको जनताको बहुदलीय जनबाद (जबज) का अनुयायी भएको बताएर चकित पनि पारेका छन् । त्यसैले भण्डारीको जन्मजयन्तीको अबसर पारेर पार्टी गठन गरेको दाबी गरेका छन् ।
यसको अर्थ उनीहरुको अर्थात प्रस्ताबित नेकपा एमालेको मार्गदर्शन सिद्धान्त पनि जबज भएको अनुमान गर्न सकिन्छ । जबज पूर्बएमालेको मार्गदर्शन सिद्धान्त हो । तत्कालीन एमालेले माओबादी केन्द्रसँग एकता गरेपछि जबज बेबारिसे बनेको छ । अब यसलाई नयाँ एमालेले बोक्ने भएको छ । प्रस्ताबित एमालेका प्रस्ताबित पदाधिकारीले जबजलाई कहाँ पु¥याउलान, त्यो भने हेर्न बाँकी छ ।