ई–आर्थिक, काठमाडौं । आज बुधबार पनि सेयर कारोबारमा सर्किट लागेको छ । तीनपटकको सर्किट पछि कारोबार ६ प्रतिशतले बढेर बजार बन्द भएको थियो ।
लकडाउन पछि सोमबारदेखि खुलेको बजार पहिलो दिन दोहोरो अंकले घटेको थियो । त्यसको भोलीपल्ट मंगलबार भने पोजिटिभ सर्किट लागेको थियो ।
आज बुधबार बजार खुलेको एक घण्टा २३ मिनेटमा सेयर कारोबार मापक नेप्से परिसूचक ७५ दशमलव ७७ अंकले बढेर एक हजार ३३६ दशमलव ५३ अंकमा पुगेको छ । कारोबार खुलेको पहिलो आधा घण्टा पनि नहुँदै चार प्रतिशतले बढेको थियो । त्यसपछि सर्किट ब्रेक लाग्यो ।
फेरि दोस्रो पटक ५ प्रतिशतले बढेपछि ४० मिनेट रोकिएको कारोबार ६ प्रतिशतले बढेपछि बुधबारका लागि कारोबार नै स्थगित गरिएको थियो ।
बुधबार सबै उपसमूहहरूमा हरियाली हुँदा होटल भने राताम्मे देखिएको थियो । होटल ५ दशमलव १५ अंकले घटेको छ ।
त्यस्तै ३ हजार ८ सय ९० कारोबारबाट ११ लाख १ हजार २ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ४० करोड ७३ लाख ५२ हजार २ सय ४७ रुपैयाँको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।