२०८३ साउन ९ शनिबार

कोरोनाको हटस्पट क्षेत्र उदयपुरको भुल्केमा कोरोना अस्पताल बनाउन जनप्रतिनिधिहरुको माग

ई आर्थिक    बुधबार, बैशाख १० २०७७
20.8K
Shares
कोरोनाको हटस्पट क्षेत्र उदयपुरको भुल्केमा कोरोना अस्पताल बनाउन जनप्रतिनिधिहरुको माग

ई–आर्थिक, काठमाडौं । कोरोना भाइरसको हटस्पट बनेको उदयपुरको भुल्केमा कोरोनाको उपचार हुन सक्ने सुबिधा सम्पन्न अस्पताल निर्माण गर्न स्थानीय जनप्रतिनिधिहरुले माग गरेका छन् । देशभर संक्रमितको संख्या ४२ पुग्दा उदयपुरको त्रियुगा नगरपालिका ३ स्थित भुल्केमा मात्र २४ संक्रमित भेटिएपछि जनप्रतिनिधिहरुले यस्तो माग गरेका हुन् ।

प्रदेश सभाका सांसद बिमल कार्कीले कोरोना समुदायमा संक्रमण भएको देखिएकाले संभाबित महामारी रोक्न कोरोना अस्पताल आवश्यक रहेको बताए । उनको अगुवाईमा प्रदेश सरकारसँग तत्काल अस्पताल र आवश्यक स्वास्थ्य उपकरण थप गर्न पनि माग गरिएको छ ।

‘मुख्यमन्त्री र सामाजिक बिकास मन्त्रीले थप संक्रमित बढेमा तपाईको मागअनुसार अघि बढ्छौं भन्नुभएको छ ।’ सांसद कार्कीले भने ‘स्वास्थ्य मन्त्रालयसँग पनि आवश्यक सहयोगको लागि माग गरेको छु ।’ सांसद कार्कीका अनुसार यो संख्या अझ बढ्न सक्ने देखिएको छ ।

संक्रमित क्षेत्रका स्थानीय महिलाको तरकारी व्यवसाय भएकाले घरघरमा कोरोना पुगेको हुन सक्ने उनको आशंका छ ।

भुल्के र आसपासका क्षेत्रमा कोरोनाले महामारीको रुप लियो भने परीक्षण र उपचारका लागि बाहिर जाने कुरा संभब र ब्यबहारिक नहुने भएकाले त्यही कोरोना विशेष अस्पताल आवश्यक रहेको संघीय संसदका सदस्य डा. नारायण खड्काको भनाई छ । उनले पनि यस सम्बन्धमा आवश्यक पहल थालिसकेको जानकारी दिए । अस्पताल निर्माण गरिए उदयपुर आसपासका जिल्ला समेतलाई सुविधा दिन सकिने डा. खड्काले बताए ।

भुल्केबाटै कोरोना तेस्रो चरणमा प्रबेश गरेपछि मंगलबारदेखि प्रदेश सरकारले उदयपुर जिल्लालाई सिल गरेको छ । सदरमुकाम क्षेत्र भएकाले बाक्लो बस्ती रहेको त्यहाँ माहामारीको त्रास फैलिएको छ ।

भुल्केमा भेटिएका संक्रमित २४ मध्ये ११ जना भारतीय, दुई जना विराटनगरका जमाती हुन् भने मंगलबार संक्रमण देखिएका ११ जना सबै भुल्केकै स्थानीय हुन् । भुल्केको नुरी मस्जिदमा बसेका १२ जना ‘११ भारतीय र एक नेपाली’ जमातीमा वैशाख ५ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो । त्यसको भोलिपल्ट त्यही समूहका एक नेपाली जमातीमा कोरोना संक्रमण पुष्टि भयो । लगत्तै त्यो क्षेत्रलाई सिल गरेर उनीहरुको सम्पर्कमा आएका २६० जनाको नमुना संकलन गरिएको थियो ।

काठमाडौंबाट गएको नेपाली सेनाको टोलीले संकलन गरेको थ्रोट स्वाब काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा तीन जनाको रिपोर्ट पोजेटिभ आएको छ । २० जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

धेरै संख्यामा कोरोना संक्रमित भेटिएसँगै उदयपुर जिल्लालाई सिल गरेर सबै नाका बन्द गरिएको छ । त्रियुगा नगरपालिकाले संक्रमण देखिएको क्षेत्रबाट उत्पादित वस्तुहरुलाई बाहिर लैजान नदिने निर्णय गरेको छ ।

नेपाली सेनाको १८ नम्बर बाहिनी नजिकै रहेको त्यो क्षेत्रमा नुरी मस्जिद वरीपरी करिब ६० घर परिवार मुस्लिम बस्छन् भने नजिकै चौधरी र ब्राम्हण क्षेत्री परिवारको पनि बाक्लो बसोबास छ । सो क्षेत्रमा अन्य समूदायको समेत ३५० भन्दा बढी घरहरु रहका छन् ।

यी सबै समुदाय एक आपसमा मिलेर बस्ने गरेको र टोल छिमेकमा काम विशेषको शिलशिलामा मुस्लिम समूदायको समेत संलग्नता हुने भएकाले पनि अन्य समूदायमा समेत यो रोग फैलिएको हुनसक्ने आशंका स्थानीय अगुवा तथा मालपोत कार्यालय कटारीका प्रमुख नेत्रराज भण्डारीले जानकारी दिए ।

प्रभावित क्षेत्रमै अस्पताल निर्माण गरिए समयमै र प्रभावकारी ढंगबाट सुविधा लिन सकिने स्थानीयवासीको आशा छ ।

जिल्ला सिल गरिए पनि स्थानीयमा जनचेतनाको अभाबले हिडडुल चलिरहेको स्थानीय स्वास्थ्यकर्मीहरु बताउँछन् । भुल्के, खैजनपुर, सनुवा, मिलनचोक र मोतिगढाका स्थानीय अहिले पनि वरपर उस्तै गरेर हिडेकाले त्रास फैलिएको उनीहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij