ई–आर्थिक, काठमाडौं । नेपालमा कोरोनाभाइरस संक्रमित बढ्दै गएको छ । बेल्जियमबाट कतार एअरवेजको उडान ६५२ बाट १७ मार्च अर्थात् चैत ४ गते नेपाल आएकी उनी १९ वर्षीय महिला भएको जानकारी स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् । यी महिलासँगै नेपालमा संक्रमितको संख्या पाँच पुगेको छ ।
फेसबुक लाइभ मार्फत दिइएको जानकारी अनुसार उनी काठमाण्डू बाहिरकी रहेकी र चिकित्सकको सम्पर्कमा आएर उपचाररत रहेकी पनि उनले बताए ।
नेपालमा पहिलो सङ्क्रमित व्यक्ति कोरोनाभाइरसको सङक्रमण सुरु भएको स्थान भनिँदै आएको वुहानबाट हिउँदे बिदामा नेपाल आएका नेपाली विद्यार्थी थिए । उनी उपचार गरेर निको भइसकेका छ्न् ।
दोस्रो सङ्क्रमण फ्रान्समा अध्ययनरत भनिएकी र कतार एअरवेजबाट नेपाल आएकी १९ वर्षीय महिलामा फेला परेको थियो । उनीसँग जहाजमा सँगै यात्रा गरेका करिब ८० जनालाई खोजेर क्वारन्टीनमा जान र एक्लिएर बस्न भनिएको छ । तेस्रो सङ्क्रमित व्यक्ति खाडी मुलुकबाट आएका एक पुरुष रहेको बताइएको थियो ।
चौथो व्यक्ति पनि विदेशबाट आएका व्यक्ति थिए । शनिवार ती चौथो व्यक्तिका उडानको विस्तृत विवरण प्राप्त भएको देवकोटाले बताए ।
‘सङ्क्रमित चौथो व्यक्ति २० मार्चमा भिस्टारा एअरबाट दिल्लीबाट नेपाल आइपुगेका थिए । यूके १५५ फ्लाइट नम्बर हो । दिल्लीमा दुबईबाट इमिरेट्सको उडानबाट आएका हुन् । र उनी धनगढीमा उपचाररत छन् ।’ पाँचौमा बेल्जियमबाट कतार हुँदै आएकी महिला परेकी छन् ।
अहिलेसम्म संक्रमण पुष्टि भएका जति सबै बाहिरबाट आएकाहरू परेको प्रवक्ता देवकोटाले बताए । देवकोटाले दुईजना सङक्रमितलाई टेकु अस्पताल क्वारन्टीनमा राखेर उपचार भइरहेको जानकारी पनि दिए ।