घरायसी विद्युतका ग्राहकलाई २० प्रतिशत छुट दिइने तयारी
ई–आर्थिक, काठमाडौं । सिलिण्डरमा अब आधा मात्र ग्यास पाइने भएको छ । भएको ग्यासको स्टक कम हुदै गएको र माग त्याधिक हुन थालेपछि नेपाल आयल निगमले सिलिन्डर आधा मात्र भरेर बजारमा पठाउन ग्यास उद्योगहरुलाई निर्देशन दिएको हो । प्रचलित ग्यासको सिलिण्डरमा १४.२ के.जी. हुन्छ । तर अव भने सिलिन्डरको तौल ७.१ केजी मात्रै हुनेछ । माग र आपूर्तिलाई सन्तुलनमा ल्याउन यस्तो निर्देशन दिएको निगम स्रोतले जानकारी दिएको छ ।
नेपालमा आधा सिलिण्डर ग्यास भर्ने प्रचलन २०७२ मा भारतले लगाएको अघोषित नाकाकन्दीको समयमा थियो । उक्त समयमा पनि आधा मात्रै सिलिन्डर भरेर बजारमा विक्री वितरण गरिएको थियो ।
सुरुमा ग्यास आपूर्ति भइरहेको थियो । तर उपभोत्ताले धेरै सञ्चय गरेको तर्क गर्दै आएको सरकारले ‘लकडाउन’ सुरु भइसकेपछि भने आधा सिलिण्डर भर्ने नीति लिएको हो ।
सबैलाई ग्यास उपलब्ध गराउन आधा सिलिण्डर मात्र भरेर बेच्न लागिएको सरकारको भनाई छ ।
विद्युत् महसुलमा २० प्रतिशत छुट दिइने
यसैबीच ग्यासको स्टक कम हुदै गएपछि सरकारले ग्यास प्रयोग कम गरी विद्युत खपतलाई बढाउन विद्युत महसुलमा २० प्रतिशतसम्म छुट दिने तयारी गरेको छ ।
विद्युतीय चुल्होमा खाना पकाउन प्रोत्साहन गर्न सरकारले १ सय ५० यूनिटसम्म विद्युत् खपत गर्ने परिवारलाई महसुलमा उक्त छुट दिने भएको हो ।
खाना पकाउने ग्याँस अभाव हुने सम्भावित अवस्थालाई मध्यनगर गर्दै यस्तो व्यवस्था मिलाउन नेपाल विद्युत्प्राधिकरणलाई निर्देशन दिइएको ऊर्जा, जलस्रोत मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्री वर्षमान पुनले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई यस्तो व्यवस्था मिलाउन मौखिक निर्देशन दिएको मन्त्री पुनको निजी सचिवालयद्धारा जारी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
इन्डक्सन चुल्हो प्रयोग गर्ने ग्राहकलाई १ सय ५० युनिटसम्म २० प्रतिशत महसुल छुट दिन मन्त्री पुनको निर्देशन छ ।