ई आर्थिक, काठमाडौं। सरकारले सीमा नाकामा अलपत्र नेपालीहरुलाई आज एक दिनका लागि नेपाल प्रवेश गर्न दिने निर्णय गरेको छ । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको मंगलबार बसेको बैठकले अन्तिम पटकका लागि उनीहरुलाई आउन दिने निर्णय गरेको हो ।
सीमामा अलपत्र परेका उनीहरुलाई १४ दिन क्वारेन्टाइनमा बस्ने शर्तमा नेपाल आउन दिने निर्णय गरिएको हो । बुधबारदेखि भने कसैलाई पनि प्रवेश नदिइन सरकारले बताएको छ। कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण गर्न लकडाउन गरिए सँगै नाका बन्द गरिएको थियो।
भारतबाट ठुलो संख्यामा आएका नेपालीहरु गड्डाचौकी नाकामा रोकिएका छन् । त्यहाँ तनाव समेत भएको थियो ।
नेपाली नागरिकको प्रमाण र स्वास्थ्य परीक्षणपछि उनीहरुलाई नेपाल प्रवेश गराइने सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले जानकारी दिए। यसरी नेपाल प्रवेश गरेका उनीहरुले १४ दिनसम्म अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने पनि सरकारले निर्णय गरेको छ।