२०८३ साउन ९ शनिबार

कोरोनाभाइरस सङ्क्रमण रोकथामको पूर्वतयारी नभएको भन्दै संसद्‌मा सरकारको चर्को आलोचना

ई आर्थिक    बिहिबार, फाल्गुन २९ २०७६
3K
Shares
कोरोनाभाइरस सङ्क्रमण रोकथामको पूर्वतयारी नभएको भन्दै संसद्‌मा सरकारको चर्को आलोचना

ई–आर्थिक, काठमाडौं । नेपालमा कोरोनाभाइरस सङ्क्रमण रोकथामका लागि पर्याप्त पहल नगरेको भन्दै सांसदहरूले सरकारको चर्को आलोचना गरेका छन् । प्रतिनिधिसभाको बिहीवारको बैठकमा बोल्दै सांसदहरूले सरकारको आलोचना गरेका हुन् ।

बैठकको शून्य र विशेष समयमा बोल्दै सांसदहरूले ‘अन्य देशहरूले कोरोनाभाइरससँग जुझ्न अपनाएको जस्तो पूर्व सतर्कता नेपालले अपनाउन नसकेको’ आरोप लगाए । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसकी सचेतक पुष्पा भुसालले ‘सरकार र मन्त्रीहरूकै अभिव्यक्तिले जनतामा थप त्रास बढेको’ बताइन् ।

विशेष समय लिएर बोल्दै उनले भनिन्, ‘सरकारकै मन्त्रीले जनतामा त्रास उत्पन्न हुनेखालको सन्देश प्रवाह गरेको हामीलाई अनुभव भएको छ। कोरोनाभाइरसका नाममा कालोबजारी बढ्ने सङ्केत देखिएको छ ।’

संसद् भवनमै असुरक्षित

उनले वाणिज्य मन्त्रीले कुनै कुराको अभाव हुने भएमा आफूलाई भन्नु भनेको भए पनि ‘कुन जनताको मन्त्रीसम्म पहुँच हुन्छ ?’ भन्ने प्रश्न गरिन् । सांसद् रेणुकुमारी यादवले संसद् भवनमा सांसदहरूनै सुरक्षित नभएको गुनासो गरिन् ।

शून्य समयमा उनले भनिन्, ‘हामी यो सदनमा सुरक्षित छौँ कि छैनौँ’ यो सदनमा जुन फोहर छ यस्को अर्थ छ कि छैन ? साबुन पानीले हात धुनु भनेको छ यहाँ कहाँ हात धुने ? विश्वभर सबैतिर तयारी गरिरहेका बेला हाम्रो सरकार विज्ञापन र भाषणमा मात्र निहित छ ।’

सत्ताधारी दलकै सांसद खगराज अधिकारीले कोरोनाभाइरसको कारण देखाउँदै कृत्रिम अभाव सिर्जना गरिएको बताए । उनले भने, ‘यस्ता कालोबजारीहरूलाई र आपूर्तिमा बाधा गर्नेलाई कानुनले रोक्दैन सरकारले तुरुन्त कदम चालोस्। स्वास्थ्यकर्मीलाई आवश्यक तालिम र सुरक्षित कपडाको व्यवस्थापन गरियोस् ।’

सीमामा गम्भीरता अपनाउन माग

सांसद् महेन्द्र यादवले कोरोनाभाइरसबारे सूचना दिन सरकारले एकद्वार प्रणाली लागू गर्नुपर्ने बताए । उनले प्रदेश र स्थानीय तहबीच समन्वय अभावले कोरोनाभाइरसबाट सुरक्षित रहने कुरामा कामहरू हुन नसकेको भन्दै सरकारको आलोचना गरे ।

उनले सीमा क्षेत्रमा सरकारले अहिलेसम्म गम्भीरता नदेखाएको भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरे । सांसद प्रदीप यादवले सरकारले कोरोनाभाइरस सङ्क्रमणको पूर्वतयारीका लागि विशेष योजना ल्याउनुपर्ने बताए । सांसद डिला सङ्ग्रौलाले खाद्यान्नलगायतका सामान अभाव हुन नदिन सरकारले तत्कालै कदम चाल्नुपर्ने बताइन् ।

सांसद् रंगमती शाहीले तिब्बतको ताक्लाकोटमा रहेका नेपालीहरूलाई नेपाल ल्याउन माग गरिन् । उनले हुम्लामा चीनतर्फबाट ुनाकाबन्दीजस्तो अवस्थामा पुगेकोु भन्दै त्यसतर्फ ध्यान दिन सरकारलाई आग्रह गरिन् ।

शून्य समयमा बोल्ने कतिपय सांसदहरूले कोरोनाभाइरस सङ्क्रमणबाट बच्न हाललाई संसद्‌ बैठक नै पनि रोक्नुपर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij