ई आर्थिक, काठमाडौं। तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना चढेको हेलिकप्टर दुघर्टनाको छानबिन प्रतिवेदन सार्वजनिक भएको छ ।
मन्त्रालयले पूर्व सचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा बनाएको समितिले तयार पारेको प्रतिवेदन अनुसार खराब मौसम र पाइलटले उचित समयमा निर्णय लिन नसक्दा हेलिकप्टर दुघर्टना भएको रिपोर्ट दिएको हो।
२०७५ सालको फागुन १५ गते पाथिभरामा एअर डाइनेस्टीको हेलिकप्टर दुघर्टना हुँदा तत्कालीन पर्यटनमन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक ध्रुव भोछिभोया, उपसचिव युवराज दाहाल, हेलिकोप्टरका चालक प्रभाकर केसी र सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेसहित ७ जनाको निधन भएको थियो। दुर्घटनाको क्षेत्रमा त्यो दिन तीव्र हावा र हिमपात हुँदा हेलिकप्टर अनियन्त्रित भएको र त्यो बेला पाइलटले परिस्थिति सम्हाल्न नसकेको प्रतिवेदनमा उल्लेख छ ।
पाइलटले पहिले नै होस गुमाएको हुनसक्ने प्रतिवेदनले देखाएको छ । हेलिकप्टरले जमिन छाड्दाबित्तिकै फेरि अवतरणको कोसिस गरे पनि ३५ सेकेन्डभित्रै अनियन्त्रित भएर दुघर्टना भएको समितिको ठहर छ । पाइलटले एयरक्राफ्टको सीमितता, मौसमको प्रतिकूलता र इन्धन आदिको अवस्थाबारे कुनै मूल्यांकन नगरेको रिपोर्टमा उल्लेख छ। यतिसम्म कि यात्रुहरुले मौसमअनुसार लगाउनुपर्ने न्यानो लुगासमेत नलगाएको देखिएको रिपोर्टमा उल्लेख छ।
यस्तै हेलिकप्टरको अगाडिको सिट र पछाडिको सिटमा बस्ने यात्रुको तौलका कारण पनि हेलिकप्टर सन्तुलनमा नरहेको प्रतिवेदनले देखाएको छ । खासगरी पाइलटसँगै २ जना मात्रै बस्नुपर्ने भए पनि ३ जना यात्रु बस्दा हेलिकप्टरको अगाडिको भाग धेरै झुकेको हुन सक्ने पनि देखिएको छ ।