२०८३ साउन १० आइतबार

पूर्बमाओबादी एकताले झस्केका ओली पूर्बएमालेलाई एकीकृत गर्ने रणनीतिमा

ई आर्थिक    मंगलबार, फाल्गुन ६ २०७६
9K
Shares
पूर्बमाओबादी एकताले झस्केका ओली पूर्बएमालेलाई एकीकृत गर्ने रणनीतिमा

ई–आर्थिक,काठमाडौं । नेकपाका बरिष्ठ नेता माधब नेपाल शुक्रबार बिहान बिश्व समाजबादी पार्टीहरुको संगठन जनकाँगे्रसको अन्तर्राष्ट्रिय समन्वय समितिको बैठकमा सहभागी भएर एयरपार्टमा उत्रिएका थिए । उनलाई रिसिभ गर्न पार्टीका केही नेता र सचिबालयको टिम एयरपोर्ट पुगेको थियो । त्यसक्रममा उनलाई पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सोधखोज गरेको खबर दिइयो । नेपाल स्वदेश फर्केको जानकारी प्रधानमन्त्री ओलीको सचिबालयले पनि पायो ।

प्रधानमन्त्री ओलीले नेपालसँग भेटेर केही सल्लाह गर्न चाहेको सन्देस पठाए । त्यसपछि दुबै नेताले भेटघाटको मिति तय गरे । यस अनुसार सोमबार ओली र नेपालले लामै समय छलफल गरे । ओली र नेपाल निकट स्रोतहरुका अनुसार भेटघाटको मूल उद्देश्य एक–आपसमा बढेको अबिश्वास, तिक्तता र दुरीलाई कम गर्दै सहमति र एकताको साथ अघि बढौं भन्ने थियो । यसरी मिलेर अघि बढ्नको लागि ओलीले नै तत्परता देखाएर नेपाललाई बोलाएका थिए । यसले नेकपाभित्र खासगरी पूर्बमाओबादीहरुमा भने झड्का उत्पन्न भएको बताइन्छ ।

बिगतमा ओली र नेपालको दुरी निकै बढेको थियो । यो ओलीकै कारणले थियो । आफू निकटलाई पार्टी र राजकीय अबसर प्रदान गर्न उनी माधब नेपालसँग जानीबुझी दुरी बढाउन चाहन्थे । यसो हुदा नेपाल निकटलाई कुनै अबसर दिनु नपर्ने उनको बुझाई थियो । त्यही अनुसार उनी अघि बढे । पार्टीमा जिम्मेवारी दिने सवालमा र मन्त्री बनाउने तथा राजनीतिक नियुक्ति गर्ने कुरामा ओली एकलौटीढंगले अघि बढे । नेपाल निकट नेता तथा कार्यकर्ताहरुलाई हरेक तहमा जिम्मेवारबिहीन बनाउँदै लगियो । यसले नेपाल चिढिन पुगे र ओलीको यस्तो रबैयाको सार्बजनिकरुपमै चर्को आलोचना गर्न थाले । यसलाई पनि ओलीले सदुपयोग गर्न खोजे र झनै टाढा हुदै नेपाल र उनको समूहलाई सकेसम्म पेल्ने रणनीति बनाए । कतिसम्म भने ओलीकै योजनामा नेपाललाई तेस्रो बरियताबाट चौथोमा झारियो । माधब नेपालसँग निकटता नगर्ने सर्तमा झलनाथलाई बढुवा गरेर तस्रो बरियतामा पु¥याइयो भने बामदेब गौतमलाई बिधानबिपरित उपाध्यक्षमा प्रस्ताब गरियो । यसरी नेपालको हुर्मत लिएका ओलीले यतिमै चित्त बुझाएनन् । नेपाल निकटका कसैलाई पार्टीमा होस वा जनबर्गीय संगठनमा कुनै पनि कमिटिमा जिम्मेवारी नदिन आन्तरिक सर्कुलर नै जारी गरे ।

प्रदेश नम्बर २ मा भएको चरम बिबादको कारण नेपालनिकटलाई जिम्मेवारीबिहीन बनाउन खोज्नुकै परिणाम थियो । ओलीको नेपालमाथिको डण्डा यतिमा पनि रोकिएन । लोकप्रिय मन्त्रीहरु लालबाबु पण्डित र गोकर्ण बिष्टलाई बर्खास्त गरेर नेपाल निकटको हालत यस्तै हुन्छ भन्ने चोटिलो सन्देश पनि प्रबाह गरे । राजनीतिक दाउपेचमा निकै माहिर ओलीलाई परिस्थिति पनि अनुकुल भए झै लाग्यो । पार्टी एकता गरेर माओबादीलाई एमालेभित्र समाहित गरेका ओलीले माधब नेपाललाई साइजमा ल्याउन गरिएका यि सबै कृत्य प्रचण्ड कार्ड प्रयोग गरेर भएका थिए । हरेक निर्णय नीतिगत निर्णय सचिबालयले गर्ने र त्यो पनि दुई अध्यक्षले टुँगो लगाउने बिधि उनले पास गराएका थिए । यसैमा टेकेर पूर्बएमाले समूहमा ओलीले र पूर्बमाओबादी समूहमा प्रचण्डले निर्णय गर्दथे । पूर्बएमाले समूहमा ओलीले आफ्नो गुटबाहिर कुनै अबसर बितरण गर्दैनथे । यसो हुदा नेपालको समूह सीमान्तकृत नेकपामा परिणत भएको थियो र छ ।

एकल अध्यक्ष बनेर बिशाल कम्युनिष्ट पार्टीको नेत्तृत्व गर्ने सपना बोकेका प्रचण्डलाई ओलीको यो कार्यशैली र ब्यबहार ‘के खोज्छस् काने आँखो’ झै भयो । ओलीको यो ब्यबहार र कार्यशैलीले पूर्बएमाले समूहमा प्रष्टसँग बिभाजनको रेखा कोर्दथ्यो । जति यो रेखा बढ्दै जान्थ्यो र उनीहरुबिच तिक्तता तथा अबिश्वास झाँगिन्थ्यो, त्यति आफूलाई लाभ हुने प्रचण्डको बुझाई थियो । यो एकहदसम्म ठीक पनि थियो । ओलीको पेलाईले छेउ लागेका पूर्बएमालेहरु ओलीलाई भन्दा प्रचण्डलाई नेता मान्न थालिसकेका थिए र छन् । पूर्बएमाले समूहको यो बिभाजनलाई अझ फराकिलो र बलियो बनाउने प्रचण्ड माधब नेपाललाई भेट्दै कुरा लगाउने र उकास्ने गर्न थाले । नेपालका कुरा राजनीतिक, बिधि, प्रक्रिया र बिधानसंगत भएको भन्दै यसमा आफ्नो साथ रहने बताउथे, प्रचण्ड । तर जब सचिबालयको बैठक हुन्थ्यो, निर्णयमा पूर्बएमालेको कुरामा आफू प्रबेश नगर्ने भन्दै पन्छिन्थे । उनी ओली र नेपालको टाउको जुझाइरहने रणनीतिमा थिए ।

उता प्रचण्ड कार्ड खेलेर नेपाल निकटलाई पेलेर भित्तामा पु¥याउन सफल ओलीमा शक्तिको उन्माद सीमाहीन हुदै थियो । उनले पार्टीभित्र अब मैले चाहेको हुन्छ भन्ने दम्भ पालिसकेका थिए । यही बेला सभामुख प्रकरण आयो । कृष्णबहादुर महरा जेल पुगे र सभामुख पद रिक्त भयो । अब सभामुख चयन गर्नु पर्ने भयो । सभामुख चयनको बिषयमा भने दुई अध्यक्षबिच भाले भिडन्त भयो ।

बिगतमा राजकीय पद बाँडफाँड गर्दा सभामुख आफ्नो भागमा परेकाले प्रचण्ड पूर्बमाओबादी नेतालाई सभामुख बनाउन चाहन्थे । तर ओली भने कुनै पनि हालतमा आफ्नो गुटबाट सभामुख बनाउन चाहन्थे । प्रचण्डको अडान ठीकै थियो । तर ओली भने संसदभित्र पनि आफ्नो छाँया पारेर स्वच्छन्दतापूर्बक शासन गर्न चाहन्थे । यसका लागि संसद बाधक नबनोस भनेर उनी पूर्बएमाले त्यसमा पनि आफ्नै गुटको नेतालाई सभामुख बनाउन चाहन्थे ।

दुई अध्यक्षबिच सभामुख चयनको बिषय प्रतिष्ठाको नै संघर्ष बन्यो । यसमा ओली नराम्रोसँग बल्ड्याङ खान पुगे भने प्रचण्डले पार्टीभित्र असाधारण शक्ति आर्जन गरे । भयो के भने प्रचण्डले ओली र नेपालबिचको तिक्ततालाई बिजगणीय सुत्रमा उपयोग गरे । उनले पूर्बएमालेका नेपालको बलियो समर्थन लिन सफल भए । त्यसपछि बामदेब गौतम र झलनाख खनालको समेत समर्थन लिए । पूर्बएमालेका तीन नेताको समर्थन पाएपछि माओबादीका उनीसहित तीनै नेता एक ठाउँमा ल्याए । ओलीलाई तिमी मेरो आधा कद हौ भन्ने सन्देश दिन भैसैपार्टी भेलाको आयोजना गरे र सचिबालयका पाँच नेताको उपस्थिति गराए । जब कि सचिबालयमा नौ सदस्य छन् । त्यतिबेला सचिबालय सदस्य पूर्बमाओबादी नेता बादल बिदेशमा थिए । उनी स्वदेश फर्केपछि सभामुख चयनको बिषयमा प्रचण्डलाई नै साथ दिए । मन्त्री परिषदको सदस्य भएकाले बादलले आफूलाई साथ दिन्छन भन्ने उनको अनुमान पल्टा खायो । सचिबालयमा ओलीको तीन र प्रचण्डको ६ मत भयो । यसरी प्रचण्डको अर्धकद बनेका ओली निगुरमुन्टी न बनेर पछि फर्किएर प्रचण्डका अत्यन्त बिस्वास पात्र अग्नी सापकोटा सभामुख बने ।

पार्टीभित्र ओली र प्रचण्डको शक्ति संघर्ष यतिमै सीमित भएन । लगत्तै केन्द्रीय कमिटिको बैठक थियो । उक्त बैठक पनि ओलीलाई ऐना देखाउने अबसरका रुपमा प्रचण्डले उपयोग गरे । यसका लागि भैसेपार्टी धु्रबिकरणलाई यथावत राखेर प्रचण्डले सिंगो केन्द्रीय कमिटिमा ओलीलाई ३२ प्रतिशतमा सीमित गरिदिए । यहाँ रोचक के भयो भने ओली र ओली कोटरी माओबादीभित्र आफूहरुले खेलेर ठूलो दरार पैदा गरेर बिभाजन ल्याएको बताउँथे । बादललगायतका ठूलो समूहले ओलीलाई साथ दिएको डंका पिट्थे । तर पूर्बमाओबादीलाई प्रचण्डले एकढिक्का राख्न सफल देखिए ।

माओबादीको ४२ प्रतिशत शक्ति एकढिक्का देखियो, जुन प्रचण्डको इशारामा चल्यो । यसले ओली र ओली कोटरीमा नराम्रो झट्का लाग्न पुग्यो । त्यसैले केन्द्रीय कमिटिको बैठक लगत्तै मदन भण्डारी फाउण्डेशनको कार्यालयमा ओली गुटको कोर समूहको बैठक बस्यो । बैठकले सभामुख चयनदेखि लिएर केन्द्रीय कमिटिसमेतको समीक्षा गरेर आफहरु रक्षात्मक बनेका निस्कर्ष निकाल्यो । यसको समाधानको लागि पूर्बएमालेलाई नै एकीकृत गर्ने रणनीति पास ग¥यो । यही रणनीति कार्यान्वयनका लागि ओलीसमक्ष पेश ग¥यो । यही बमोजिम सोमबार ओली र नेपालको भेट भएको स्रोतले बतायो । यसमा मिस अण्डरस्ट्याण्ड हटाउने, कुनै बिषयमा निर्णय गर्दा आपसी समझदारी कायम गर्ने, पार्टीभित्रको बिबाद आपसी सहमतिमा टुँगो लगाउने, एमसीसीमा पनि सहमति गर्नेलगायतका बिषयमा लामो र गम्भीर छलफल भएको बताइन्छ । यो सुरुवाती चरण भएकाले आगामी दिनमा भेटघाट अझ सघन बनाउने पनि सहमति भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij