ई–आर्थिक, काठमाडौं । नेपालको सबैभन्दा ठूलो पुरस्कार राशिको फोटो प्रतियोगिता घोषणा गरिएको छ । फोटो जर्नलिस्ट क्लब, नेपालले विगत ७ वर्षदेखि वर्षेनी आयोजना गर्दै आएको फोटो प्रतियोगिताको ७ औं संस्करण नेपाल फोटो प्रतियोगिता २०७६ को घोषणा गरेको हो ।
क्लबले पुस २० गते आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी कार्यक्रमको घोषणा गरेको छ।
ग्लोबल आइएमई बैंक नेपाल तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल फोटो प्रतियोगिता २०७६ सुुरु भएको घोषणा गरेका थिए । उनले आफूले खिचेको फोटोलाई फोटो प्रतियोगितामा समावेशका लागि अनलाइन इन्ट्री गरी प्रतियोगिताको शुरुवात गरेका थिए ।
विभिन्न सात विधामा प्रतिस्पर्धा गराइने प्रतियोगितामा भाग लिन चाहने प्रतियोगीले आईतबारबाटै फोटो दर्ता गराउन सक्नेछन् ।
क्लबको आधिकारिक वेबसाइट www.pjclub.com.np वा www.npc.photonepal.trevel मा गएर दिइएको निर्देशन अनुसार फोटो दर्ता गर्न सकिने क्लबले जनाएको छ । प्रतियोगितामा व्यावसायिक र सौखिन सबैखाले फोटोग्राफर तथा फोटो पत्रकार सहभागी हुन पाउनेछन् ।
प्रतियोगितामा विदेशी नागरिक तथा विदेशमा खिचिएको फोटोले भने सहभागिता जनाउन पाउने छैनन् । तर, खेलकुद विधाको हकमा भने नेपाल बाहिर खिचिएको तस्बिर भने समावेश गराउन पाइने छ । उक्त फोटोमा नेपाली वा नेपाल झल्कने विषय भने कतै न कतै देखिएको हुनु पर्ने छ । आईतबारबाटै सुरु हुने दर्ता प्रक्रिया माघ १७ २०७६ मध्यरातमा १२ बजे बन्द हुनेछ ।
नेपालको सबैभन्दा ठूलो पुरस्कार रहेको फोटो प्रतियोगिताको बिशेषताहरु
– प्रतियोगितापछि काठमाडौं र मोफसलका ५ स्थानमा प्रदर्शनी हुने
– फोटो अफ दि इयरलाई १ लाख रुपैयाँ पुरस्कार दिइने
– सात विधामा भाग लिन पाइने
– व्यवसायिक र सौखिन फोटोग्राफर तथा फोटोपत्रकारले भाग लिन पाउने
– फोटो दर्ता पुस २० देखि माघ १७ २०७६ राति ११ बजेर ५९ मिनेटसम्म गर्न सकिने