ई–आर्थिक, काठमाडौँ । विभिन्न बैंक तथा वित्तिय संस्थाहरूबाट ह्याकिङ्ग गरी एक करोड रुपैयाँ लैजाने दिपक नेपाललाई प्रहरीले पक्राउ गरेको छ । नेपाल लामो समयदेखि नेपाल तथा भारतमा बसेर ह्याकिङ प्रकरणमा संलग्न थिए । मोरङ्को रङ्गेली नगरपालिका–२ स्थायी घर भई विभिन्न स्थानमा घर भई उनी लुकिछिपी आफ्नो धन्दामा संलग्न थिए ।
कृषि विकास बैंकको प्रयोग गरी ह्याकिङ्ग गरेको एक करोड रुपैयाँसहित लामो समयदेखि फरार रहेका दिपक नेपाल पुस १८ गते शुक्रबार पक्राउ परेका हुन् ।
लामो समयदेखि बैंक ह्याकिङ्गमा संलग्न ४३ वर्षीय नेपाल पक्राउ परेको महानगरीय अपराध शाखा, काठमाडौँले पुष्टि गरेको छ ।
शुक्रबार नै पक्राउ परेका नेपाललाई हाल काठमाडौँ जिल्ला अदालत पठाइएको र थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार, उनी लामो समयदेखि नाईजेरियन तथा भारतीय नागरिकहरुसँग मिलेर नेपालका बैंक तथा वित्तिय संस्थाहरू ह्याकिङ्गमा संलग्न हुँदै आएका थिए ।