२०८३ साउन ९ शनिबार

गैरआवासीय नेपाली संघको निर्वाचन आज, ८१ देशबाट करिब २५ सय प्रतिनिधि काठमाडौंमा

ई आर्थिक    बुधबार, असोज २९ २०७६
4.5K
Shares
गैरआवासीय नेपाली  संघको निर्वाचन आज, ८१ देशबाट करिब २५ सय प्रतिनिधि काठमाडौंमा

ई–आर्थिक, काठमाडौं । गैरआवसिय नेपाली संघ (एनआरएनए) को निर्वाचन आज हुने भएको छ । संघको नबौं सम्मेलनले नयाँ नेतृत्व सहितको कार्यसमिति चयन गर्नेछ ।

सम्मेलनमा भाग लिन विभिन्न ८१ देशबाट करिब २५ सयको हाराहारीमा प्रतिनिधि काठमाडौं आएका छन् । उनीहरूले आगामी नयाँ नेतृत्वसँग केही ठोस आशा र अपेक्षा राखेका छन् । मुख्यगरी गैरआवासीय नेपाली नागरिकता, सुरक्षित रोजगारी र कामदारको जीवनरक्षा छन् । ‘म, मेरो एनआरएनए र मेरो नेपाल’ भन्ने मूल नारासहित सुरु भएको यस सम्मेलन आगामी नयाँ नेतृत्व चयन गर्दै आगामी बिहीबार सम्पन्न हुनेछ ।

नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ तथा गैरआवासीय नेपाली संघको संयुक्त आयोजनामा सुरु भएको यस सम्मेलनको उद्घाटन राष्ट्रपती विद्यादेवी भण्डारीले गरेकी छन् भने समापन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय भएको छ । संघको आगामी नयाँ नेतृत्वमा लोकतान्त्रिकको तर्फबाट कुल आचार्यको समूह र नेकपाको तर्फबाट कुमार पन्तको समूह चुनावी प्रतिस्पर्धामा छन् ।

सो निर्वाचनबाट अध्यक्ष, उपाध्यक्ष, महासचिव, अन्य पदाधिकारीलगायत पदका लागि कुल ४२ जना निर्वाचित हुनेछन् । यस संघको आगामी नयाँ नेतृत्व चयनका लागि हुने मतदानको कार्यतालिका बुधबार निर्धारण गरिएको छ । संघको अध्यक्षमा एक जना, उपाध्यक्षमा पाँच जना (एक महिलासहित), महासचिवमा एक जना, सचिवमा दुई जना, कोषाध्यक्ष, सह कोषाध्यक्ष, महिला संयोजक र युवा संयोजकमा एक/एक जना निर्वाचित हुनेछन् ।

यसैगरी, हरेक क्षेत्रीय समितिबाट एक/एक जना गरी ६ जना क्षेत्रीय संयोजक यस सम्मेलनबाट निर्वाचित हुनेछन् । त्यसैगरी, क्षेत्रीय उपसंयोजकअन्तर्गत यसपटक युरोप क्षेत्रबाट तीन जना निर्वाचित हुनेछन् ।

विधानबमोजिम युरोपमा तीन जना क्षेत्रीय उपसंयोजक हुने निर्वाचन समितिले जनाएको छ । त्यस्तै, एसिया प्रशान्त, अफ्रिका र मध्यपूर्वबाट दुई/दुई जना क्षेत्रीय उपसंयोजक छानिनेछन् भने उत्तर दक्षिण अमेरिका र ओसेनियाबाट एक/एक जना क्षेत्रीय उपसंयोजकमा निर्वाचित हुन पाउनेछन् ।

प्रत्येक क्षेत्रबाट एक/एक जनाका दरले ६/६ जना क्षेत्रीय महिला संयोजक र क्षेत्रीय युवा संयोजक चयन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij